२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि दशैंका लागि नयाँ नोट सटही सुविधा खुल्ला गरेको छ । नोट साट्न बिहानैदेखि ठूलो संख्यामा सर्वसाधारण लाइन लागेका छन् ।
यस वर्ष ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । प्रत्येक व्यक्तिले २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् ।
बिहान ६ बजेभन्दा पहिले लाइन बसेकाहरुले साढे १० बजे सम्म सटही सुविधा पाए । त्योभन्दा पछाडि आएकाहरु लाइनमै देखिन्थे ।
३ बजेदेखि लाइन
राष्ट्र बैंकको बैंकिङ कार्यालयमा थापाथलीमा बिहान ३ बजदेखि नै सर्वसाधारण लाइनमा बस्न थालिसकेका थिए । यद्यपि, १० बजे कार्यालय खुलेपछि मात्रै नयाँ नोट वितरण शुरु भयो । राष्ट्र बैंकले विगतका वर्षहरु भन्दा यस वर्ष सहज तरिकाले सहटी सुविधा दिने बताउँदै आएको थियो ।
सोलुखुम्बु स्थायी घर भएका होम कार्कीले आफू बिहान ३ बजे नै नयाँ नोटका लागि लाइन बस्न आएको सुनाए । स्वास्थोपचारका लागि काठमाडौं आएका उनी आजै घर फर्किनुपर्ने भएकाले राति नै लाइन बस्न आएका हुन् । उनले भने, ‘आजदेखि नोट सटही हुने भनेर थाहा पाएँ, ढिलो जाँदा दिनभर लाइन बस्नु पर्ला भनेर बिहानै आएको ।’ कार्की १० बजेर १५ मिनेटमा नयाँ नोट साटेर खुशी हुँदै फर्किए ।
यसपालि नयाँ नोटको सटही विगतको भन्दा सहज बनाएको राष्ट्र बैंकले दाबी गरेको छ । तर, सर्वसाधारणले भने सास्ती कम नभएको बताएका छन् ।
काभ्रेबाट आएका प्रेम स्याङताङ भने निकै आक्रोशित देखिन्थे । राष्ट्र बैंकले बिहानैदेखि नोट सटही सुविधा दिनुपर्ने उनको भनाइ थियो । ‘म बिहान साढे ६ बजेदेखि लाइनमा आएर बसेको छु, खै सहजता बनाएको ? अहिलेसम्म लाइनमै बस्नुपरेको छ,’ उनले भने ।
लाइनमा भेटिएका गमबहादुर गुरुङ र सन्तबहादुर गुरुङ दुबै जना विगतका केही वर्षहरुदेखि नोट सटहीका लागि राष्ट्र बैंक आउने गरेका रहेछन् । विगतको भन्दा सहज भएको दाबी भने निराधार रहेको गमबहादुरले बताए । उनले भने, ‘म धेरै वर्षदेखि नोट सहटीका लागि यहाँ आउने गरेको छु, यसपालि पनि उस्तै सास्ती छ ।’
यद्यपि, विगतको भन्दा व्यवस्थित लाइन भएको र पिउने पानीको सुविधासमेत थपिएकोमा उनी खुशी छन् ।
विगतको भन्दा सहजः राष्ट्र बैंक
राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं बैंकिङ कार्यालय थापाथलीका प्रमुख लक्ष्मी प्रपन्न निरौला आफै लाइनमा घुमीघुमी अनुगमन गरिरहेका थिए । उनी अपांग, अशक्त तथा ज्येष्ठ नागरिकहरु लाइनमा बसेका छन् कि छैनन्, सास्ती पाएका छन् कि छैनन् भनेर ध्यान दिइरहेका रहेछन् । विगतको भन्दा नोट सटहीका लागि धेरै सहज बनाएको उनको दाबी छ ।
‘अशक्त तथा ज्येष्ठ नागरिक बुवाआमाहरुलाई सास्ती नहोस भन्ने हामीले चाहेका छौं, त्यही भएर म आफै लाइनमा हेरिरहेको छु,’ निरौलाले अनलाइनखबरसँग भने ।
२९ गतेसम्म पाइने
सर्वसाधारणले नयाँ नोट २९ गतेसम्म साट्न पाउने हुँदा आजै आत्तिन नपर्ने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताउँछन् । उनका अनुसार ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २/२ प्याकेट र १ सय रुपैयाँ दरको एक प्याकेट गरी प्रतिव्यक्ति जम्मा २७ हजार रुपैयाँसम्म सटही सुविधा राष्ट्र बैंकले दिनेछ ।
राष्ट्र बैंकले आफ्ना क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट समेत सर्वसाधारणले सटही सुविधा पाउने बताएको छ । राष्ट्र बैंकका अनुसार नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा हुनेछ भने राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्यकाभित्र रहेका शाखाहरुबाट समेत सर्वसाधारणले नयाँ नोट सटही गर्न पाउनेछन् ।
अशक्त तथा अपांगलाई सहज
नयाँ नोट सटही गर्न अशक्त, ज्येष्ठ नागरिकदेखि दृष्टिविहीन अपांगहरु समेत आएका थिए । राष्ट्र बैंकले अशक्तहरुका लागि लाइन बस्न नपर्ने व्यवस्था गराएको रहेछ ।
होचा पुड्का संघका केन्द्रीय सदस्य बलबहादुर माझीले पनि नोट साट्नका लागि लाइन बस्नु परेन । पुड्को भएको कारण राष्ट्र बैंकका सुरक्षा गार्डले लाइन नबस्नु पर्ने सुझाएपछि आफूले लाइन नबसी नयाँ नोट लिएर आएको उनले बताए ।
नयाँ नोट साट्नका लागि ४ जना दृष्टिविहीन अपांगहरुको समूह राष्ट्र बैंक प्रवेश गर्दै थिए । दृष्टिविहीनहरु डम्बरबहादुर कार्की, रेक मग्रांती, रामबहादुर खपांगी र उषा कार्की चारै जना लाइन बस्नु परेन ।
भीडमा काखमा सानो बच्चा बोकेकी रमा बास्तोला पनि देखिइन् । राष्ट्र बैंकको बैंकिङ कार्यालय प्रवेश गरेको केहिबेरमै रमाले नयाँ नोट हातमा लिएर बच्चा बोकेर निस्किइन् ।
लाइन नै नबसी नयाँ नोट लिएर आएकी रमाले अनलाइनखबरलाई प्रतिक्रिया दिँदै भनिन्, ‘बच्चा लिएर आएकी थिएँ, जेहाेस लाइन नबसी नोट साट्न पाएकोमा धेरै खुसी लागेको छ ।’
ललितपुरको सानेपा घर भएका ८७ वर्षीय भेखलाल सुवाल पनि हातमा नयाँ नोट देखाउँदै निस्किए । उनी पनि निकै खुसी देखिन्थे, किनकी ज्येष्ठ नागरिक भएका कारण उनले पनि लाइन नै नबसी नयाँ नोट साट्न पाएका थिए ।
हेर्नुस् चन्द्र अालेले कैद गरेका थप तस्वीरहरू ः
प्रतिक्रिया 4