+
+
Shares

हाइटेन्सन तारमुनि लहलह केराखेती !

सुवास पण्डित सुवास पण्डित
२०७६ असोज ६ गते १८:२९

६ असोज, चितवन । नेपाल विद्युत प्राधिकरण प्रसारण लाइन विस्तारमा लागिरहेको छ । प्रसारण लाइन मुनिका रुख बिरुवाहरु हटाउने गरिन्छ । त्यसबाट हजारौं बिघा जमिन प्रयोगविहीन बनिरहेको छ ।

यसरी बाँझिएको जग्गालाई भरतपुर महानगरपालिका- १, रामनगरका १० जनाले काइदासाथ उपयोग गरेका छन् । उनीहरुले सतनचुली कृषक समूह गठन गरेर २२० केभीए प्रसारण लाइन मुनि करिब पाँच बिघा जग्गामा मालभोग केरा खेती गरेका छन् ।

सतनचुली सामुदायिक वन र जिल्ला वन कार्यालयसँग मौखिक सहमति गरेर केरा लगाएको समूहका अध्यक्ष प्रेमदत्त सापकोटाले बताए । उनका अनुसार, २०७२ सालमा प्रतिपरिवार एकलाख रुपैयाँ उठाएर थालिएको खेतीबाट अहिलेसम्म १० लाख रुपैयाँको केरा बिक्री भइसकेको छ ।

केराको गोडमेल, रेखदेख र औषधि उपचार उनीहरु मिलेर नै काम गर्छन् । समूहका सदस्यहरुले यसरी काम गरेवापत एक घण्टाको एक सय रुपैयाँ आफैंले लिन्छन् । यो चलनले समूहलाई टिकाउ बनाएको समूहकी सचिव शान्ता देवकोटाको अनुभव छ ।

जग्गाको सदुपयोग

वर्षमा करिब १० लाख जतिको केरा बेच्दै आएको समूहका सदस्य राजकुमार खड्की बताउँछन् । उत्पादित केरालाई बजारको अभाव छैन । त्यसैले समूहका सदस्यहरु केरा खेतीको क्षेत्र बढाउन चाहन्छन्, तर पूर्वमा सतनचुली सामुदायिक बनले पार्किङ क्षेत्र बनाउने र दक्षिण-पश्चिममा लखन थापा पार्क भएकाले ठाउँ पाएका छैनन् ।

विद्युत प्राधिकरणले अन्य ठाउँमा पनि स्थानीय आवश्यकताअनुसार जमिन प्रयोग गर्न दिए मनग्य आर्जन हुने अध्यक्ष सापकोटाले बताए । विद्युत प्राधिकरणको मर्स्याङ्दी करिडोर प्रमुख चित्रन विक्रम राणाले यसबारे ठोस योजना नबनेको बताए ।

हाइटेन्सन तार मुनिको जग्गामा केरा, किम्बु, कफी, अलैंची, अदुवालगायत भुइँखेती गर्न स्थानीयलाई प्रोत्साहित गर्न सकिने राणा बताउँछन् । राणाले भने, ‘अग्ला रुख रोप्नु भएन, साना र होचा विरुवा रोपेर वा खेती गरेर स्थानीयले आयआर्जन गर्न सक्छन्, प्राधिकरणले पनि केही सहयोग गर्नुपर्दछ भन्ने लाग्छ ।’

बीमा गर्न पाइएन

बरण्डाभार क्षेत्रमा केरा लगाएका कारण उनीहरुसँग जग्गाको लालपूर्जा भने छैन । लालपूर्जा नभएपछि केराको बीमा पनि भएको छैन । ‘हामीसँग जग्गाको लालपूर्जा छैन, सामुदायिक बनको क्षेत्र पनि पर्दैन,’ कोषाध्यक्ष गुरूङले भने, ‘गत वर्ष हावाहुरीले सबै केरा लगिदियो, हावाहुरी आउँदा आँखा छोपी बस्नुपर्दछ ।’

जंगल नजिकै केरा खेती भएकाले जंगली जनावरहरुले पनि दुःख दिने गरेका छन् । छाडा छाडिएका पशु चौपायाले पनि केरा नष्ट गरिदिँदा स्थानीयबासीसँग पनि कहिलेकाहीँ ठाकठुक परेको अनुभव समूहका सदस्यहरुसँग छ ।

सचिव देवकोटाले भनिन्, ‘सार्वजनिक ठाँउमा केरा लगाएका छौं, बारबेर गर्न पनि मिलेन, गाईवस्तु आएर खाइदिन्छन्, कहिलेकाँही त छिमेकीहरुसँग पनि नराम्रो हुने ।’

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?