 
																			८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा नेपालमा विद्युतको उच्च माग १ हजार ६ सय मेगावाट हुने अनुमान थियो । तर, १ हजार ३ सय २० मेगावाटमा सीमीत भयो । यसको मुख्य कारण थियो, पिक डिमान्ड (साँझ–बिहानको विद्युत माग) घट्नु ।
नेपालको विद्युत आपूर्तिमा सबैभन्दा चुनौती भनेकै पिक डिमान्डको व्यवस्थापन हो । बिहान र बेलुकीको समय नेपालको विद्युत प्रणालीमा उच्च भार पर्ने गर्छ । अझ, हिउँदमा त एसी र हिटर लगायतका उच्च विजुली खपत गर्ने यन्त्र तथा उपकरणहरु पनि चल्ने भएकाले माग उत्कर्षमा पुग्छ । तर, विजुलीको आपूर्ति र खपत दुबै बढिरहँदा उच्च माग घट्नुलाई अनौठो संयोगका रुपमा हेरिएको छ ।
हिउँदमा नेपालका खोलानालाको सतह घटेर उत्पादन न्युन भएको हुन्छ । यो समयमा आपूर्ति थेग्न भारतीय विजुली आयात गर्नुपर्ने वाध्यतामा छ प्राधिकरण । गत वर्ष प्रक्षेपणअनुसार १६ सय मेगावाटको माग भएको भए प्राधिरकणलाई आपूर्ति थेग्न आच्छुआच्छु पर्ने थियो । प्राधिरकणले एक वर्षमा प्रक्षेपित भन्दा करिब ३०० सय मेगावाट कम विद्युत व्यवस्थापन गर्नुपरेको छ ।
प्राधिकरणले अहिले विद्युत खपत बढाउन प्रोत्साहन गरिरहेको छ । अघिल्लो आवमा खपत दर ६८ किलोवाट प्रतिघण्टाका दरले बढेको थियो । १ सय ७७ किलोवाट घण्टा मात्र रहेको विद्युत खपत दर गत वर्ष सकिँदासम्म २४५ किलोवाट घण्टा पुगेको छ । सरकारले त्यसलाई आगामी साउनसम्म ४२६ किलोवाट घण्टा पुर्याउने लक्ष्य पनि लिएको छ । यसका लागि यो वर्षको उच्च मागदरको कटौतीले पनि सरकारलाई उत्साहित बनाएको छ ।
विद्युत खपत दर बढ्दा उच्च मागको व्यवस्थापन कसरी सम्भव भयो त ? प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ सबै क्षेत्रमा पूर्ण रुपमा लोडसेडिङ हटाएका कारण यो सम्भव देखिएको बताउँछन् ।
‘२०७४ सम्म उद्योगमा ४ घण्टा लोडसेडिङ थियो, त्यो समयको १५ सय मेगावाटको उच्च माग देखिन्थ्यो,’ उनले भने, ‘उद्योगको पनि लोडसेडिङ हटाइदिएपछि त्यो तथ्यांक अब पूर्णरुपमा प्रयोगमा आधारित भएको छ ।’
विद्युत खपत गर्ने उपभोक्ताको फेरिएको आनीबानीका कारण उच्च माग घटाउन सम्भव भएको उनले बताए । बत्ती जाँदैन भन्ने आत्मविश्वास बढेपछि कुनै पनि उपभोक्ताले विजुली प्रयोगको सेड्युल नबनाउँदा उच्च माग हुने समयमा पनि प्रणालीमा चाप घट्न पुगेको घिसिङको विश्लेषण छ ।
‘कोही उपभोक्तालाई तालिका हेरेर लाइनमा केही उपकरण जोड्नु पर्ने छैन, त्यसो भएपछि आफूलाई पायक पर्ने समयमा काम गरिन्छ,’ उनले भने, ‘हिजो लोडसेडिङ भएको समयमा लाइन आउनासाथै हतार–हतार उपकरणहरु लाइनमा जोडिन्थ्यो, त्यसले गर्दा मागको दर पनि आपूर्ति भन्दा धेरै बढी हुन पुग्थ्यो ।’
यसैगरी सिस्टमबाट इन्भर्टर हट्दा पनि प्रणालीमा उच्च माग व्यवस्थापन भएको प्राधिकरणको निश्कर्ष छ । विगतमा इन्भर्टरबाट मात्रै ४ सय मेगावाट मेगावाटभन्दा माग वृद्धि भएको घिसिङ बताउँछन् ।
‘लाइन आउनासाथ सबैतिर इन्भर्टर चार्ज गर्न सुरु हुन्थ्यो, आएको बेला नियमित प्रयोगमा पनि विजुली प्रयोग भएकै हुन्थ्यो, तर अब नियमित प्रयोगबाहेक सिस्टममा थप लोड छैन,’ उनले भने, ‘पछिल्लो सयममा लिड बल्बसहित ऊर्जा दक्षता बढाउने उपकरणको प्रयोगमा उपभोक्ताको ध्यान गएको छ । यसले पनि साँझ–विहान हुने उच्च मागदर घटेको छ ।’
प्राधिकरणका अनुसार ‘पिक आवर’मा माग घटे पनि अन्य समयमा विजुलीको प्रयोग बाँडिन पुगेको छ । त्यसले गर्दा विजुलीको खपत दर पनि बढ्न पुगेको छ । विद्युत चुहावट दर नियन्त्रण गर्दा पनि उच्च माग व्यवस्थापनमा सहयोग पुगेको घिसिङले बताए ।
‘चाहेजति विजुली खपत गर्न सकिने अवस्था आउनुमा उपभोक्ताले परिवर्तन गरेको विजुली प्रयोगको शैली र आनीबानी प्रमुख कारण हो,’ घिसिङ भन्छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4