+
+
Shares

बालीमा भेटिएको फरक हिन्दू रीति र संस्कृति

बालीमा दुइटा विवाह गर्न पुग्ने खर्चले पनि एउटा अन्तिम संस्कार गर्न धौ–धौ हुनेरहेछ। कतिपय परिवारको जिन्दगीमा विवाह र अन्तिम संस्कारले ऋणमा चुर्लुम्म डुबाउने रहेछ।

अमृता लम्साल अमृता लम्साल
२०८२ कात्तिक १८ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डोनेशियाको बालीमा हिन्दू धर्मका अनुयायीहरूले दिव्य आत्मा र सर्वोच्च अस्तित्वलाई 'साङ ह्याङ टुन्ग्गल' भनेर पूजा गर्छन्।
  • बालीको नयाँ वर्ष 'न्यापि' मा २४ घन्टा सबै काम रोक्नुपर्ने र मौन दिवस मनाइन्छ, जसमा एयरपोर्ट समेत बन्द हुन्छ।
  • बालीमा हिन्दू संस्कार अनुसार अन्तिम संस्कार महँगो हुने र शव जलाउने प्रक्रिया नौ दिनसम्म चल्ने प्रचलन छ।

गएको दशैंमा अचानक इन्डोनेशियाको चर्चित आइल्याण्ड बाली पुग्ने रहर जाग्यो। हुनत सन् २०२० मा पनि एकपटक बाली जाने तयारीका साथ टिकट किनेर होटल समेत बुक गरिसकिएको थियो; तर, नेपालमा पनि अलिअलि गरेर हल्लिंदै आइपुगेको कोभिडले मार्च महिनासम्ममा ठूलै आँधी ल्याउला जस्तो भान भएपछि, पैसा गुमाएरै त्यो ट्रिप क्यान्सिल गरिएको थियो।

बालीको विशेषता, त्यहाँका मन्दिरहरू, बहुसंख्यक हिन्दू धर्मका अनुयायीहरू छन् भन्ने कुरा अलिअलि थाहा थियो। तर, त्यहाँ पुगेपछि थाहा भयो, उनीहरूको त दिनचर्या नै पूजाबाट शुरु भएर प्रार्थनामै टुङ्गिंदो रहेछ।

त्यहाँ, नेपाल र भारतको जस्ता मूर्तिपूजा त गरिंदोरहेनछ; त्यसको साटो, उनीहरू दिव्य आत्मा र सर्वोच्च अस्तित्वलाई मानेर, कंक्रिट या काठको खाली गद्दी वा सिंहासन (त्यस्तै देखिने) आकृति जसलाई ‘पद्मासन’ भनिन्छ, त्यसमा भगवानको नाममा बिहान सबेरै भात, फलफूल, पेयपदार्थ, पानी, पातले बनाएको (अधिकांश ठाउँमा, कतै कागजका प्लेटहरूमा) स-साना यताको लपेस भन्न मिल्ने जस्ता वस्तुमा राखेर चढाउने रहेछन्।

आफूहरूले कुनै मन्दिरमा भाकलका साथ पूजा गराएको छ भने, पूजा र प्रार्थना सिद्धिएपछि, प्रिस्टले हातमा चामलका गेडा दिने रहेछन् र त्यो आ-आफैंले निधारमा टाँस्ने रहेछन्। त्यो टीका लगाउने चामलका गेडाहरूपछि, हामीकहाँ गंगाजल दिए जस्तै सेचन गर्दै खाने रहेछन्।

स्थानीयका अनुसाार, उनीहरू हामीले मान्ने जस्तै ‘त्रिदेव’, ब्रम्हा, विष्णु र शिवलाई ‘ट्रिनिटी गड’ भनेर पनि मान्दछन्; तर, उनीहरू आफूले मान्ने भगवानको सर्वोच्च अस्तित्वलाई ‘इदा साङ्घ्याङ विधि वासा’ वा ‘साङ ह्याङ टुन्ग्गल’ भनेर सम्बोधन गर्छन्।

उनीहरूको विश्वास अनुसार, ती नदेखिने भगवानहरू उनीहरूले मनाउने चाड/पर्वहरूमा उनीहरूले चढाएको प्रसाद ग्रहण गर्न आउँछन् भन्ने विश्वास रहेछ।

तीबाहेक, बालीमा रामायण, महाभारतहरूको धार्मिक कथाहरूबाट लिइएका शिव र ब्रह्माको चर्चा धेरै गर्ने रहेछन्। यसलाई गीति नाट्यमा रूपान्तरण गरेर पर्यटकलाई मनोरञ्जन दिंदै पैसा कमाउने बाटो पनि बनाएका रहेछन्।

त्यहाँको धार्मिक आस्थाको महत्वपूर्ण पाटो हिन्दू दर्शन भए पनि, प्रकृति, अदृश्य शक्ति र अदृश्य आत्मासँग जोडिएको रहेछ।

बालीका बासिन्दालाई बालीनिज भनिने रहेछ। बालीनिजहरूको प्रकृतिप्रतिको सम्मान र आदर कतिसम्म प्रगाढ रहेछ भने, त्यहाँको नयाँ वर्ष, जसलाई ‘न्यापि’ (यसको मतलब, मौन दिवस हुनेरहेछ) भनिन्छ उक्त दिन, बाली पूर्णरूपले बन्द हुनेरहेछ।

मतलब, २४ घन्टाको लागि (अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म रोक लगाइएको काम केही पनि गर्न नपाइने रहेछ। त्यतिबेला पसल, होटल, रेस्टुरेन्ट नखोलिने, राति घरमा पनि जम्मा एउटा मधुरो बत्ती बाहेक अरू बाल्न नपाइने, सडकमा कुनै पनि सवारी साधन चलाउन नपाइने।

कोही बिरामी भयो भने अस्पताल लैजान गाउँको मुखियासँग अनुमति लिनुपर्ने रहेछ। त्यो दिन बालीको राजधानी मानिने डेनपासारको अन्तर्राष्ट्रिय एयरपोर्ट समेत बन्द हुनेरहेछ। यो दिनमा मनाइने मौन दिवसलाई ‘क्याटुर ब्राटा पेन्येपियान’ भनिने रहेछ। पर्यटनमा चलेको बालीमा उक्त दिन, पर्यटकदेखि स्थानीय बासिन्दासम्मले त्यसरी नै मनाउनुपर्ने रहेछ।

सो नियम पालना गराउन सडकमा ‘पेचालाङ्ग’ (कम्युनिटी पुलिस भने जस्तो) खटिने रहेछन्। ‘न्यापि’ मनाउने कारण, आफूभित्रको आत्मबोध, ध्यान, प्रकृतिको सम्मान र आइल्याण्डबाट नकारात्मक शक्ति हटाएर, नयाँ वर्षको सुरुआत राम्रो होस् भन्ने रहेछ।

स्मरणीय छ, बालीको आफ्नै खालको क्यालेन्डर हुनेरहेछ। हाम्रो साइतको क्यालेन्डर जस्तै उनीहरूको पनि घडी, पला के के हिसाब गरेर क्यालेन्डर बनाइने रहेछ। अझ स्थानीयबाट सुने अनुसार, त्यहाँको महिना पनि अरू क्यालेन्डरको भन्दा बढी दिनको हुन्छ रे !

हिन्दू धर्म/दर्शनको अनुयायी भए तापनि, त्यहाँको देवताको प्रार्थना गर्ने रीति र भारत, नेपालको रीतबात धेरै फरक रहेछ। उनीहरूको देवताको मन्दिर पनि चार प्रकारको हुनेरहेछ; पहिलो, पारिवारिक मन्दिर, जुन, घरको कम्पाउण्डभित्रको एउटा भागमा बनाइएको हुन्छ।

त्यहाँ एकाघरका दाजुभाइले प्रार्थना गर्नेरहेछन्। त्यस्ता मन्दिरमा परिवारभन्दा बाहिरका मानिसहरूलाई प्रवेश दिइँदैन; यदि कोही जान चाह्यो भने उनीहरूको पुजारीले, हाम्रो गंगाजलले चोख्याएको जस्तै गरी चोख्याएर, तोकिएको लुगा लगाएर मात्र जान पाइनेरहेछ।

स्थानीयका अनुसार, पारिवारिक मन्दिरहरूमा दुइटा स-साना पुरुष र महिलाको आकृतिको बिर्को खोल्न मिल्ने मूर्ति राखिनेरहेछ; जसमा, पुर्खादेखिको, परिवारको मूलीहरूको अन्तिम संस्कारपश्चात् सानो अंश खरानी ल्याएर हालिने रहेछ।

त्यसो गर्नुको मतलब, आफ्ना पुर्खाहरू मरेर गए पनि, उनीहरूले रक्षा गरिरहनेछन् भन्ने विश्वास रहेछ। साथै, पारिवारिक मन्दिर भएको घर बेच्ने चलन रहेनछ र किन्नेले पनि हत्तपत्त नकिन्ने रहेछन्। पारिवारिक मन्दिर भएको घरमा परिवारका मूली, आफ्नो जेठा छोरासँग बस्नेरहेछन्।

त्यसैले, बालीमा जेठो छोराहरू घर छाडेर कतै नजाने र यदि कामको खोजीमा बाहिर कतै गए पनि त्यहीं फर्किने रहेछन्। यदि त्यो घरमा, आफूपछि बस्ने सन्तान रहेनछन् भने, प्रायःले घर खाली नै छाड्ने रहेछन्। उनीहरूको विश्वास अनुसार, त्यहाँ घरधनीको आत्मा बस्ने भएकोले, अरू मान्छे आएर बस्न मान्दा रहेनछन्।

दोस्रो, भिलेज टेम्पल हुनेरहेछ; जुन, हरेक गाउँको छुट्टाछुट्टै हुँदोरहेछ। गाउँ शुरु हुने मुखैमा, ‘ट्रिनिटी गड’ अर्थात्, ब्रह्मा, विष्णु र शिवको मन्दिर स्थापित गरेको देख्न पाइन्छ। ब्रह्माको मन्दिरमा रातो छतरी, विष्णुकोमा कालो र शिवकोमा सेतो छतरी ओढाइएको हुनेरहेछ।

कतै कतै सद्भावको लागि पहेंलो छतरी पनि राखिएको देखिन्छ। भिलेज टेम्पल बालीनिज क्यालेन्डर अनुसार औंसी र पूर्णिमाको दिन मात्रै खुल्ने र महिनाको त्यो दुई दिन मात्र त्यहाँ गएर तत्–तत् गाउँका बासिन्दाहरूले पूजा र प्रार्थना गर्ने रहेछन्। त्यहाँ पनि गाउँ भन्दा बाहिरका व्यक्तिहरू जाँदा रहेनछन्।

तेस्रो कोटिमा सार्वजनिक टेम्पल आउँछ; जसमा पर्यटकहरू समेत जान त पाउँछन्; तर, पूजा गर्ने स्थानसम्म जानचाहिं कि त, पूजासामान बोकेर पूजा र प्रार्थना गर्न नै जानुपर्‍यो, होइन भने मन्दिरमा जाने सिंढीभन्दा माथि जान पाइन्न। पूजासामान बोकेर गए पनि, त्यहाँको प्रिस्टले ‘होली वाटर’ छर्किएर चोखो बनाएर मात्रै पठाउने रहेछन्।

चौथो, पेशागत व्यक्ति र समुदायले प्रार्थना गर्ने मन्दिरहरू जस्तो, शिक्षकको, ब्ल्याकस्मिथको, पैसाको भगवान (रामबुत सेडाना), मृत्यु संस्कारपछि चोख्याउन ‘डालेम टेम्पल’ या ‘प्रजापतिको मन्दिर’ यस्तै यस्तै हुनेरहेछ। ‘डालेम टेम्पल’चाहिं मानिसहरू गाड्ने ठाउँको छेउमा या अन्तिम संस्कार गरेर अस्तु(खरानी) बगाउने स्थानको नजिक हुनेरहेछ।

सबैभन्दा चाख लाग्दो कुरा त्यहाँ लक्ष्मीलाई धान र पानीकी देवी मानिंदोरहेछ। हरेकको धान खेतमा, सिमेन्टको लठ्ठा जस्तो ठड्याएर, ‘पद्मासन’मा ‘श्री’ या लक्षमीको निमित्त पूजासामग्री (सिंदूर/अबिर/केसरी होइन) चढाएर, बस्त्रले लपेटेको हुनेरहेछ।

बालीका हिन्दूहरूको अन्तिम संस्कार अति नै महँगो हुनेरहेछ; त्यसैले, हरेक गाउँको एउटा कुनामा मृत शरीर गाड्ने ठाउँ छुट्याएर, पैसा खर्च गर्न नसक्नेहरूको शव गाडेर राखिने रहेछ। हरेक पाँच वर्षमा ती लासहरू जे-जस्तो अवस्थामा छ, निकालेर सामूहिक अन्तिम संस्कार(जलाउने) गरिने रहेछ। तर, धनी या पैसावालको अन्तिम संस्कारमा एकदमै धेरै पैसा खर्च हुनेरहेछ।

मेरो टूर गाइड वायान विडन्यान्या पुत्र मलाई एयरपोर्ट लिन आएनन् र अरूलाई नै पठाए, कारण उनको जेठानको तीन दिन अगाडि स्कुटर दुर्घटनामा मृत्यु भएछ; उनले मलाई खबर पठाए, उनी अझै केही दिन आउन सक्तैनन्। किनकि, उनी आफ्नो जेठानको अन्तिम संस्कारको तयारीमा खट्नुपर्नेछ।

पछि, उनीसँग भेटहुँदा अन्तिम संस्कारको प्रक्रियाबारे जान्ने मन भयो र सोधें। बालीमा मानिस मरेपछि, जलाउनको लागि पूर्वतयारीको प्रक्रिया धेरै नै लामो रहेछ। कसैको घरमा मृत्यु भएको छ भने, पूरै गाउँको कम्तीमा पनि एक घर र एक व्यक्तिलाई अन्तिम संस्कार नसिद्धिउन्जेलसम्म र सिद्धिएको तीन दिनसम्म खानाको व्यवस्था गर्नुपर्नेरहेछ।

जलाउनको लागि लग्ने वाहन (खट?) काठमा कुँदिएका आकृतिहरू कफिनको माथि भागमा राखिने रहेछ। यहाँ जातको कुरा प्रमुख रहेछ। ब्राह्मण पुरुष मरेको हो भने, सेतो साँढेको काठले बनाएको पुतला (जसलाई उनीहरूको भाषामा ‘लेम्बु’ भनिन्छ) र औकात अनुसारको ११ तलासम्मको शव बोक्ने रथ, ब्राह्मण महिलाको लागि त्यसैगरी बनाएको सेतो गाईको लेम्बु; क्षेत्रीयहरूको लागि कालो साँढे पुरुषलाई र त्यस्तै रङको गाई महिलाको लागि; वैश्यहरूको लागि खैरो या कालो साँढे पुरुषलाई र महिलाको निमित्त त्यस्तै रङको गाई, जसलाई फरक फरक रूपबाट सिंगारिने रहेछ।

शूद्रको लागि भने यति धेरै खर्च गर्न आर्थिक स्रोत जुटाउन नसक्दा, मरेपछि गाडेर राख्ने र आफ्नो गाउँको नियम अनुसार पाँच या दश वर्षमा सामूहिक अन्तिम संस्कार गरिने रहेछ।

त्यसरी सजाएर खटमा राखेर जलाउने ठाउँसम्म लग्दा ट्रेडिसनल लुगाहरू लगाएर, साजसज्जाका साथ म्युजिक बजाउँदै, ठूलाठूला ढक्की जस्तोमा चढाउने सामानहरू पनि लगिने रहेछ। यो एकखालको प्रोसेसन (झाँकी) नै हुनेरहेछ।

वायानले भन्दैथिए, बालीमा दुइटा विवाह गर्न पुग्ने खर्चले पनि एउटा अन्तिम संस्कार गर्न धौ–धौ हुनेरहेछ। कतिपय परिवारको जिन्दगीमा विवाह र अन्तिम संस्कारले ऋणमा चुर्लुम्म डुबाउने रहेछ।

वायानका अनुसार, उनको जेठानको मृत्यु संस्कारमा नौ दश दिनसम्म उनको जेठानको परिवारले दिनमा नौ सय, हजार जति मानिसहरूलाई ख्वाउनुपरेको थियो रे ! त्यसरी शवलाई लैजाँदा, जब दोबाटो, चौबाटो आइपुग्छ, त्यहाँ खटलाई कम्तीमा पनि तीन चक्कर घुमाउँदा रहेछन्; ताकि, आत्माले घर आउने बाटो नदेखून् र मोक्ष प्राप्ति गरून्।

जलाएको तीन दिनसम्म जुठो बारेर तेस्रो दिनमा समुद्र, लेक या तोकिएको स्थानमा अस्तु विसर्जन गरेर ‘डालेम’ भगवानको पूजा अर्चना गरेपछि अन्तिम संस्कार पूर्ण हुनेरहेछ। त्यहाँको अर्को आफ्नै खालको चलन बच्चाहरूको नाम राख्नेक्रममा हुनेरहेछ।

जेठो सन्तानलाई वायान या पुटु या गेडे, माहिलोलाई मादे, साहिंलोलाई न्योमान या कोमाङ्ग र चौथोलाई केतुत भन्दारहेछन्। मानिसहरूको नाम सोध्दा उनीहरूले आफ्नो परिचय नै वायान, मादे, न्योमान र केतुत भनेर दिनेरहेछन्।

चौथो सन्तानपछि सायद, अरू सन्तानको कल्पना गर्दा रहेनछन् कि के हो, चौथोपछिकालाई सम्बोधन गर्दा ‘बालिक’ मतलब ‘फेरि’ (उप्स् भनेको जस्तो रे!)जोडिने रहेछ।

बाली पुगेपछि लागेको, हिन्दू धर्म र दर्शन मान्नेहरू पनि कति फरक हुने रहेछन्। नेपाललाई इतिहासकारहरूले मन्दिर नै मन्दिरको देश भनेर लेखेको पढ्दै आएको, बाली पुगेपछि त मन्दिरको संख्या देखेरै अचम्म लाग्नेरहेछ। बालीको अर्को नाम ‘थाउज्यान्ड टेम्पल आइल्यान्ड’ हो।

पन्ध्रौं शताब्दीमा इस्लामले नियन्त्रणमा राखेको जाभाका ‘माजापाहित एम्पायर’को पतन हुँदै गएपछि, त्यहाँका हिन्दू तथा बुद्धिस्टहरू भागेर बाली पुगेका रहेछन्। उनीहरूले सुन्दर र भव्य मन्दिरहरूको निर्माण गरेर बालीलाई हिन्दूहरूको एकछत्र भूमिको रूपमा विकास गरेछन्; जुन, अझै पनि त्यही स्थितिमा देखिन्छ।

बरु ढुंगाले त्यति सुन्दर मन्दिरहरूको राम्रो संरक्षण नभएको हो कि जस्तो लाग्दछ। किनकि, कतिपय मन्दिरहरूमा घाँस उम्रिएका छानाहरू देखिन्छ।

मन्दिरमा पनि ‘अड’ नम्बरको तला बनाइने रहेछ; सबैभन्दा बढी तले ११ तलाको देखियो। प्यागोडा शैलीको मन्दिरको छानाहरू, कालो ताडको रूखको रेसाबाट छाइएको रहेछ; जुन धेरै वर्षसम्म घाम–पानीले बिगार्दैन भन्दथे।

वायानका अनुसार, बालीनिजहरूको कमाइको ६० प्रतिशत त पूजाआजामै खर्च हुन्छ; बाँकी ४० प्रतिशत कमाइले घर धान्ने हो।

पर्यटन बाहेक खासै त्यति धेरै उद्योग धन्दा नभएको बालीका युवाहरू विभिन्न देशमा क्रुजमा काम गर्न जाने रहेछन्। ती बाहेक, काष्ठकला, माटोका कलात्मक सामग्रीहरू बनाउने, बाटीक प्रिन्टका कपडा उत्पादन गर्ने काम पनि अलिअलि गरिने रहेछ।

त्यहाँ पनि रजस्वला भएकी महिलालाई मन्दिर जान वर्जित रहेछ; गरको काम भने सबै गर्न हुन्छ रे!

हुनत, केही दिन डुलेर त्यहाँको सबै संस्कार र संस्कृतिको ज्ञाता भइने होइन र यो लेख विज्ञ भएर लेखेकी पनि होइन; तर, ८ दिनको बसाइँमा मिडियाकर्मी भएको नाताले, स्थानीय व्यक्तिहरू, वायान र ड्राइभर न्योमानसँगको कुराकानी, थुप्रै मन्दिरहरूमा जाँदा पूजा र प्रार्थनामा भेटिएका व्यक्तिहरूसँग कुरा गरेर तयार गरिएको हो। आशा छ, पाठकहरूलाई चाख लाग्छ।

लेखक
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?