
१ असोज, गोरखा । ट्याक्सी चालकलाई ज्याकेट वितरण गरिएको छ । मनकामना यातायात सेवा प्रालिमा आवद्ध ७६ जनालाई बुधबार ज्याकेट वितरण गरिएको हो ।
ट्याक्सी चालकको पहिचानका लागि ज्याकेट वितरण गरिएको प्रालिका अध्यक्ष ताराबहादुर खड्काले बताए । ‘ज्याकेटले चालकको पहिचान पनि भयो,’ उनले भने, ‘थप जिम्मेवार पनि बनाउँछ ।’ व्यवहारमा पनि परिवर्तन हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
प्रत्येक ट्याक्सीमा भाडादरको सूची अनिवार्य राख्न चालकलाई प्रालिले निर्देशन दिएको छ । ‘भाडा महँगो लियो भनेर गुनासो आएको छ, भाडादरको सूची राखेपछि यात्रुहरु ठगिदैनन्,’ उनले भने ।
सूची नराख्नेलाई कारबाही गरिने उनले चेतावनी दिए । महँगो भाडा लिएमा वा अभद्र व्यवहार गरेमा प्रालिमा सम्पर्क गर्न आग्रह गर्दै खड्काले भने, ‘त्यस्ता चालकलाई हामी कारवाही गर्छाै र गर्दै आएका पनि छौ ।’
रात्रीकालीन समयमा पनि सेवाका लागि तयार रहेको उनले बताए । ‘जिल्लामा एम्वुलेन्सको संख्या कम छ, रातको समयमा कोही बिरामी परे भने एम्वुलेन्स नपाएर छट्पटाउनु पर्दैन, सेवा दिनका लागि सबै व्यवसायीलाई निर्देशन गरिसकेका छौ,’ उनी भन्छन् ।
ज्याकेट वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी ट्राफिक कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले प्रभावकारी सेवा दिन चालकलाई आग्रह गरे ।
ज्याकेटले थप जिम्मेवारी वहन गराउने भन्दै दुरुपयोग नगर्न उनको आग्रह छ । ‘ज्याकेट लगाउँदैमा असल चालक हुँदैन, व्यवहार पनि परिवर्तन गर्नु जरुरी हुन्छ,’ उनले भने ।
ट्राफिक नियमको पालना गर्न पनि उनले आग्रह गरे । ‘ट्राफिकलाई देखाउनका लागि नियम पालना गरेजस्तो गर्ने होइन, मनैबाट नियम पालना गर्ने भाव आउनुपर्छ,’ उनले भने ।
यात्रु बोक्ने रातो प्लेटका सवारीलाई कारवाही गर्न घिमिरेले निर्देशनसमेत दिएका छन् ।
प्रालिका व्यवासायीयहरुले रातो प्लेटका ट्याक्सीले खुलेआम यात्रु बोकेर समस्या गराएको गुनासो गरेका थिए ।
कार्यक्रमकै अवसरमा दुइ चालक सम्मानित भएका छन् । सुनिल बिक र बाबुराम परियारलाई सम्मान गरिएको प्रालिले जनाएको छ ।
प्रतिक्रिया 4