Comments Add Comment

दुबईबाट स्वर्ण जित्दाको त्यो क्षण

३१ भदौ, काठडमाडौं । वरियताको नवौं स्थानमा रहेका भारतीय खेलाडी बरुण कपुरले शायदै सोचेका थिए कि नेपाली किशोरबाट हार्न व्यहोर्नुपर्छ, त्यो पनि फाइनलमा ।

तर दुबई जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा यस्तै भयो । विश्व वरियतामा १ सय ४ औं स्थानमा रहेका १५ वर्षे प्रिन्स दाहालले स्वर्ण जितेर सनसनी मच्चाए ।

गौरवपूर्ण स्वर्ण पदकका साथ स्वदेश फर्किएका प्रिन्सको अनुहारमा त्यो जितको खुसी प्रष्ट देखिन्थ्यो । ‘यो मेरा लागि मात्र होइन, देशकै लागि उपलब्धी हो । त्यसमा पनि बलिया भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्दाको खुशी छुट्टै छ’ उनी भन्छन् ।

प्रिन्सले फाइनल प्रतिस्पर्धामा बरुणलाई २१–१९ र २१–१९ को सेटमा पराजित गरेका थिए ।

यो पल जीवनकै लागि अविश्मरणीय रहेको प्रिन्स बताउँछन् । ‘वरुणविरुद्ध कोर्टमा उभिँदा म निकै नर्भस थिएँ । किनभने उनी यू–१९ कै पूर्वविजेता हुन्,’ प्रिन्स थप्छन्, ‘तर खेल्दै गएपछि मेरो डर हराउँदै गयो । पहिलो सेट जितेपछि आत्मविश्वास बढ्यो । दोस्रो सेट जितेपछि खुशीले पूरै कोर्ट कुदेँ ।’

फाइनलसम्मको यात्रा

प्रिन्सले दुबई जुनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जानुअघि टाइसिट आइसकेको थियो । भाग्यवस राउण्ड अफ ६४ मा उनले खेल्न परेन । सिधै बाइ पाएर उनको प्रतिस्पर्धा अन्तिम ३२ देखि हुने खेलतालिका थियो ।

तर यही समीकरणले उनले अन्तिम आठ अर्थात् क्वार्टरफाइनलमा कडा प्रतिद्वन्द्वी भेटे । क्वार्टरफाइनलमा भारतीय खेलाडी रोहन गुर्बानीसँग भेट हुने भएपछि उनले आफ्नै तरिकाले रणनीति बनाउन थाले । रोहन निकै राम्रा खेलाडी हुन् । उनलाई पराजित गरे फाइनलसम्मको यात्रा सहज हुने प्रिन्सको आँकलन थियो ।

त्यस्तै भयो पनि । रोहनलाई २१–१६ र २४–२२ को सेटमा हराउँदै प्रिन्स सेमिफाइनलमा पुगे । अन्तिम चारमा दुबईका बसन्तकुमार राजेन्द्रनलाई २१–१९ र २१–१४ को सेटमा पराजित गरे । प्रिन्सले सुनाए, ‘क्वार्टरफाइनल मेरा लागि चुनौतीपूर्ण थियो । भारतीय खेलाडीसँग पर्ने भएपछि म निकै सजग थिएँ, तर कडा प्रतिस्पर्धामा जित हासिल गरेँ । सेमिफाइनलमा चाहिँ मलाई त्यति गाह्रो भएन ।’

यसअघि उनले राउण्ड अफ–३२ मा दुबईका बरुण कार्थिक बाराथी मोहनलाई २१–८ र २१–१५ ले र प्रिक्वाटरफाइनलमा दुबईकै कौशिक कृष्ण कुमारलाई २१–५ र २१–७ को सहज जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेका थिए ।

उनका अनुसार खेल्दै गर्दा कहिले पनि हार्छु जस्तो महशुस भएन, जित्छु भन्ने लागिसत्यो । त्यही आत्मविश्वासले उनलाई ऐतिहासिक स्वर्ण पनि दिलाएको छ ।

लोभलाग्दो सफलता

प्रिन्स अहिले भर्खर १६ वर्षका भए । सानै उमेर उनको खेल कौशल लोभलाग्दो छ ।

गतवर्ष उनले यू–१५ जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा स्वर्ण पदक जितेका थिए । गृहजिल्ला दार्चुलाबाट राष्ट्रिय प्रतियोगितामा खेल्ने उनले पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठ लगायतलाई पनि पराजित गरिसकेका छन् ।

सिनियरमा पनि विस्तारै आफ्नो दबदबा बनाउँदै गरेका उनी निरन्तर राष्ट्रिय च्याम्पियन बन्ने धुनमा छन् । ‘मेरो लक्ष्य भनेको राष्ट्रिय च्याम्पियन निरन्तर भइरहने हो’, भन्छन्, ‘म राष्ट्रिय प्रतियोगितामा ५–६ चोटी तेस्रो भइसकेको छु । बरियताकै हिसाबले म देशमा नवौं नम्बरमा छु, तर खेल्दै जाँदा तेस्रो हुने गरेको छु ।’

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरेका थिए । पुरुष एकलमा रत्नजित तामाङसँग पराजित हुन पुगेका उनी डबल्समा भने रत्नजितको जोडीलाई नै पराजित गर्न सफल भएका थिए ।

सानै उमेरमा पाएको सफलतासँगै उनीमाथि विभिन्न क्लब तथा विभागीय टिमले आँखा लगाएका छन् ।

तर उनी क्लबमा जान चाहँदैनन् । भन्छन्, ‘मलाई सबै विभागीय टिमबाट अफर भएको हो । तर म गएको छैन । त्यसमा गएर भनेको जस्तो अभ्यास गर्न पाउँदिन जस्तो लाग्छ ।’

ब्याडमिन्टनकै कारण पढाइ छोडे

प्रिन्सको बाल्यकाल दार्चुलामै वित्यो । बाबु नारायण दाहाल व्यवसायीसँगै ब्याडमिन्टन खेलाडी थिए । बाबुकै सिको गर्दै ब्याडमिन्टनमा रमाएका उनी खेललाई पछ्याउँदै काठमाडौंसम्म आए । उनी भन्छन्, ‘ब्याडमिन्टन खेल्नकै लागि भनेर दार्चुलाबाट काठमाडौं आएको थिएँ । त्यसैले स्कुल खोज्दा पनि ब्याडमिन्टन कोर्ट भएको छानियो ।’ नेपाल प्रहरी स्कुलमा कक्षा चारमा भर्ना भए ।

पढाई सँगसँगै ब्याडमिन्टनको राम्रो अभ्यास गर्ने मौका पाए । उनले अन्तर स्कुल, जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताहरु जित्न थाले । ठूलठूला सपनाहरु देख्न थाले । अनि त्यो सपना पुरा गर्न पढाई बाधक लागेपछि कक्षा सातपछि स्कुल छाडे ।

‘ब्याडमिन्टनकै लागि करिब डेढ वर्ष पढाई छाडेँ । जेष्ट ब्याडमिन्टनमा प्रशिक्षण गरेँ । बुल्स एकेडेमीमा गएँ । राम्रो गरेपछि आवश्यक खेल सामग्री निःशुल्क पाउन थालेँ’ उनी भन्छन् । तर अहिले भने उनी फेरि पढाईमा पनि फर्किएका छन् ।

यसै वर्ष कक्षा ९ मा भर्ना भएका छन् । ‘पढाई र ब्याडमिन्टनलाई सँगसँगै लानेछु’, उनले सुनाए ।

लक्ष्य ओलम्पिकमा पदक

अहिले उनी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा छन् । सागअघि फाइनल छनोट हुँदैछ, जसमा राम्रो नजिता आउने उनको विश्वास छ । तर उनको लक्ष्य सागमा सीमित छैन । ‘मेरो लक्ष्य ओलम्पिकमा मेडल हो । यसलाई साकार परेरै पार्छु,’ आत्मविश्वासका साथ प्रिन्स भन्छन् ।

उनलाई यो पनि राम्रोसँग थाहा छ कि ओलम्पिकमा पदक जित्ने लक्ष्य यति सजिलो छैन । नेपालमा प्रतियोगिता हुने नहुने टुंगो हुँदैन । कुनै बेला एक महिनामा दुईवटा प्रतियोगिता हुन्छन् । कुनै बेला एउटा प्रतियोगिताका लागि चार महिनामा कुर्नु पर्छ । अभ्यासका लागि पनि विश्वस्तरको सेवा सुविधा छैन ।

यो कुरामा प्रिन्स पनि सहमत छन् । प्रिन्स भन्छन्, ‘ओलम्पिकमा यस्तो अभ्यासले गोल्ड मेडल नै जित्न त गाह्रो छ । तर राम्रो तयारी गरेर कुनै मेडल जित्ने लक्ष्य छ ।’

तस्वीर  र  भिडियो : शं‌कर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment