Comments Add Comment

जब बच्चा डराउँछन्

हामी सबैलाई डर लाग्छ । उमेरअनुसार डरको प्रकार पनि फरक-फरक हुन्छ । डराउनु पर्ने कारणहरु पनि फरक-फरक हुन्छन् । यद्यपि, डराउने प्रसंगमा साना उमेरका बालबालिकाहरुको संख्या बढी हुन्छ ।

अधिकांश व्यक्तिहरु बिजुली चम्किदा, भूकम्प जाँदा, भिडभाडमा जाँदा, खोला तर्दा समेत डराउँछन् । यसैगरी बालबालिकाहरु पनि यीसहित भिडभाडमा अभिभावकको हात छुट्दा, एकान्तमा रहनु पर्दा, अपरिचित व्यक्तिसँगको जम्काभेटका कारण समेत डराउँछन् । वास्तवमा, बालबालिकाहरु डराउने कारणहरु धेरै हुन्छन् । तीमध्ये केही कारणका बारेमा हामी चर्चा गर्दैछौं ।

हरेक बालबालिकाहरु एक-अर्काभन्दा फरक हुन्छन् । उनीहरुको व्यक्तित्वसमेत एक-अर्कासँग मिल्दैन । यद्यपि बालबालिकाहरु डराउने कारणहरु भने प्राय उस्तै-उस्तै हुन्छन् । हरेक बालबालिकाको सोच्ने तरिका पनि अरूको भन्दा अलग हुन्छ । त्यसैले उनीहरू फरक-फरक ढंगबाट आफ्नो प्रतिक्रिया व्यक्त गर्छन् । धेरैजसो बालबालिकालाई ठूलो आवाज, अँध्यारो, पानीको गहिराइ, विचित्र आकृति, होलीको रंग, दीपावलीको पटाका आदिसँग डर लाग्छ । आमा-बुवाले सुरुदेखि नै आफ्ना बालबालिकाहरू कुन कुरादेखि डराउँछन् भन्ने कुरा थाहा पाउन आवश्यक हुन्छ र आफ्ना बालबालिकालाई राम्रोसँग सम्झाएर उनीहरुको मनबाट डर हटाउनु पर्छ ।

कुनै पनि कुरासँग डराउनु हुन्न भन्ने हरेक मानिसको धारणा हुन्छ । वास्तवमा मानिसमा कुनै न कुनै कुराको डर लुकेको हुन्छ । त्यस्तै डरको अनुभव हरेक मानिसले गरेको हुन्छ । मानिसमा डर हुनु पनि आवश्यक छ, डरका कारण मानिस सम्भावित खतराबाट जोगिन सक्छ । जन्मिदा नै उसको मस्तिष्कमा डरको सफ्टवेयर पनि फिट भएर आएको हुन्छ । बच्चा हुर्कदै जाँदा उसको डर मान्ने तरिका र कुराहरुमा परिवर्तन हुन्छ तर केही न केही कुरासँग ऊ डराउने नै गर्छ । सम्भावित दुर्घटनालाई रोक्न पनि डराउनु पर्छ, किन भने यदि बच्चाहरु आगो पानी, भिड, पहाडसँग डराएनन् भने जे पनि हुन सक्छ ।

डरले बालबालिकालाई आफ्नो सुरक्षा कसरी गर्ने भन्ने कुरा राम्रोसँग सिकाउँछ । तर बालबालिकामा डर हावी भयो भने यसले समस्या उत्पन्न गर्न सक्छ । आफ्नो बालबालिका यदि कुनै कुरासँग डराउँछन् भने आमाबुबाले त्यो कारण पत्ता लगाउनु आवश्यक हुन्छ । यदि सानोमा बच्चा स्कुल जान डराउँछ भने के कारणले स्कुल जान डराएको हो त्यो पत्ता लगाउनु पर्छ । बच्चाको यस्तो डरलाई सामान्य सोचेर बेवास्ता गर्नु हुँदैन ।

सानो उमेरदेखि बालबालिकाको प्रत्येक व्यवहार तथा गतिविधिमा आमाबुवाले पूरा ध्यान दिनुपर्छ अन्यथा बाल्यावस्थाको डरले नै फोबियाजस्तो गम्भीर मनोवैज्ञानिक समस्याको रूप धारण गर्छ । जसमा व्यक्ति कुनै पनि कुरासँग अतार्किक ढंगले डराउँछ ।

बालबालिकाको डर कम गराउन के गर्ने ?

  • यदि बच्चा बोल्न सक्छ भने कुराकानीका माध्यमबाट तिनीहरूको मनमा लुकेको डर पत्ता लगाएर उनीहरुलाई राम्रोसँग सम्झाएर, कारणसहित बुझाएर उनीहरुको मनबाट डर हटाउनु पर्छ ।
  • आफ्ना बालबालिकाको कुरा ध्यान दिएर सुन्नु पर्छ । उनीहरूको कुनै पनि कुरालाई हल्का सम्झेर वेवास्ता गर्नु हुँदैन । हामीले सामान्य मानेका कुरा बालबालिकाको लागि महत्वपूर्ण हुन सक्छ ।
  • आमाबुवाको व्यवहार, व्यक्तित्व र वरपरको वातावरणको पनि बालबालिकामा गहिरो प्रभाव पर्छ । कतिपय अवस्थामा घरमा कसैलाई डराउँदै गरेको देखेर पनि बालबालिकाहरू डराउन सिक्छन् । त्यसैले डराउने स्थिति भए पनि बालबालिकाका सामु आफ्नो व्यवहारलाई संयमित राख्नुपर्छ । उनीहरूको डर हटाउनुपूर्व आफू स्वयं निर्भय हुनु जरुरी छ ।
  • बालबालिकालाई सुताउन र खाना खुवाउन कुनै खास कुराको बयान गरेर डर देखाउनु हुँदैन । बालबालिकालाई यो कुरा त्यत्तिकै भनेको भनेर डराउन दिनु हुँदैन । उनीहरू कुनै विशेष कुराबाट डराउन थाले भने त्यो डर स्थायी रूपमा तिनका मन-मस्तिष्कमा रहन्छ र स्थिति अझ बिग्रन सक्छ । पछि गएर त्यसले उनीहरूको व्यक्तित्वमै नकारात्मक प्रभाव पार्छ
  • बालबालिका कुनै कुराबाट डराउँछन् भने घरका अन्य सदस्यहरूबीच त्यसलाई कुराकानीको विषय बनाउनु हुँदैन । किनभने त्यो कुरा सुनेर बालबालिका अझ बढी डराउछन् ।
  • टेलिभिजन हेर्दा बालबालिकालाई एक्लै छोड्नु हुँदैन । कुनै दृश्य देखेर बालबालिका डराए भने उनीहरूलाई तार्किक ढंगबाट टेलिभिजनमा देखाइने सबै कुरा सत्य हुँदैनन् भनेर सम्झाउनुपर्छ ।
  • बालबालिकालाई हरर फिल्म अथवा धारावाहिकबाट टाढा राख्नु राम्रो हुन्छ ।
  • अभिभावकको एउटा प्रयास मात्रले बालबालिकाको डर क्षणभरमा हट्दैन । यसका लागि धैर्यपूर्वक लगातार प्रयास गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment