
६ असोज, काठमाडौं । दोस्रो खण्डको निर्माण अघि नबढ्दै मेलम्ची आयोजनामा राजनीति घुसेको छ । आयोजनाको प्रवेश मार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएलगत्तै स्थानीय नेताहरुले चलखेल गर्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालयले सिन्धुपाल्चोकको पाँचपोखारी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरुमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोट विरुवा, बालीनाली, गोठ टहराको मुआब्जा वितरण गर्न सूचना निकालेको थियो । तर, धेरै स्थानीयहरु मुआब्जा बुझ्न आएका छैनन् ।
विभिन्न कारणले अहिलेसम्म मुआब्जा वितरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् ।
‘स्थानीय नेताहरुले नै मुआब्जा नबुझ्न भन्नुभएको सुनिन्छ,’ उनले भनिन्, ‘कतिपय स्थानीयवासी मुआब्जा बुझ्न तयार नै छन्, तर स्थानीय सरोकार समितिले रोक लगाएको सुनेका छौं ।’
मुआब्जा लगायतका विषयमा असन्तुष्टि जनाएर प्रभावित बासिन्दाले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । तर, प्रमुख जिल्ला अधिकारी चेम्जोङले आफूले नै जग्गाको मूल्यांकन गरेकाले यसमा पुनरावलोकन गर्न नसक्ने बताइन् ।
‘चित्त नबुझे मन्त्रालयमा जानुस् भनेका छौं,’ उनले भनिन्, ‘अहिलेसम्म सरकारले जग्गाको मूल्य तोकेपछि पुनरावलोकन भएको रेकर्ड छ जस्तो मलाई लाग्दैन ।’
नेताहरुले अहिले नै मुआब्जा बुझे सामाजिक बहिस्कार खेप्नुपर्ने धम्की दिएको नाम नबताउने शर्तमा एक स्थानीयले बताए । मुआब्जा चित्तबुझ्दो नभए पनि आर्थिक समस्यामा परेकाहरुलाई लिन रोक्न नहुने उनको भनाइ छ ।
‘सरकारले जग्गाको मोल त राम्रो दिएको छैन, तर म पैसाका कारण समस्यामा छु,’ उनले भने, ‘बुझ्न जाउँ भने गाउँमा गाली खाइन्छ भनेर हात बाँधेर बस्नु परेको छ ।’
३८० रोपनी अधिग्रहण गर्ने योजना
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जेठ ३२ सूचना जारी गरेर तोकिएका कित्ताका जग्गाधनीलाई १५ दिनभित्र मुआब्जा बुझ्न भन्दै सूचना जारी गरेको थियो । यो आयोजना निर्माण गर्दा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नम्बर १ मा सबैभन्दा धेरै १५२ कित्ता जग्गा अधिग्रहण गर्नुपर्ने छ । वडा नम्बर २ मा ५५, ४ मा ४४, ८ मा ३६, ९मा ६ र वडा नम्बर ६ मा ४ कित्ता जग्गा अधिग्रहण गर्न लागिएको छ । आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडबक्र्स, क्याम्स पाइसट, माटो थुपार्ने ठाउँलगायतका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो ।
आयोजनाको प्रवेश मार्ग निर्माण गर्न जग्गा अधिग्रहणका लागि यो वर्ष १५ करोड रुपैयाँ छुट्याइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । करिब ९.५ किलोमिटर सडक निर्माणका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो । आयोजनाको हेडवक्र्स लगायतका संरचना सरकारी जमिनमै पर्छन् ।
‘३८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ, यो जति छिटो टुंगिएर बाटो बन्छ, त्यसैअनुरुप निर्माणको काम अघि बढ्छ,’ प्रवक्ता पन्तले भने ।
डीपीआर तयार, ईआईए बन्दै
यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । परामर्शदाता कम्पनी इप्टिसाले सिन्धुपाल्चोककै यांग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाउने गरी बनाएको डीपीआर मेलम्ची खानेपानी विकास समितिलाई दिएको हो ।
यो योजना पुरा भए मेलम्चीबाट अहिले ल्याउन लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ । मेलम्चीको पानीमा अरु दुई खोलाको पानी पनि मिसाउने गरी मेलम्ची–२ को डीपीआर तयार भएको छ ।
वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को प्रतिवेदन पनि तयार भएर सार्वजनिक सुनुवाई लगायतका काम भइरहेको छ । अब प्रभावित क्षेत्रमा स्थानीय तहले वातावरणीय प्रभावबारे टिप्पणी दिएपछि ईआईए प्रतिवेदन फाइनल हुनेछ ।
जग्गा अधिग्रहण, डीपीआर तथा ईआईए प्रतिवेदनको स्वीकृति, वित्तीय स्रोत व्यवस्थापन लगाययतका प्रक्रिया सकेर मेलम्चीको दोस्रो परियोजनामा काम थाल्न टेन्डरमा जाने योजना छ ।
कसरी बन्छ आयोजना ?
पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौंमा झार्नेछ । मेलम्चीको दोस्रो परियोजना तयार भएपछि भने त्यसलाई ५१ करोड लिटरमा पुर्याउने योजना छ ।
यो योजनाअनुरुप मेलम्ची आयोजनामा यांग्री र लार्के खोलाको पानी मिसाएर राजधानी ल्याइनेछ । पहिलो चरणमा आउने १७ करोड लिटरले काठमाडौंको पूरा माग थेग्न नसक्ने भएपछि सरकारले मेलम्चीका दुईखोलाको पानी पनि थपेर काठमाडौं ल्याउन लागेको हो ।
यसका लागि झण्डै ३ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै ३० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ । एसियाली विकास बैंक (एडीबी) पनि मेलम्चीको नयाँ प्रोजेक्टमा लगानी गर्न तयार भइसकेको छ ।
सरकारले पनि मेलम्चीमा थप लगानी गरेर काठमाडौंमा थप पानी ल्याउने घोषणा बजेट र नीति तथा कार्यक्रमबाटै नै गरिसकेको छ । अब पहिलो चरणमा १७ करोड लिटर पानी आएपछि दोस्रो चरणमा ३४ करोड लिटर पानी थपिनेछ । काठमाडौंमा दीर्घकालीनरुपमा पानीको माग व्यवस्थापन गर्न दुई खोलाको पानी मिसाउन लागिएको हो ।
मेलम्चीसँगै यी दुई खोलाको पानी आएपछि राजधानीमा दैनिक ५१ करोड लिटर पानी भित्रिनेछ । यसले काठमाडौंमा दीर्घकालीन रुपमा खानेपानीको अभाव पूरा सहज हुने विश्वास छ ।
मेलम्चीमा यांग्री र लार्केको पानी मिसाउन ११ किलोमिटरको सुरु खन्नुपर्नेछ झण्डै १२ किलोमिटरको दूरीमा रहेका यी खोलाको पानी मिसिएपछि मेलम्ची आयोजना थप समृद्ध हुनेछ ।
यो आयोजनामा काम सुरु भएपछि ४ वर्षभित्र सुरुङको काम सकिने अनुमान गरिएको छ । मेलम्ची आयोजनामार्फत आएको पानीको वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ । मेलम्चीको पानी काठमाडौं आएपछि काठमाडौंमा पानीको माग व्यवस्थापन सहज हुने आयोजनाका अधिकारीहरु बताउँछन् ।
झन् योजनाअनुरुप थप ३४ करोड लिटर पानी काठमाडौं आएपछि यहाँ पानीको अभाव हट्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4