+

क्रिकेट संघको चुनाव : नेतृत्वमा आउन चन्द र पाण्डेको दौडधुप

२०७६ असोज  १० गते २०:१५ २०७६ असोज १० गते २०:१५
क्रिकेट संघको चुनाव : नेतृत्वमा आउन चन्द र पाण्डेको दौडधुप

१० असोज, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले निलम्बनसँगै नेपाली क्रिकेटको साढे तीन वर्ष औपचारिक प्रतियोगिताहरुमा मात्र सीमित भयो । यो अवधिमा नै नेपालले एकदिवसीय मान्यता पाएपनि घरेलु संरचना, पूर्वाधार निर्माण लगायतमा कुनै फड्का मार्न सकेन ।

लामो विवाद र बहसपछि अहिले निम्बलन फुकुवाको संघारमा आइपुगेको छ । शुक्रबारदेखि सुरु भएको विशेष साधारणसभाले नयाँ नेतृत्व चयन गरेसँगै निलम्बन फुकुवाको बाटो खुला हुनेछ ।

तर क्यानको नेतृत्वमा आउन चाहनेहरु यो अधिवेशन पनि को अध्यक्ष हुने, को महासचिव हुने दौडधुपमा नै रमाएका छन् । शुक्रबार उद्घाटन समारोहमा पनि त्यस्तै माहोल देखिएको छ ।

उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले सबैलाई मिलेर जान र सहमतिका आधारमा नयाँ नेतृत्व चयर्न आग्रह गरे पनि त्यसो हुने सम्भावना कम छ ।

क्रिकेट संघको अध्यक्षमा विनयराज पाण्डे र चतुरबहादुर चन्दले उम्मेदवारी दिने तयारी गरेका छन् ।

पाण्डेले महासचिव र अध्यक्षका रुपमा ४० वर्षभन्दा बढी क्रिकेट संघमा विताइसकेका छन् । उनी आफूले बाहेक अरुले क्रिकेट संघलाई सही ट्र्याकमा ल्याउन नसक्ने भएकाले अध्यक्ष उठ्न लागेको बताउँछन् ।

चन्द तत्कालीन निर्वाचित क्यानका अध्यक्ष हुन् । अघिल्लो कार्यकालमा काम गर्न नपाएकाले यो पटक फेरि उठ्न लागेको उनको तर्क छ ।

सहमतिमा नेतृत्व चुन्न सकिन्न भन्ने प्रश्नमा चन्दले भने, ‘अध्यक्ष पदमा निर्वाचित भइसकेको मान्छे, उपाध्यक्षमा बस्न नैतिकताले दिन्छ ?’ आफूले पाण्डेलाई संरक्षकको भूमिकामा बसिदिन आग्रह गरेको भन्दै उनी भन्छन्, ‘विनय दाइलाई मैले तपाईं प्रमुख संरक्षक हुनुस्, म अध्यक्ष हुन्छ भनेँ तर, उहाँ मान्नुभएन । उहाँको भनाइ छ कि म क्रिकेटबाटै भाग्नुपर्‍यो ।’

पाण्डे भने आफू संरक्षक भएर बस्न तयार भए पनि चन्द पक्षले सक्षम व्यक्तिलाई क्रिकेटमा ल्याउन नखोजेको बताए । ‘उहाँको एउटै मात्र कुरा छ कि म अध्यक्ष भइसकेको मान्छे कसरी उपाध्यक्ष बनूँ । ल त्यसो भए ठिक छ तपाई अध्यक्ष नै बन्नुहोस् तर मलाई विश्वास दिलाउनुहोस् कि मेरो टिम ठिक छ भनेर’, पाण्डेले भने, ‘जुन टिमले नेपाली क्रिकेटलाई प्रतिबन्धमा पुर्‍यायो । त्यहि टिमले फेरि म क्रिकेटको नयाँ घर बनाउँछु भन्दा म त कसरी विश्वास गरौं ?’

चन्द समूह क्रिकेटको विकास गर्नभन्दा आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न संघमा आउने खोजेको उनको आरोप छ । उनले भने, ‘यो टिमले क्रिकेटलाई विकास गर्न सक्दैन । त्यो क्षमता देखिँदैन । क्रिकेटको ‘क’ नजान्ने मान्छे नेतृत्वमा आयो भने के हुन्छ ? त्यसैले पनि म लड्दैछु ।’

जुंगाको लडाईं नहोस्

शनिबार हुने क्यानको निर्वाचनमा ३९ जिल्ला र सात प्रदेशका २० प्रतिनिधी गरी कुल ५९ प्रतिनिधिले क्यानको १७ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

नयाँ नेतृत्व चुन्न आएका मध्ये एक हुन् गण्डकी प्रदेशका प्रतिनिधि ऋषिराम गौत्तम । उनले जे सोचर क्यानको निर्वाचनमा आएको थियो, त्यो भन्दा फरक पाएको उनले सुनाए । भन्छन्, ‘यहाँ जे नहुनु पर्ने थियो त्यो हुँदैछ । क्रिकेटलाई छातीमा राखेर मिलेर जानु पर्ने हो तर, त्यस्तो देखिएन ।’

चन्द पक्षमा उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशनकुमार सिंह उम्मेदवार बन्दैछन् ।

पाण्डे प्यानलका उपाध्यक्षमा मिङ्मा डण्डु शेर्पा, सचिवमा विनोद मैनाली र कोषाध्यक्षमा उपेन्द्र भट्टराई उठ्ने तयारी छ ।

‘क्रिकेटमा व्यक्तिगत स्वार्थ र अहमता हुनुहुँदैन । क्रिकेट र खेलाडी सबैलाई समेटेर जाने नेतृत्व आउनु पर्छ’ गण्डकी प्रदेशका प्रतिनिधि गौत्तमले भन्छटन्, ‘नेतृत्व प्रभावशाली हुनुपर्छ र सबैलाई समान व्यवहार गर्नुपर्छ ।’

तनहूँका प्रतिनिधि सुदीप शर्मा पनि गौतमको भनाइमा सहमत छन् । उनले भने, ‘क्यान नेतृत्वमा जो आए पनि अब व्यक्तिगत स्वार्थ हुनु हुँदैन । अब पनि विवादमै फसिरहने हो भने यो भन्दा ठूलो क्षति पुग्नसक्छ ।’

राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका बारा प्रतिनिधि पवन अग्रवाल भन्छन्, ‘अब जो नेतृत्वमा आए पनि पहिलेको जस्तो आफु खुशी चल्न सक्दैन । आईसीसीको प्रत्यक्ष निगरानी हुनेछ ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय