+
+

नोट केरमेट गरे जेल जानुपर्ला, यसरी गर्नुस् जतन

रोयल आचार्य रोयल आचार्य
२०७६ असोज १० गते १३:५८

१० असोज काठमाडौं । दशैं नजिकिएसँगै नेपालीहरुको घर-परिवारमा नयाँ नोटको खोजी सुरु हुन्छ । दशैंमा टीका लगाएर नयाँ नोटको दक्षिणा दिने चलन निकै पुरानो भइसक्यो ।

यही प्रचलनलाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निस्काशन गर्छ । यसपालीको दशैंलाई आजैबाट नयाँ नोट वितरण सुरु गरिएको छ । धेरै व्यक्तिहरु बिहानैदेखि नयाँ नोटका लागि लाइन लागिरहेका छन् ।

मूल्यका हिसाबले पुरानो र नयाँ नोट एउटै हो । तर, पुरानो नोट आदानप्रदान गर्दा दशैंको आभास नै आउँदैन । त्यसैले नयाँ नोट यतिबेला ‘चिज’ बन्छ । तर, नयाँ नोटलाई राम्ररी हिफाजत नगर्दा पुरानो देखिन समय पनि लाग्दैन ।

दशैंमा पुजामा प्रयोग गरिने, पानीमा चोबलिने, अविर लगाउने जस्ता कार्यले नोटको आयु कम हुन्छ । नोट छिटो बिगि्रए छिटो-छिटो छपाउनु पर्ने हुन्छ र त्यसका लागि राष्ट्र बैंकले ठूलो धनराशी खर्च गर्नु पर्छ । त्यसैले नयाँ नोटको हिफाजतका लागि राष्ट्र बैंकले बारम्बार आग्रह गर्ने गरेको छ ।

आमरुपमा ठूला नोटको तुलनामा साना नोटलाई बेवास्ता गरिन्छ । त्यसैले साना नोट चाँडै च्यातिने गरेको राष्ट्र बैंकको विगतको तथ्यांकहरुले देखाउँछन् । हजार र पाँच सयका नोट बढी जतन हुने भएकाले तिनको आयु तुलनात्मकरुपमा बढी हुने गरेको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकको एक सर्वेक्षणले देखाएअनुसार ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्छन् । जबकि नोटको गुणस्तरमा खासै फरक हुँदेन । हजार र पाँच सय नोटको तुलनामा पाँच, दस, बीस, पचास, सयका नोट छिटो काम नलाग्ने अवस्थामा पुगेको राष्ट्र बैंक बताउछ ।

यसपलाी पनि राष्ट्र बैंकले सर्वसाधारणलाई दशैँमा वितरण गरेका नयाँ नोट जतन गरेर चलाउन आग्रह गरेको छ । वर्षेनी नयाँ नोट निष्काशन गरेपनि छिट्टै पुराना भइहाल्ने समस्या दर्शाउँदै राष्ट्र बैंकले नयाँ नोट जतन गर्न आग्रह गरेको हो ।

राष्ट्र बैंकले नयाँ नोटलाई दशैँ तिहारमा रङ र पानीबाट बचाउनसमेत आग्रह गरेको छ । मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला नयाँ नोटमा अविर लगाउन नहुने बताउछन् ।

‘अविर लगाउँदा नोटको आयु कम हुने भएका कारण बोरुमा खाममा हालेर दक्षिणा दिनु उपयूक्त हुँदो रहेछ,’ उनले बताए ।

हिन्दु धर्ममा पहिले धातु मुद्राहरु पुजा पाठमा प्रयोग हुने गरेको स्मरण गर्दै निरौलाले अहिले पनि धातु मुद्राहरु प्रयोग भए नोटको क्षति नहुने बताए । नोटको जतन गर्न खासगरी हिन्दु धर्मावम्बीहरुले ध्यान दिनुपर्ने भन्दै केहि दिन अगाडि पञ्चायक निर्यायक समितिका पदाधिकारीहरुसँग पनि छलफल गरेका थिए ।

समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले नोटको आयु बढाउने कुरामा समितिको सहयोग हुने बताए । यसका लागि राष्ट्र बैंकले स्पष्ट योजना ल्याउनु पर्नेमा उनको जोड छ ।

‘राष्ट्र बैंक पनि सरकारकै एउटा स्वायत्त निकाय हो हामी सरकारकै एउटा समिति हौं, यसकारण राष्ट्र बैंकको योजना हामी स्वीकार्छौं’ उनले भने, ‘यसका लागि कडा कानुनको आवश्यक छ, राष्ट्र बैंकले पुराना नोट सटहीमा पनि कडाइ गर्नु पर्छ ।’

दान दक्षिणामा धातुको पैसा प्रयोग गर्नुपर्नेमा पञ्चाङ्ग निर्णायक समितिले पनि समर्थन गरेको छ । यसलाई रोक्न सर्वप्रथम जनचेतनामूलक कार्यक्रम गर्न समितिले राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

केरमेट गरे जेल सजाय

नयाँ नोटमा केरमेट वा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले समय-समयमा अनुरोध गर्दै आएको छ । अहिले त कानूनमै पनि नोटमा केरमेट गरे कडा कानूनको व्यवस्था समेत छ ।

एक वर्ष अघिदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन को दफा २६३ मा नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानी-नोक्सानी पुर्‍याएमा ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले अनुरोध समेत गरेको छ ।

कसरी गर्ने जतन ?

१. अविर नलगाउने

२. नोटमा केरमेट नगर्ने

३. पानीमा नभिजाउने

४. नोटलाई खुम्चन नदिने

५. दक्षिणा दिदा खाममा राखेर दिने

६. नोटलाई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो, पानी इत्यादिबाट जोगाउने

७. नोटलाई कच्याककुच्चुक नपार्ने, पोको नपार्ने र जमीनमा गाड्ने काम नगर्ने ।

८. नोटको हिफाजत गर्ने कुरा आफूले पनि बुझ्ने र अरुलाई बुझाउने ।

९. पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरुले सकेसम्म नोट नछुने ।

१०. आफूलाई आवश्यक पर्ने भन्दा बढी नोट बैंकमा जम्मा गर्ने बानी बसाल्ने ।

११. बैंकमा चेक तथा एटिएम कार्डहरु प्रयोग गरी नगद कारोबार कम गर्ने बानी बसालौं ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?