+
+
Shares

पुनर्निर्माण कुर्दै गोरखाको कालिका मन्दिर र रंगमहल

दरबार पुनर्निर्माणको काम पनि कछुवा गतिमा

विकास मरहट्टा विकास मरहट्टा
२०७६ असोज ६ गते १३:१५

६ असोज, गोरखा । गारो चिरिएको छ । आधा पाटो भत्किसक्यो । झिगटी कहिकतै मात्र देखिन्छ । पानी ओत्न जस्ता छाइएको छ । गोरखा दरबारसँगै रहेको कालिका मन्दिर र रंगमहलको भवन पुनर्निर्माणको पर्खाइमा छन् ।

भूकम्पले क्षति पुगेका यी भवनहरु थप जीर्ण बन्दै छन् । रंगमहलको भवनमा बढी क्षति पुगेको छ । ‘कुनै पर्व वा जात्रामा भगवतीको प्राङगणमा नाँचगान तथा सांस्कृतिक कार्यक्रम हुन्थ्यो,’ गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले भने, ‘राजा रानी त्यहीँ रंगमहलमा बसेर झ्यालबाट हेर्ने प्रचलन थियो ।’

वल्लो दरबारदेखि पल्लो दरबार जाने मुख्य ‘कनेक्सन’ बाटोसमेत भएको उनले बताए । क्षति पुगेको भवनलाई पुनर्निर्माणको खाँचो छ ।

रंगमहल मात्र होइन कालिका मन्दिरको संरचना पनि मर्मत गर्नुपर्ने छ । ‘छानामा प्वाल परेको छ, तलको पाटेसन गारो ठाउँठाउँमा चर्किसक्यो,’ भुषालले भने ।

बाँकी रहेका झिगटी पनि बाँदरले उप्काइदिने गरेको उनको भनाइ छ । ‘बाँदरले झिगटी उप्काएर हैरान बनाएपछि जस्ताले चेपेका छौं,’ उनी भन्छन् ।

पुनर्निर्माण गर्ने वा प्रबलीकरण गर्ने एकीन भइनसकेको उनले बताए । ‘केन्द्रको टोलीले अध्यन गरेर गइसकेको छ, रिपोर्ट आएपछि भत्काउने वा प्रबलीकरण गर्ने भन्ने एकीन हुन्छ, अनि काम सुरु गर्छौ,’ उनले भने । रकमसमेत आइसकेको उनले जानकारी गराए ।

सँगै रहेको गोरखा दरबारको भवन पुनर्निर्माण भइरहेको छ । कछुवा गतिमा काम अघि बढेको भन्दै स्थानीय आक्रोशित छन् ।

हालसम्म २५ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको इन्जिनियर नवीन पाण्डेले बताए । ‘केही दिनअघि मूल ढोका राख्यौं, भित्री ढोका र बाहिरी झ्यालको चौकोस पनि राखिसकेका छौं, गारो लगाउने काम भइरहेको छ,’ उनले भने । हाल चार जनाले काठमा बुट्टा भर्ने काम गरिरहेका छन् । दुई जना दचीको काम गर्ने छन् ।

०७४ कात्तिक महिनाबाट पुनर्निर्माणको काम सुरु भएको हो । ०७६ मंसिर ३० मा काम सक्नुपर्ने छ । तर, सम्भव देखिदैन । म्याद थप गर्न नगर्ने केन्द्रले निर्णय गर्ने भुषाल बताउँछन् ।

पचली शिभाको जेभीसँग ठेक्का सम्झौता भएको हो । कुल चार करोड ३७ लाखको लागतमा दरबार पुनर्निर्माण हुन लागेको हो ।

आइतबार ट्रान्स्परेन्सी इन्टरनेशनल नेपाल गोरखाले प्राविधिक टोलीसहित दरबार पुनर्निर्माणको कामको निरीक्षण गरेको छ ।

कामको प्रगतिबारे जानकारी लिइएको ट्रान्स्परेन्सी इन्टरनेशनल नेपाल गोरखाकी कमला रानाले बताइन् ।

भूकम्पले क्षति पुगेका केही संरचनाको पुनर्निर्माण भइसकेको गोरखा दरबार हेरचाड अड्डा प्रमुख भुषालले जानकारी गराए । ‘विद्या मन्दिर गत वर्ष पुनर्निर्माण भइसक्यो, शित्तल पार्टी यो वर्ष भत्काएर बनाउँछौ, दरबार पुनर्निर्माण हुँदैछ,’ उनले भने ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?