Comments Add Comment

आज इन्दिरा एकादशी : व्रत बस्दा पितृले मुक्ति पाउने विश्वास

आज आश्विन कृष्ण पक्षको एकादशी अर्थात् इन्दिरा एकादशी मनाईन्छ । यसदिन पितृहरुको श्राद्ध समेत गर्ने गरिन्छ । यस दिन एकादशी व्रत बस्नेको पितृले मुक्ति पाउने विश्वास गरिन्छ । जुनसुकै एकादशीको व्रतले पनि मानिसको जगतको बन्धनबाट मुक्ति मिल्ने विश्वास छ । तर, एकमात्र यो यस्तो एकादशी हो जसमा व्रत बस्नाले दिवंगत पितृहरुले मोक्ष पाउँछन् भन्ने विश्वास छ । साथै पूरा हुन नसकेको भए पितृ ऋणबाट समेत मुक्ति पाउन सकिने धार्मिक विश्वास छ । इन्दिरा एकादशीका दिन विष्णुरुप शालिग्रामलाई पञ्चामृतले स्थान गराई पूजा गरी ब्रत बस्ने चलन रहेको छ । इन्दिरा एकादशीको ब्रत लिनाले समस्त पापहरुको नष्ट हुने विश्वासरहेको छ ।

इन्दिरा एकादशी व्रत विधि

यस व्रतमा आफ्नो खानपानमा विशेष ध्यान दिने गरिन्छ । अहिले पितृपक्ष चलिरहेको कारण यस दिन सकेसम्म लसुन प्याज, लसुन, आदिलाई भोजनमा सामेल गरिँदैन । दशमीको दिन स्नान गरेर एक समयमात्रै भोजन ग्रहण गरेर यस दिन भूमिमा नै विश्राम गर्ने गरिन्छ । एकादशीको दिन प्रातःकाल सूर्योदय भन्दा पहिले उठेर स्नान आदि गरी व्रतको संकल्प गर्ने गरिन्छ ।

त्यसपछि कुनैपनि योग्य ब्राह्मणद्वारा श्राद्ध क्रिया गर्ने गरिन्छ । त्यसपछि सूर्यलाई अर्घ दिएर भगवान् विष्णुको विधिवत् रुपमा पूजा गर्ने गरिन्छ । ब्राह्मणलाई सात्विक भोजन गराउनुपर्दछ । प्रत्येक एकादशीमा दान पुण्य गर्नु एकदमै शुभ मान्ने गरिन्छ । यसको लागि गरिबहरुलाई दान दिनु उपयुक्त मान्ने गरिन्छ । प्रातः कालको पूजापछि दिनभर व्रत बसी भगवानको ध्यान गर्ने गरिन्छ । साथै कुनैपनि कारणबाट क्रोध, लोभ, मोह इत्यादि गर्नुहुँदैन । त्यसपछि साध्य पूजन गरेर फलाहार ग्रहण गर्नुपर्दछ ।

इन्दिरा एकादशी सम्बन्धी कथा     

एक राज्यमा इन्द्रसेन नामक एक राजा थिए । उनको राज्यमा हर प्रकारको सुख थियो । उनी आफैं पनि अत्यन्त धर्मी स्वभावका थिए । उनी समय समयमा कुनै न कुनै दान धर्म सम्बन्धी काम गरिनै रहने गर्दथे । एकदिन उनको राज्यमा नारद जी भ्रमण गर्दै पुगे । राजाले उनको उचित रुपमा आदर सत्कार गरे । जसका कारण नारद जी अत्यन्त प्रसन्न भएर राजासँग सोधे ‘‘यस राज्यमा सबैकुरा मंगल छ ?’’

राजाले भने , ‘अवश्य मुनीवर, यहाँहरुकै कृपाले सबै कुशलै छौं ।’

नारदले भने,  ‘‘तर यति हुँदा हुँदै पनि यमलोकमा तपाईंको पिताले किन यति धेरै कष्ट पाउँदै हुनुहुन्छ ?’

यो सुनेर राजा व्यथित भए । उनले नारद जीसँग प्रार्थना गर्दै आफ्नो पितालाई सन्तुष्ट गराउने उपाय सोधे ।

नारद जीले आफ्नो दिव्य दृष्टिले हेर्दा ती राजाको पिताको एउटा एकादशी व्रत खण्डित भएको बताए । त्यसकारण उनले मोक्ष प्राप्त गर्न नसकेको सुनाए । उनले राजालाई आश्विन महिनाको कृष्ण पक्षको एकादशीमा व्रत गर्नको लागि सुझाव दिए । जसका कारण उनको पिताले यमलोकमा मुक्ति पाउन सक्ने बताए ।

नारदले भनेजस्तै आश्विन कृष्ण पक्षको एकादशीमा व्रत र श्राद्ध गरेपछि ती राजाको पिताले यमलोकमा मुक्ति पाएको कथा प्रचलनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment