Comments Add Comment

आधा वर्ष हराउने खर मजुर सदाका लागि लोप हुने संघारमा 

७ असोज, काठमाडाैं। पूर्वी तराईको कोशी टप्पु आरक्षमा गृष्मकालीन बिहानीमा हाँसजस्तै चरा देखिने गर्थ्यो । छिनछिनमा बुद्रुक्क उफ्रिने यो चराको मानौँ खुट्टामा स्प्रिङ जोडिएको छ ।

लोप हुने संधारमा रहेको यो चरा हो खर मजुर (अङ्ग्रेजीमा ‘बेङ्गाल फ्लोरिकन’)। प्रजनन गर्ने मौसममा खर मजुरको भालेले पोथीलाई आकर्षित गर्ने देखाउने ‘कला’ का कारण यसलाई केही समय अघिसम्म नेपाल र भारतका संरक्षित घाँसे मैदानमा ग्रिष्मयामदेखि वर्षात शरु नहुन्जेल देख्न सकिन्थ्यो । त्यसपछि उनीहरू करिव ६ महिनाका लागि ‘हराउँथे’ । कहाँ जान्थे कसैलाई थाहा हुँदैनथ्यो ।

‘मैले नेपालका विभिन्न संरक्षित क्षेत्रहरूमा दशकौँ बिताएँ तर पनि मलाई थाहा थिएन, असार लागेपछि यो चरा कहाँ जान्थ्यो’, चितवन राष्ट्रिय निकुञ्जका पू्र्ववार्डेन नरेन्द्रमान बाबु प्रधान भन्छन् । ‘आफ्नो प्रजनन समय भन्दा इतरको समयमा यो चरा अलप नै हुन्थ्यो ।’

संसारभर दुई उप‍-प्रजाति भेटिएको खर मजुरले दक्षिण एसियामा नेपालको तराईको घाँसे मैदान र उत्तरी भारत र दक्षिण-पू्र्वी एसियाको कम्बोडियाको टोनल साप क्षेत्रलाई आफ्नो घर बनाएको छ ।

संरक्षणविद्हरूका अनुसार दुवै वासस्थानमा गरेर करिव १ हजार मात्र खर मजुर अहिले जिवित छन् । कम्बोडियामा यो प्राजातिको गहिरो अध्ययन भएको छ । त्यहाँ गरिएको अध्ययनमा प्रजनन गर्ने मौसम बाहेकको समयमा यिनिहरू पातलो जङ्गल रहेको स्थानमा जाने देखाएको छ । तर, दक्षिण एसियामा भने यसबारे गहिरो अध्ययन हालसम्म भएको थिएन ।

सन् २०१२ मा नेपाल र भारतका वैज्ञानिकहरूले बेलायत सरकारको सहयोग प्राप्त डार्विन इनिसिएटिभको आर्थिक सहयोगमा खर मजुरको विस्तृत अध्ययन गरका थिए । भारतीय वैज्ञानिक रोहित झाको नेतृत्वमा गरिएको अध्ययनको क्रममा खर मजुरलाई समातेर स्याटेलाइट ट्यागिङ समेत गरिएको थियो । ‘हामीले फिल्ड सर्वेक्षण, स्याटलाईट टेलिमेट्री र रिमोट सेन्सिङ प्रविधिका माध्यमबाट खर मजुरको अध्ययन गरेका थियौँ,’ वैज्ञानिक झा भन्छन् ।

अध्ययनका क्रममा नेपाल र भारतका १-१ संरक्षित क्षेत्रबाट ११ खर मजुरलाई समाते स्याटेलाईट ट्यागिङ गरिएको थियो । चराको जिउमा लगाइएको ट्यागले चराको भौगोलिक अवस्थितिको जानकारी स्याटेलाइट मार्फत् प्राप्त गरिन्थ्यो । तर, खर मजुरलाई समाउन त्यति सजिले थिएन । बेलाएयतबाट आएका विशषज्ञले समेत यी चरालाई समात्न नसकेपछि भारतमा चरा समात्न प्रख्यात अलि हुसैनलाई नेपाल बोलाइएको थियो । भारतको प्रसिद्ध चरा सिकारी आदिवासी समूहका हुसैनले केही दिनमा नै चरा समातेर देखाएका थिए ।

अनुसन्धानकर्ताहरुले तयार पारेको कम्प्युटर मोडेलका अनुसार नेपालको पश्चिमी तराईमा समेत खर मजुरको हालसम्म पत्ता नलागेको ठूलो समुदाय हुन सक्ने देखियो । त्यस्तै ब्रह्मपुत्र नदिको किनार पनि यो चराका लागि उत्तम विचरण क्षेत्र हुन सक्ने देखिएको थियो । मोडेलले के पनि देखायो भने प्रजनन अवधि इतरका समयमा यी क्षेत्रहरू यो चराका लागि अनुपयुक्त हँदो रहेछन् र यसै कारण उनीहरू पानी पर्न थालेपछि संरक्षित क्षेत्र छाडेर जाँदा रहेछन् भन्ने अनुमान लगाइयो ।

ट्याग गरिएका चराहरूको अध्ययन गर्दा पनि त्यस्तै देखियो । झाका अनुसार प्रजनन समय सकिसकेपछि यी चराहरू करिव ८० किमि दूरीमा रहेका कम जनघनत्व र धेरै खेतिपाति नगरिएको क्षेत्रमा स्थानान्तरण गर्दछन् । धेरैजसो चराहरूले यस्ता स्थानमा वर्षको ६ महिना भन्दा बढि बिताउने गरेको पाइएको थियो ।

झाको नेतृत्वमा भएको अध्ययनलाई नजिकबाट नयालेका चरा विज्ञ हेम सागर बराल भन्छन् वैज्ञानिकहरूले पत्ता लगाएको कुराले पहिलेदेखि नै छलफलको विषय थियो । ‘खर मजुरले  ‘अर्ध-प्राकृतिक’ घाँसे मैदान रुचाउँछ ।’

‘यसलाई यस्तो मैदान चाहिन्छ जहाँ घाँस धेरै अग्लो नहोस्’, बराल भन्छन् । अचेल संरक्षित क्षेत्रभित्र वर्षा याम शुरु हुनुअघि घाँस काट्ने र जलाउने गरिन्छ । ‘यो समय खर मजुरको प्रजनन समयसँग मिल्न जान्छ र छोटो घाँसमा ऊ रमाउँछ,’ बराल भन्छन् । ‘तर पानी पर्न थालेपछि घाँस बढ्न जान्छ अनि खर मजुरका लागि संरक्षित क्षेत्र भित्र रहेको घाँसे मैदान असहज हुन पुग्छ’, उनी भन्छन् ।

पहिले पहिले नेपाल र भारतका घाँसे मैदानमा ठूला ठूला चौपाया चर्ने गर्थे र यसै कारण घाँस अस्वाभाविक रुपमा बढ्न पाउँदैनथ्यो । यसै कारण खर मजुरलाई अन्यत्र वासस्थान सर्नुपर्ने बाध्यता पर्दैनथ्यो । ‘त्यस्तै, अहिले संरक्षित क्षेत्र भएका स्थानमा पहिले पहिले मानिसहरू निर्वाध रुपमा गाईवस्तु चराउँथे र यसका कारण घाँस धेरै अग्लो हुन पाउँदैनथ्यो’, चरा विशेषज्ञ बराल भन्छन् ।

घाँसे मैदानमा बस्न असहज भएपछि संरक्षित क्षेत्र बाहिर निस्कने यी चराहरू मानव वस्ति तिर स्थानन्तरण हुँदा उनीहरूको संरक्षणमा समस्या देखिएको छ । ‘नेपाल र भारतका केही भेगमा यो चरालाई मारेर खाने चलन पनि छ’, चितवन निकुञ्जका पूर्ववार्डेन प्रधान भन्छन् ।

अध्ययनको क्रममा पत्ता लागेको अर्को कुराले वैज्ञानिकहरुलाई झन् चिन्तित बनाएको छ । ‘हामीले के पत्ता लगायौँ भने यी चराहरूको आफ्ने एउटा मनपर्ने स्थान हुन्छ । संरक्षित क्षेत्र बाहिर जति घुमेर आए पनि हरेक वर्ष एउटै ठाउँमा फर्किन्छन् र आफ्नो ‘कला’ देखाउँछन्’, अध्ययनमा संलग्न नेपाली वैज्ञानिक ज्योतेन्द्र ज्यू ठकुरी भन्छन् । यसका कारण खर मजुरको सुरक्षमा खतरा देखिएको छ । ‘सायद यसै कारण पनि खर मजुरको संख्या दिनानुदिन घट्दो छ’, प्रधान भन्छन् ।

अध्ययनले के देखाएको छ भने खर मजुरको संरक्षण गर्न घाँसे मैदानको उचित व्यवस्थापन जरूरी छ । ‘यदी हामीले समयमै कदम चालेनौँ भने यो चरा सदाका लागि लोप हुनेछ,’ बराल भन्छन् ।
सरकारले खर मजुर संरक्षण कार्ययोजना (२०१६-२०२०) पनि लागू गरेको छ तर योजना कार्यान्वयन फितलो छ, बराल भन्छन् । ‘हामीले खर मजुरका बारेमा जान्नु पर्ने कुरा जानी सक्यौँ । अबको समय भनेको यसलाई बचाउन कदम चाल्ने हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment