Comments Add Comment

टेलिफोनका तार भूमिगत गर्न मापदण्ड बन्दै

५ असोज, काठमाडौं । दूरसञ्चार सेवा प्रदायकहरुले ग्राहक सेवा दिँदा आफ्ना तारहरु भूमिगत बनाउनुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यी तारहरु भूमिगत गर्नुपर्ने मापदण्डसहितको मस्यौदा बनाएको हो ।

भारतीय परामर्शदाता कम्पनी केपीएमजीले मस्यौदा तयार गरिरहेको प्राधिकरणले जनाएको छ । उसले प्रारम्भीक मस्यौदा दिएर त्यसमाथि प्रतिक्रिया लिन सुरु गरेको प्राधिकरणका निर्देशक मिनप्रसाद आर्यालले बताए ।

‘अन्तिम रिपोर्ट आउन अब धेरै समय लाग्दैन, त्यसलगत्तै काठमाडौंमा दूरसञ्चार सम्बद्ध तारहरु भूमिगत गर्न सुरु गरिने छ,’ उनले भने ।

जथाभावी तारहरु हाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र हाल भद्रगोल रहेका तारहरुलाई व्यवस्थापन गर्न मापदण्ड बनाउन लागिएको हो । प्राधिकरणका अनुसार राजमार्ग, शहरी सडक, गल्ली र ग्राहकको घरभित्र पनि कसरी तारहरुको व्यवस्थापन गर्ने भन्ने स्पष्ट मापदण्ड बन्नेछ ।

‘परामर्शदाताको सुझावमा छलफल गरेर यसलाई भवन निर्माण मापदण्डमा पनि समावेश गर्नुपर्ने हुन्छ,’ निर्देशक अर्यालले भने, ‘स्मार्ट सिटीको अवधारणामा अघि बढ्दा भवन संरचनाहरु पनि ब्रोडब्यान्ड मैत्री बनाउनुपर्छ । त्यसैले टेलिकम सम्बद्ध तारको व्यवस्थापनको मापदण्डहरु तोक्न लागिएको हो ।’

केही समयभित्रै यस्तो मापदण्ड तयार गरेर ‘पाइलट प्रोजेक्ट’ सञ्चालन गर्ने तयारी भइरहेको छ । यसपछि तार कहाँ हाल्न पाउने, कहाँ नपाउने, कसरी हाल्नुपर्ने लगायतका विषयमा नियम बनाइनेछ । घरहरुमा अहिले बिजुली र पानीको लागि विशेष व्यवस्था गरेजस्तै दूरसञ्चार सेवाको तारका लागि विशेष व्यवस्थापन गर्नुपर्ने मापदण्ड पनि बन्नेछ ।

अर्यालका अनुसार हाल जथाभावी बिजुलीका पोलमा तार टाँग्ने इन्टरनेट सेवा प्रदायकलाई मापदण्डका माध्यमबाट नियमन गरिनेछ । प्राधिरकणले दूरसञ्चार सेवाका तार व्यवस्थापनका लागि पहिलो विकल्पका रुपमा अन्डरग्राउन्ड गर्ने मापदण्ड बनाउनेछ ।

यदि पोलमार्फत नै तार टाँग्ने भए कति उचाइमा कसरी लगाउने भनेर पनि मापदण्डले भन्नेछ । अहिले विद्युत प्राधिरकण र टेलिकमसँग अनुमति नै नलिई पोलमा विभिन्न दूरसञ्चार सेवा प्रदायकले आफ्नो तार र उपकरणहरु झुन्डाउने गरेका छन् ।

मापदण्ड बनेपछि शहरी क्षेत्रमा भद्रगोल बनेको तार व्यवस्थापनमा महत्वपूर्ण उपलब्धी हात पर्ने विश्वास प्राधिकरणको छ । काठमाडौंको रिंगरोडभित्र करिब ७० किलोमिटर क्षेत्रमा प्राधिकरणले तार भूमिगत रुपमा बिछ्याउन टेन्डरमा जाने योजना बनाएको अर्यालले बताए । तोकिएका खण्डमा परियोजना सफल भएपछि अन्य सडक खण्डमा पनि तार अन्डरग्राउन्ड गर्ने योजना छ ।

विद्युत प्राधिरकणले पनि पाइलट प्रोजेक्टकै रुपमा रत्नपार्क र महाराजगञ्ज तारलाई भूमिगत गर्न लागेको छ । पहिलो चरणमा वागबजार,असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र वालुवाटार, गोंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको छ ।

तार बिछ्याउँदा ‘माइक्रोटनेलिङ’ अर्थात ‘ट्रेंकलेस’ प्रविधि प्रयोग गर्ने योजना बनाइएको छ । यो प्रविधिमार्फत् सडक नखनी भूमिगत रुपमै पाइप राख्न सकिन्छ ।

अहिले काठमाडौंमा तार व्यवस्थापनको काम अपरिहार्य बनेको छ । पोलहरुले क्षमताभन्दा बढी तार र दूरसञ्चार उपकरणको भार थेगेर बसेका छन् । जथाभावी तार टाँग्दा दुर्घटनाहरुको जोखिम पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment