Comments Add Comment

राष्ट्र बैंकमा भएन भीड, १५ मिनेटमै साटियाे नयाँ नोट

१० असोज, काठमाडौं । दशैंका लागि नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । काठमाडौंसँगै देशका विभिन्न स्थानमा सटही सेवा उपलब्ध गरिएका छन् ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सटही सुविधा असोज १० देखि १७ गतेसम्म उपलब्ध हुने जानकारी दिए । शुक्रबार दिउँसो काउन्टर बन्द गर्ने बेलासम्म ८ सय ५७ जनाले मात्रै नयाँ नोट सटही गरेको राष्ट्र बैंकले जनाएको छ ।

निरौलाका अनुसार उपत्यकाभित्र विभिन्न बैंकमार्फत ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । उपत्यका बाहिर भने राष्ट्र बैंकका कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराइन्छ ।

राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो । यसपटक मुद्रा व्यवस्थापन विभाग नै बालुवाटारमा सरेकाले यहीँबाट सटही गरिएको छ ।

शुक्रबार बालुवाटार पुग्दा विगतका वर्षहरुमा भन्दा फरक अवस्था देखियो । विगतका वर्षहरुमा सर्वसाधारण विहान उज्यालो हुन नपाउँदै नोट सटहीका लागि लाइन लाग्न पुग्थे । ६ घण्टासम्म लाइन लाग्नुपर्ने स्थिति थियो । तर यसपटक भने खासै चाप छैन । ढिला पुगेकाहरु पनि बढीमा १५ मिनेटमै नयाँ नोट बोकेर फर्किएका छन् । उनीहरुले यस वर्ष सहजै नयाँ नोट पाइएको भन्दै खुशी व्यक्त गरे ।

ललितपुरको कुसुन्तीबाट आएका दीर्घराज लामिछानेले बालुवाटार आइपुग्दा सोचेभन्दा फरक अवस्था पाएको बताए ।

‘आज आउन धेरै ढिला भएको थियो, पहिले थापाथलीबाट पाइने भएकाले यसपाली म झुक्किएँ,’ उनले भने, ‘अब दिनभर लाइन बस्नुपर्छ होला भन्ने मुड बनाएर आएको थिएँ, तर १५ मिनेट पनि बस्नुपरेन ।’

भक्तपुरबाट नोट सटहीका लागि बालुवाटार पुगेकी सावित्री भट्टराईलेले पनि आफूले तत्कालै नोट पाएको सुनाइन् ।

‘टोकन लिँदासम्म धेरैबेर लाइन बस्नु पर्छ कि भन्ने लागेको थियो,’ उनले भनिन्, ‘तर १५ मिनेट पनि लाइन लाग्नु परेन, पालो आइहाल्यो ।’

संखुवासभा घर भई काठमाडौंको असन बस्दै आएकी सुनिता गड्तौलाले पनि विगतका वर्षहरुको तुलतामा यसपाली धेरै सहज भएको सुनाईन् । सधै यत्तिकै सहज हुने हो भने नोट सटहीका लागि छुट्टै समय छुट्याउन नपर्ने उनको भनाइ छ ।

ज्येष्ठ नागरिक र अपांगले लाइन बस्न नपर्ने

नयाँ नोट सटही गर्न अशक्त, ज्येष्ठ नागरिकदेखि दृष्टिविहीन अपांगहरु समेत आएका थिए । राष्ट्र बैंकले अशक्तहरुका लागि लाइन बस्न नपर्ने व्यवस्था गराएको छ ।

नोट सटही काउन्टर अगाडी राखिएका कुर्सीहरुमा केहि ज्येष्ठ नागरिकहरु गफिदै थिए । कुर्सीमा उपरखुट्टि लगाएर बसेका एक बृद्धसँग सोध्यौं, ‘नोट साट्न आउनु भएको ?’

उनले हाँस्दै जवाफ फर्काए, ‘नोट साट्न आएको, तर लाइन बस्नु नपरेपछि गफ गर्ने मौका पाइयो ।’ एक मिनेट पनि आफूहरुले लाइनमा उभिन नपरेको भन्दै उनीहरुले खुशी व्यक्त गरे ।

बालाजुबाट आएका भोजप्रसाद दाहालले आफ्नो पुरानो अनुभव पनि सुनाए ।

‘म विगतमा ४ बजे राति नै आएर लाइन बसेको छु, त्यसबेला नयाँ नोट साट्न पाउँदा के–के न पाइयो भन्दै खुसी हुनुपर्ने अवस्था थियो,’ उनले भने, ‘यसपाली त खासै भिड छैन । अझ हामीलाई त कुसी पनि राखिदिएको रहेछ ।’

ज्येष्ठ नागरिकसँगै अपांग तथा काखे नानी बोकेर आउनेहरुलाई पनि राष्ट्र बैंकले लाइन लाग्न नपर्ने व्यवस्था गरेको छ ।

कहाँ कहाँ सटही ?

राष्ट्र बैंकले यस वर्ष नयाँ नोट सटही निकै सहज बनाइएको बताएको छ । उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्छन् ।

राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट पनि कार्यालयले आजैदेखि सेवाग्राहीलाई नयाँ नोट बाँड्न थालेका छन् ।

राष्ट्र बैंकका अनुसार, कृषि विकास बैंकले उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट वितरण गरिरहेको छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैंकले सुझाएको छ ।

राष्ट्र बैंकले यसका अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराएको छ । राष्ट्र बैंकका अनुसार आफ्ना खाता भएका वित्तीय संस्थाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्नेछन् ।

यसका साथै राष्ट्र बैंकले काठमाडौं उपत्यकासँगै अन्य जिल्लामा पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । यद्यपि, उपत्यकाको तुलनामा बाहिर निकै कम स्थानबाट रकम सटही गर्न सकिन्छ ।

राष्ट्र बैंकका अनुसार, उसका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुन्छ ।

आइतबारदेखि भने भीड बढ्न सक्ने प्रवक्ता निरौलाको अनुमान छ । ‘आज पहिलो दिन, त्यसमा पनि शुक्रबार भएकाले भिड कम भएको हुनसक्छ, आइतबार यो संख्या बढ्छ,’ विभागीय प्रमुख निरौलाले भने ।

जेल जानुहोला, होसियार रहनुस्

राष्ट्र बैंकले यस वर्ष नोट सटहीको सीमा घटाएको छ । अघिल्लो वर्ष प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गरेको राष्ट्र बैंकले यस वर्ष १८ हजार ५ सय रुपैयाँका दरले मात्रै साटिने बताएको छ ।

नयाँ नोट वितरण गर्ने योजना क्रमिक रुपमा घटाउदै जाने राष्ट्र बैंकको योजना छ । दशैंमा नयाँ नोट वितरण गर्दा नोटको सुरक्षा नहुने भएका कारण राष्ट्र बैंकले यस्तो योजना बनाएको हो ।

राष्ट्र बैंकका प्रवक्ता समेत रहेका विभागीय प्रमुख निरौलाले नोटमा केरमेट गरे वा क्षति पुर्‍याए ३ वर्षसम्म जेल जान सक्ने व्यवस्था रहेको भन्दै यसतर्फ सचेत रहन समेत आग्रह गरेका छन् ।

‘म सबैलाई आग्रह गर्न चाहान्छु, नोटको जतन गरौं, केरमेट गरे ३ महिना र जानीजानी नोटलाई नोक्सान पु¥याए ३ वर्षसम्म जेल जाने यहाँ लेखिएको छ’ देवानी संहिता देखाउदै उनले भने, ‘यसतर्फ सचेत रहन समैलाई आग्रह गर्छु ।’

उनले विशेष गरेर विद्यार्थीहरुले यस विषयमा ध्यान दिनु पर्ने बताएका छन् । कसैले जानीजानी नोटमा नोक्सानी पुर्याएको देखे नजिकैको प्रहरीलाई खबर गरिदिन समेत प्रवक्ता निरौलाले आग्रह गरेका छन् ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment