Comments Add Comment

प्रदेश १ का २५ स्थानमा राष्ट्रिय झण्डा फहराइने

१ असोज, विराटनगर । संविधान दिवसको अवसरमा प्रदेश १ का २५ स्थानमा राष्ट्रिय झण्डा राखिने भएको छ ।

तीन दिने कार्यतालिका बनाएको प्रदेश सरकारले पहिलो दिन बिहीबार प्रदेश १ का विभिन्न २५ स्थानमा राष्ट्रिय भण्डा राख्ने भएको हो । बिहीबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलमा राष्ट्रिय झण्डा राख्नेछन् ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाका अनुसार जिल्लाका सदरमुकाम र मुख्य बजारहरु गरी २५ स्थानमा राष्ट्रिय झण्डा राखिने छ ।

बिहीबार नै सरकारी कार्यालय तथा सार्वजनिक स्थान सरसफाइ र साँझ दिपावली गरिने छ ।

संविधान दिवसको दिन शुक्रबार बिहान आदर्श स्कुलबाट प्रभातफेरि निकालिने छ । प्रभातफेरि बजार परिक्रम गरी शहीद रंगशालामा पुगेर सभामा परिणत हुनेछ ।

कार्यक्रममा नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेनाले मार्च पास गर्नेछन् भने विभिन्न झाँकीहरु प्रस्तुत गरिनेछ । प्रवक्ता थापाका अनुसार विद्यालय र विभिन्न क्षेत्रबाट सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिनेछ । प्रदर्शनको मुल्यांकनका लागि छुट्टै समिति बनाइएको छ । समितिले सिफारिस गरेको आधारमा विद्यालय र अन्य क्षेलालाई उत्कृष्ट छनोट गरी पुरस्कृत गरिने छ ।

झाकी प्रदर्शन गर्ने प्रथम समूहलाई नगद तीस हजार, द्धितीयलाई  २० र तृतीयलाई १० हजार र दुईवटा समूहलाई पाँच हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ ।

शुक्रबार दिउँसो ब्याकुल माइला, धावक मिरा राई र पर्वतारोही कामिरिता शेर्पालाई सम्मान गर्ने प्रदेश सरकारको कार्यक्रम छ ।

शनिबार पनि सरसफाइ गर्ने कार्य तालिका तयार भएको छ । प्रदेश सरकारले तीन दिनसम्म घरघरमा दिपावली गर्न सर्वसाधारणलाई अपील समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment