Comments Add Comment

स्वयंपाक्य साम्राज्ञी !

चुलबुले । चञ्चल । लाड-प्यारले मात्तिएकी । झट्ट हेर्दा यस्तै देखिन्छिन्, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह । तर, जब-जब कुराकानीमा खुल्दै जान्छिन्, परिपक्व लाग्छ उनको स्वाभाव । जुझारु साम्राज्ञी भन्छिन्, ‘म बलियी केटी हुँ ।’

बलियी यस अर्थमा कि, सानोतिनो उथल-पुथलले आफूलाई विचलित बनाउन नसक्ने उनको दाबी छ ।

आफूले अभिनय गरेको चलचित्र फ्लप हुँदा कस्तो लाग्छ ? अरुले कुरा काट्दा कस्तो लाग्छ ? करियरमा धक्का लाग्दा कस्तो लाग्छ ? भए नभएको गसिपले बजार तताउँदा कस्तो लाग्छ ?

‘मन बलियो हुनुपर्छ’ उनी यसै भन्छिन् । चाहे स्वास्थ्यको ख्याल राख्ने कुरामा होस् वा करियरको कुरामा, मन बलियो भए पुग्छ । साम्राज्ञीले बुझेको खाँटी कुरा यही हो ।

साम्राज्ञीका बारेमा अनेक-अनेक हल्ला नचलेको होइन । उनको करियरमा धक्का नलागेको कहाँ हो र ? तर, उनी डग्मगाइनन् । किनभने आफूलाई भित्रैदेखि बलियो छु भन्ने आत्मबलले उनलाई तागत दिएको छ ।

साम्राज्ञीको केही आफ्नोपन छ । जस्तो कि, उनी आफ्नो काम आफैं गर्छिन् । भात पकाउने, नास्ता बनाउने, लुगाफाटो मिलाउने । अरुको भर र डरमा टिकेकी छोरी कहाँ हुन् र उनी ?

चम्किलो पर्दामा सम्राज्ञीलाई त देखेकै हो । उनको अभिनय पनि हेरेकै हो । उनले छमछमी नाचेको पनि देखेकै हो । तर, उनको अफस्क्रिन जीवन कस्तो छ ? घरमा बस्दा के गर्छिन् ? के खान्छिन् ? कस्तो लगाउँछिन् ? यी प्रश्नहरुको जवाफ चलचित्रको पर्दाले दिँदैन ।

आफ्नै सेरोफेरो

साम्राज्ञी परिवारभन्दा अलग बस्छिन् । छानो त एउटै हो । तर, उनी बस्ने फ्ल्याटचाहिँ छुट्टै छ । त्यहाँ उनको शयनकक्ष  र बेग्लै भान्सा छ ।

घरको माथिल्लो तलामा उनका बुबाआमा लगायत परिवार बस्छन् । परिवारसँगै दुईवटा कुकुर पनि छन् । परिवारको खानपान, बसोबास माथिल्लो तलामा । साम्राज्ञीको बसाइ तल्लो तलामा ।

साम्राज्ञीको साथी भन्नु एउटा बिरालो छ । बेलाबखत सानो भाइ आउँछ र खेल्न थाल्छ । तर, ममीको फोन आउँछ, ‘भाइलाई माथि पठाउ, होमवर्क गरेकै छैन ।’

स्वयंपाक्य !

साम्राज्ञी परिवारकै चुल्होमा पाकेको खानेकुरा होइन, आफ्नो छुटै चुल्होमा पाकेको खान्छिन् । पकाउने पनि उनी आफैँले हो । यद्यपि धेरैजसो समय पकाउने फुर्सद पनि हुँदैन । घरबाहिर नै खाने गर्छिन् ।

घरमै भएका बेला र फुर्सद पनि भएमा चाहिँ उनी आफैँ पकाउन थाल्छिन् । पकाउनमा उनलाई जाँगर मात्र चल्ने हो र ? मीठा-मीठा पाकवान बनाउने पाककला पनि छ । उनको हातबाट बन्ने परिकारमा त परिवारको जिब्रो समेत लोभिएको छ । चाडपर्वमा वा पारिवारिक जमघटमा सबैले भन्छन्, ‘साम्राज्ञीले पकाएको खाने ।’

आफैं खाना पकाएर खाने भएकाले साम्राज्ञीलाई स्वयंपाक्य भन्दा फरक पर्दैन । तर, उनी धर्मभीरुले जसरी अरुले पकाएको खाँदै नखाने खालकी ‘परम्परागत स्वयंपाक्य’ चाहिँ होइनन् ।

साम्राज्ञीको पाककला

साम्राज्ञीको हातबाट मीठो-मसिनो परिकार बन्छ । नेपाली खाना दालभात नै उनलाई पि्रय छ । दालभात, मासु पकाउनमा उनी सिपालु छिन् । उनको खानामा छुट्दै नछुट्ने परिकार चाहिँ गोलभेडाको अचार हो ।

रातो खुर्सानी राम्ररी पिसेर टिमुर मिसाइएको गोलभेंडाको अचारले उनको मुखमा पानी आउँछ । यसैगरी चाइनिज हटपट पनि उनलाई स्वादिलो लाग्छ । उनलाई झोलिलो पदार्थ अर्थात् सुप, सागपात बढी रुचिकर लाग्छ । पिरो भनेपछि त हुरुक्कै । अझ अकबरे खुर्सानी भए पुग्छ ।

भरपेट खाना, तैपनि भोक

खानाको कुरा गरिरहँदा साम्राज्ञी भन्छिन्, ‘म फिल्म क्षेत्रमा नलागेको भए यति खान्थें, यति खान्थें, भनेर साध्य छैन ।’ अर्थात् उनी खानाकी सौखिन हुन् । आफ्नै हातले बनाएको खानेकुरा उनलाई स्वादिलो लाग्छ । भरपेट खान्छिन् । मीठो खानेकुरा देखेपछि उनले मुख बार्ने गरेकी छैनन् ।

तर, उनको खाना खाने शैली अलि फरक छ । बिहानको हल्का खानेकुराले उनलाई पुग्छ । साँझ वा रातिको खाना भने मज्जाले खानुपर्छ । एक छाक भात नभई हुन्न । ‘नेपालीको बानी, भात त खानैपर्छ’ साम्राज्ञी भन्छिन्, ‘अरु कुरा जतिसुकै खाए पनि भातको तलतल लाग्छ ।’

राति भोक लाग्ने अचम्मको बानी छ उनको । कहिलेकाहीँ त राति एक वा दुईबजे निद्रा खुल्दा पनि भोक लागिरहेको हुन्छ । जुरुक्कै उठेर भान्सामा पुग्छिन् । फ्रिजमा खानेकुरा खोज्छिन् । केही फेला नपरे पनि चाउचाउ हुन्छ ।

राति भोक लाग्ने अचम्मको बानी छ साम्राज्ञीको । कहिलेकाहीँ त राति एक-दुई बजे निद्रा खुल्दा पनि भोक लागिरहेको हुन्छ । जुरुक्कै उठेर भान्सामा पुग्छिन् । पि|mजमा खाने कुरा खोज्छिन् । केही फेला नपरे पनि चाउचाउ हुन्छ ।

गोलभेडा, प्याज, खुर्सानी काट्छिन् । चाउचाउ फ्राइ वा झोल बनाएर खाएपछि बल्ल पेटले राहत महसुश गर्छ ।

खाना कति खाने, के खाने, के नखाने भन्नेमा उनी त्यतिधेरै ख्याल राख्दिनन् । खराब खानेकुरा खानुहुन्न । उनी भन्छिन्, ‘मानसिकरुपले तन्दुरुस्त र बलियो हुनुपर्छ, खानेकुरा पच्छ ।’ मन र शरीर ठीक भए अरु सबै ठीक । उनी यसै भन्छिन् । यद्यपि जथाभावी खाने, जस्तोसुकै खाने गर्नुहुन्न । सही खानेकुरा खान डराउनैपर्दैन । अघाउन्ज्याल खाए हुन्छ ।

फलफूल खान्छिन्, झोलिलो खानेकुरा खन्छिन्, सागपात खान्छिन्, दिनमा करिब दुई लिटर पानी पिउँछिन् । मात्रै, यति भएपछि फिट एन्ड फाइन ।

जुरुक्कै उठ्ने बानी

बिहान घडीले ७ वा ८ बजेको संकेत गरिरहँदा साम्राज्ञीका आँखा खुल्छन् । आँखा खुल्नासाथ उनी झट्ट उठ्छिन् । होस्टलमा बस्दा लागेको बानी ।

साम्राज्ञी सानैदेखि होस्टलमा बसिन् । साथी

भाइले ‘साम्राज्ञी’ भनेर बोलाउनसाथ जुरुक्कै उठ्नुपर्ने । बानी त्यस्तै लाग्यो । त्यही बानीले अहिलेसम्म काम गरिरहेको छ ।

ओछ्यान छाडेर उनी सरासर बाथरुममा जान्छिन् । फ्रेस हुन्छिन् । त्यसपछि बेडरुमको ऐना अगाडि उभिएर ज्यान तन्काउन थाल्छिन् । व्यायाम गर्छिन् । फुर्सद हुँदो हो त उनी जिम पनि जाँदिहुन् । घरबाहिर निस्किएर दौडन्थिन् होला । तर, अहिले उनको दैनिकी चलचित्रको सेड्युलले बेफुर्सदिलो बनाइदिएको छ । त्यसैले घरमै हल्का व्यायाम गर्छिन् ।

व्यायाम गरिसकेपछि भान्सामा जान्छिन् । आफैँ नास्ता तयार गर्छिन् । नास्तामा जुस वा दूध, कर्नफ्लेक्स, फलफूल हुन्छ । कहिलेकाहीँ भटमास उसिनेर खान्छिन् । ‘बिहानको खानाचाहिँ हल्का मनपर्छ’ सम्राज्ञी भन्छिन् ।

त्यसपछि उनी आफ्ना म्यानेजर बाबुराम दाहाललाई फोन गर्छिन्, दिनभरको तालिका बुझ्न । उनले सुझाएको तालिकाअनुसार दिनचर्या सुरु हुन्छ ।

मेकअपमा आधा घण्टा

कतै जानु परेमा उनलाई तयार हुन आधा घण्टा लाग्छ । यत्तिका अवधिमा उनले लुगा लगाइसकेकी हुन्छिन्, मेकअप गरिसकेकी हुन्छिन् ।

मेकअप र ड्रेसअप चाहि कहाँ जाने, के गर्ने भन्ने कुरामा निर्भर रहन्छ । कहिले उनी परम्परागत पहिरनमा निस्कन्छिन् भने कहिले स्कर्टमा । कहिले जिन्समा त, कहिले कुर्तामा । ‘कहाँ जानुपर्ने, के कामले जानुपर्ने हो’ सम्राज्ञी भन्छिन्, ‘ड्रेसअप पनि त्यहीअनुसार गर्ने हो ।’

साम्राज्ञीलाई गहनामा त्यति सौख छैन । डायमन्डको रिङ र एयररिङ चाहिँ छुटाउँदिनन् । गहना लगाउने उमेर पनि त होइन । यो उमेरमा गरगहनाप्रतिको आशक्ति त्यति ठीक लाग्दैन । सुहाउँदैन पनि ।

गहनामा नभए पनि पहिरनमा भने उनको रुची छ । साथसाथै किनमेलमा पनि । साम्राज्ञीलाई धेरै रीस उठ्यो वा कुनै कुरामा खुसी लाग्यो भने किनमेलले उनको मन शान्त गराउँछ । साथसाथै मीठा-मीठा परिकारले पनि ।

सामान्य दिन हुँदो हो त उनी साँझ ६ बजे नै घर फर्किन्छिन् । घरमा पुगेपछि साथीभाइ बोलाउँछिन् । साथीभाइ भने सीमित छन् । तिनै साथीभाइसँग रमाइलो गर्छिन्, गेम खेलेर, टिभी हेरेर । तर, सधै यस्तो अनुकूलता जुर्दैन । कहिलेकाहीँ त रातभर बाहिरको बाहिरै । बिहान ६ बजे घर छाडेकी छोरी, अर्को बिहान ६ बजे मात्र घरको संघार टेक्न पुग्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment