Comments Add Comment

वीरगञ्जमा तीन पाङ्ग्रे सवारीसाधन दर्ता अनिवार्य

३१ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरभित्र सञ्चालन हुने तीन पाङ्ग्रे सवारीसाधन (रिक्सा, ई-रिक्सा, अटो रिक्सा) अनिवार्यरुपमा दर्ता हुनु पर्ने भएको छ ।

नगर क्षेत्रमा तीन पाङग्रे सवारीसाधन अव्यवस्थितरुपमा सञ्चालन हुँदा व्यवस्थापनमा समस्या भइरहेको भन्दै महानगरपालिकाले दर्ता अनिवार्य गरेको हो ।

महानगरले दर्ता, रूट निर्धारण, जाँचपास, सञ्चालन अनुमति, नवीकरण र खारेजी, भाडादर निर्धारण, पार्किङ्ग क्षेत्र र स्टोपेज निर्धारणका लागि नगर क्षेत्रमा सञ्चालित तीन पाङ्ग्रे सवारीसाधनको खोजी गर्न थालेको छ । व्यवस्थापनका लागि सवारी तथा यातायात व्यवस्थापन कार्यबिधि, २०७६ तयार गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पनि आफ्नो क्षेत्र भित्रका सवारी तथा यातायात व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ ।

असोज १० गतेदेखि महानगरपालिकाले काम सुरु गर्ने जनाएको छ । पहिलो चरणमा यातायात ब्यबस्था कार्यालयबाट स्वीकृति लिइ महानगरपालिका क्षेत्रभित्र सन्चालनमा रहेका सार्बजनिक तथा भाडाका रिक्सा, ई-रिक्सा, अटो रिक्सा व्यवस्थान गर्न खोजिएको सडक तथा यातायात ब्यबस्था शाखाका प्रमुख ईन्जिनियर विजय कुमार गुप्ताले बताए ।

‘७ दिने सूचना जारी गरी आ-आफ्नो सवारी साधनको सवारी दर्ता प्रमाण-पत्र, बाटो ईजाजत (रूट) प्रमाण पत्र र जाँचपास प्रमाण-पत्र जम्मा गर्न भनेका छौं,’ उनले भने, ‘त्यसपछि उनीहरुले महानगरपालिकाले जारी गरेको नयाँ प्रमाणपत्र लिएर सवारी सञ्चालन गर्नुपर्ने हुन्छ ।’
त्यसो नगरेको खण्डमा उनीहरुलाई कानून बमोजिम कारबाही गरिने गुप्ताको भनाइ छ ।

वीरगञ्ज महानगरपालिकाले ५ सय २८ वटा ई-रिक्सा, अटो रिक्सालाई रुट परमिटका लागि सिफरिस गरेको भएपनि त्यसको दोब्बर सञ्चालनमा छन् । ‘स्थानीय सरकार आएपछि पनि कार्यविधि थिएन, कार्याविधि भर्खरै आएको हो । त्यसैले नगर क्षेत्रको सवारी व्यवस्थापन गर्न कठिनाई भईरहेको थियो ,’ उनले भने, ‘अब मनोमानी रुपमा चलिरहेका सवारी साधनलाई व्यवस्थित गर्छौ । रुट निर्धारण गर्छौ र त्यही रुटमा मात्र चल्न दिन्छौं । अन्यथा कानून बमोजिम कारबाही हुन्छ ।’

कार्यविधिमा तीन पाङ्ग्रे पाइडल रिक्सा भने जुनसुकै रुटमा चालउन पाइने उल्लेख गरिएको छ ।

त्यस्तै कार्यविधिमा सवारी पार्किङ स्थल स्टपेज, निर्धारण, वन वे तोक्न र नगर बस सञ्चालन गर्न सक्ने व्यवस्था राखिएको छ ।

सवारी दर्ता नगरे के हुन्छ ?

तत्काल रक्सा, ई-रिक्सा, अटो रिक्सा व्यवस्थापनको काम सुरु गरे पनि कार्यविधिमा टाँगा, सबै किसिमका मोटरसाईकल, टेम्पु, ट्याक्सी, कार, जीप, भ्यान, माईक्रो बस, बस, मिनि बस, बस तथा समान बोक्ने ट्रक तथा मिनि ट्रकलाई समेत समेटिएको छ ।

कार्यविधिमा यी सबै सवारी साधनलाई महानगरपालिकामा दर्ता र नवीकरण अनिवार्य गराउनुपर्ने उल्लेख छ ।

एउटा ई रिक्सा अटो रिक्सा दर्ता गर्न सवारी निवेदन फारम दस्तुर ५० रुपैयाँ, ब्लुबुक दस्तुर २ सय ५० रुपैयाँ र सिट र भार क्षमताको आधारमा ५ हजारदेखि १० हजारम्म दस्तुर लाग्नेछ ।

महानगरपालिकामा सवारी दर्ता नगरी सञ्चालन गरेको खण्डमा सवारी चालकलाई प्रथम पटक १ हजार रुपैयाँ जरिवाना तिरेर दर्ता गरेपछि मात्रै सवारी सञ्चालन गर्न पाउने छ ।

जरिवाना नतिरेसम्म नगरभित्र सवारी सञ्चालनमा रोक लगाउन सकिने कार्यविधिमा उल्लेख छ ।

त्यसैगरी सवारी साधनले रुट इजाजत पत्र नलिइ सवारी चलाएको खण्डमा पहिलो पटक तत्कालै १ हजार ५ सय रुपैयाँ जरिवाना र दोस्रा पटकका लागि ३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

प्रत्येक वर्ष असोस मसान्त भित्र गराईसक्नुपर्ने नवीकरणका लागि सवारीको ईन्जिन र अन्य भागको कन्डिसन राम्रो हुनुपर्छ ।

तोकेको समयभित्र नवीकरण नगरे दस्तुरको १० प्रतिशत जरिवाना लाग्ने कार्यविधिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment