Comments Add Comment

त्रिपुरेश्वर महादेव मन्दिरमा गजूर राखियाे

३० भदौ, काठमाडौं । पुनर्निर्माणको क्रममा रहेको काठमाडौं त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनस्र्थापना गरिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपालका लागि थाइल्याण्डका राजदूत भकाभत तानस्कुललगायतले मन्दिरको अवलोकन गरे ।

यो मन्दिर तथा सत्तल काठमाडौं विश्वविद्यालय, स्कुल अफ आट्र्सअन्तर्गत संगीत विभागले पुनर्निर्माण गरिरहेको छ । विभागलाई थाई सरकारले आर्थिक सहयोग प्रदान गरेको प्राधिकरणले उल्लेख गरेको छ ।

विभागका सहायक प्राध्यापक एवं पुनर्निर्माण कार्यका संयोजक डा. लोचन रिजालले मन्दिरको करिब ८० प्रतिशत र समग्र गुरुयोजनाको करिब ३५ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । विभागले त्रिपुरेश्वर महादेव मन्दिर, चारवटा सत्तल, पुजारी घर, मन्दिर परिसरको बगैंचा र पोखरी पुनर्निर्माण तथा संरक्षण गर्नेगरी गुठी संस्थानसँग सम्झौता गरेको थियो । सन् १८१८ मा रानी ललित त्रिपुरासुन्दरीले श्रीमान् रणबहादुर शाहको सम्झनामा यो मन्दिर निर्माण गर्न लगाएकी थिइन् ।

सिंहदरबार, धरधरा र रानीपोखरी पुनर्निर्माण अवलोकन

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आइतबार सिंहदरबार, धरहरा र रानीपोखरी पुनर्निर्माणको अवलोकन गरे । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा अहिले प्रबलीकरणको काम जारी छ । प्राधिकरणका अनुसार प्रबलीकरण आगामी चैत्रभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

त्यसैगरी, धरहरा टावरको माथिल्लो बेसमेन्टमा काम भइरहेको छ भने पहिले हुलाक कार्यालय रहेको भवन भत्काइँदै छ । स्थानीय जनताको सहजताका लागि तेबहालबाट टुँडिखेल निस्कने नयाँ बाटो पनि खोलिएको छ ।

रानीपोखरी र पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिरको पनि पुनर्निर्माण जारी छ । प्रताप मल्लकालीन शैलीमा मन्दिर पुनर्निर्माण गरिँदैछ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिन निर्माण व्यवसायी र उपभोक्ता समितिलाई निर्देशन दिएको प्राधिकरणले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment