Comments Add Comment

त्रिभुवन विमानस्थलमा साँझ ५ देखि ८ बजेसम्म जहाजलाई सहुलियत

५ असोज, काठमाडौं । सरकारले कम भीडभाड हुने समयमा थप जहाज आउने वातावरण बनाउन सहुलियत प्याकेज ल्याउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैज्ञानिक स्लट व्यवस्थापन गर्ने र खाली भएको समयलाई अधिकतम उपयोग गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

साँझ ५ बजेदेखि ८ बजेसम्म विमानस्थलमा जहाजको चाप कम हुन्छ । राति ८ बजेदेखि ११ बजेसम्म भने बिमानस्थल निकै व्यस्त हुने गर्छ । यस्तै, बिहान ८/९ बजेबाटै बिमानस्थलमा चाप सुरु हुन्छ । खासगरी आन्तरिक उडानका कारण बिहान विमानस्थलमा उडान-अवतरणको अधिक चाप हुने गरेको हो ।

‘त्रिभुवन विमानस्थलको वैज्ञानिक व्यवस्थापन नहुँदा समस्या आएको मैले पाएँ,’ भट्टराई भन्छन्, ‘अब खाली रहेको समयमा नयाँ-नयाँ कम्पनी आकर्षित गर्न प्याकेज सार्वजनिक गर्छौं ।’

खाली रहेको समयमा थप वायुसेवा कम्पनीलाई आकर्षित गर्न सके त्यसले भ्रमण वर्षलाई समेत सहयोग गर्ने उनको विश्वास छ । स्वदेशी तथा विदेशी कम्पनीलाई त्रिभुवन विमानस्थलमा खाली रहेको स्लटमा उडानका लागि आहृवान गरिने मन्त्री भट्टराईले बताए ।

त्रिभुवन विमानस्थलले वार्षिक ४५/५० लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिइरहेको भन्दै उनले राम्रो व्यवस्थापन गर्ने हो भने थप ३० लाख यात्रुलाई सहजै सेवा दिन सक्ने आशा व्यक्त गरे । विमानस्थलबाट सामान्य समयमा पनि दैनिक ७० हाराहारी अन्तर्राष्ट्रिय र ३ सय हाराहारीमा आन्तरिक उडान-अवतरण हुने गरेको छ ।

२४ सै घण्टा सञ्चालन हुने

अहिले त्रिभुवन विमानस्थलमा ट्याक्सी वेको पीच फेर्नेदेखि विभिन्न मर्मतका कार्य भइरहेका छन् । बुटिक एयरपोर्टको अवधारणाअनुसार पनि पूर्वाधार थप्ने काम जारी छ । यो काम डिसेम्बरसम्म सकिने छ ।

अहिले दैनिक १४ घण्टा मात्र सञ्चालनमा रहेको यो विमानस्थल डिसेम्बरपछि २४ सै घण्टा सञ्चालनको योजना छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेटमा समेत त्रिभुवन विमानस्थललाई २४ सै घण्टा सञ्चालनमा ल्याउने योजना समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment