Comments Add Comment

जटायु रेस्टुरेन्टमा लोपोन्मुख गिद्धहरूको ‘दशैँ’ (फोटो फिचर)

१३ असोज, नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने पिठौली गाउँमा एउटा चौर बनाइएको छ । चौरलाई घेरेका अग्ला-अग्ला रुखमा विभिन्न प्रजातिका करिब १५० लोपोन्मुख गिद्धहरू आगन्तुकहरूको निगरानी गर्दै बसिरहेका छन् । उनीहरू कहिले एउटा हाँगो समाउछन् त काहिले अर्को रूखतिर हानिन्छन् । एकै छिनमा सबैको ध्यान भुँइतिर केन्द्रित हुन्छ । नहोस् पनि किन ? रेस्टुरेन्टमा खाना पस्किइएको छ । प्रकृतिका सर्वोत्तम कुचिकार मानिएका गिद्धहरूलाई आज मरेको गाई खुवाउने दिन हो ।

चौरबाट अलि पररहेको एउटा छाप्रोमा करिब आधा दर्जन पर्यटक, विश्वविद्यालयका विद्यार्थी र स्थानीय सोधकर्तहरू दूरविनको सहायताले गिद्धहरूलाई हेर्दैछन् । ‘हामीले उनीहरूलाई डाइक्लोफेन्याक मुक्त खाना दिन्छौँ जुन उनीहरूका लागि निकै सुरक्षित छ,’ पिठौलीस्थित जटायु रेस्टुरेन्टमा कार्यरत पन्छी संरक्षण संघका प्राणीशास्त्री अङ्कित विलाश जोशी भन्छन् ।

तर पिठौली र आसपास मात्रै नभएर नेपालभरका गिद्धहरूका लागि सुरक्षित खाना अहिले जस्तो सहज सधैँ थिएन । विसं २०५० तिर दक्षिण एसियामै असुरक्षित खाना खाएर हजारौँको संख्यामा गिद्धहरू मरे । गाई वस्तुको दुखाइ कम गर्न दिइने डाइक्लोफेन्याक नाम गरेको औषधि गिद्धहरूका लागि विष समान मानिन्छ ।

‘पहिले पहिले गाउँधरमा गाईवस्तु मर्दा उनीहरूलाई खोला नजिकै लगेर फ्याँकिन्थ्यो अनि गिद्धहरूले आएर सिनो खान्थे’, चरा विज्ञ हेम सागर बराल भन्छन् । ‘उनीहरूले चाहे जति खानेकुरा पाउँथे’। तर डाइक्लोफेन्याकले सबै बदलिदियो । डाइक्लोफेन्याक खाएका गाईवस्तुको शरीरमा यो औषधि करिब १ हप्ता जति रहन्छ । यस्ता जनावरको सिनो गिद्धले खाँदा रगतमा युरिक एसिडको मात्रा ह्वा्त्त बढ्न पुग्दछ र मृगौलाले काम गर्न छोड्दछ । नेपाल पन्छी संरक्षण संघका अनुसार डाइक्लोफेन्याक खाएको एउटा गाईको सिनोले करिब ३००-८०० गिद्धलाई सखाप पार्न सक्छ । फैरि गिद्धले वर्षमा एउटा मात्रै अण्डा पार्ने गर्दछ ।

डाइक्लोफेन्याकको ‘आतङ्क’ सुरु हुनु अघि गिद्धलाई खासै ध्यान दिइँदैनथ्यो । तर यो औषधिको प्रयोग बढ्दै गएपछि नेपाललगायत दक्षिण एसियामै गिद्धमाथि संकट उत्पन्न हुन थालेको बराल बताउँछन् । कुनै समय नेपाली आकाशमा करिब १०-१६ लाख गिद्ध उड्थे तर हाल आएर यो संख्या २०,००० मा खुम्चिएको छ ।

अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले डाइक्लोफेन्याकमाथि प्रतिबन्ध लागेपछि गिद्धको संख्या आफै बढ्ने बताउँदै आएका थिए । नेपाल सरकारले २०६३ साल तिर यो औषधिमाथि प्रतिबन्ध पनि लगायो । तर यसको असर सोचे जस्तो भएन । बराललाई लाग्यो गिद्धको संख्या घट्नुका अरु पनि कारण हुन सक्छन् । उनले गिद्धले पहिले जस्तो खाना नपाएको कारणले पनि उनीहरूको संख्या घटेको हुन सक्ने अनुमान गरे ।

‘नेपाललगायत दक्षिण एसियाकै धेरै गाईवस्तुले निकै कम दूध दिन्छन् । केही लिटर दूधका लागि पनि थुप्रै गाई पाल्नु पर्ने अवस्था थियो,’ उनी भन्छन् । तर जर्सी गाईहरू नेपालमा आउन थालेपछि एउटै गाईले १० वटा लोकल गाई बराबर दूध दिन थाल्यो । परापूर्व काल देखि दक्षिण एसियामा ठूलो संख्यामा पाइने गाईवस्तुको संख्या घट्न थाल्यो ।

‘त्यस माथि मरेका गाई वस्तुलाई खोला किनारमा फाल्नु भन्दा गाड्ने चलनको सुरुआत भयो । गाई वस्तुको संख्या त कम भयो भयो सिनो पनि पाइन गाह्रो हुन थाल्यो,’ बराल भन्छन् ।

यही समस्याको निराकरण गर्न पन्छि संरक्षण संघका तत्कालीन प्रमुख कार्यकारी बराल र पिठौलीका संरक्षणकर्मी डिबी चौधरी मिलेर ‘भल्चर रेस्टुरेन्ट’ खोल्ने जुक्ति निकाले । ‘हामीलाई के थाहा थियो भने पहिलेदेखि नै अफ्रिकाका गिद्धहरू त्यहाँका प्रसस्त जङ्ली जनावरमा आश्रित थिए भने दक्षिण एसियाका गिद्दहरू यहाँ पाइने असंख्य गाईवस्तुमा ।’

‘गाई वस्तुको समस्या के हो भने जब उनीहरू बुढो हुन्छन्, कृषकहरूका लागि उनीहरू बोझ हुन जान्छन् । कृषकहरू उनीहरूलाई कतै पठाउन चाहन्छन् तर धार्मिक आस्थाका कारण त्यसो गर्न सक्दैनन् ,’ चौधरी भन्छन् । ‘हामी के गर्छौँ भने किसानहरूसित आफ्नो जीवनको उत्तरार्धमा पुगेका गाईवस्तु किन्छौँ, उनीहरूलाई पोषिलो आहार दिन्छौँ र उनीहरूको देखरख गर्छौँ । जब उनीहरू काल गतिले मर्छन् तब सिनो गिद्धलाई खान्दिन्छौँ ।’ एक पटक खाएपछि गिद्धहरू करिब एक हप्तासम्म अगाउँछन् ।

जटायु रेस्टुरेन्टका सञ्चालकहरूका अनुसार गिद्धले आफ्नो खाना खाएको हेर्न संसारभरकै पर्यटकहरू आउँछन् । यसका कारण स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुगेको छ । सुरक्षित खाना पाएपछि नवलपुर क्षेत्रमा गिद्धको गुडको संख्या पनि बढेक छ ।

तस्वीरहरू : अभय राज जोशी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment