Comments Add Comment

साग तयारी : बक्सिङ खेलाडीको अभ्यास मौसममा निर्भर !

१६ खेलाडी भिड्दै, ३ स्वर्णको आशा

१३ असोज, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आउन अब करिब दुई महिना छ । नेपालमै हुने यस सागमा बक्सिङतर्फ १६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तर, उनीहरुको अभ्यासको अवस्था भने दयनीय छ ।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको भवन नजिकै एउटा चमेना गृह (क्यान्टिन) छ । यसको अगाडिपट्टि रहेको खाली मैदानमा १३ औं सागको लागि छानिएका बक्सिङ खेलाडीले अभ्यास गरिरहेका छन् । अभ्यास हेर्दा झारा टार्ने हिसाबले मात्रै गराइएको प्रष्ट हुन्छ ।

शून्यप्राय भौतिक सुविधामा खेलाडीले अभ्यासमा ध्यान केन्द्रित गर्न सकेका छैनन् । खुल्ला ठाउँ भएकाले मानिसहरुको आवतजावत र होहल्लाले पनि असर गर्छ । इन्डोरमा अभ्यास गर्नुपर्ने खेल आउट डोरमा गर्दा खेलाडी हताश बनिरहेका छन् ।

१३ औं सागमा भूपेन्द्र थापामगरले ६४ औं केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् । पहिलो पटक साग खेलकुदमा भाग लिन आँटेका भूपेन्द्रको उत्साह अभ्यासको दौरानमा भोग्नुपरेको असुविधाले गर्दा सेलाएको छ ।

उनी भन्छन्, ‘हामी यहाँ खुल्ला आकाशमुनि अभ्यास गरिरहेका छौ । पर्याप्त खेल सामग्री पनि छैनन् । खाली चौरमा खेलेर कसरी स्वर्ण पदक जित्न सकिन्छ ?’

उनले गुणस्तरीय सामग्रीको अभावमा चोटपटक लाग्ने डर भएको बताए ।

भूपेन्द्रले भने, ‘बक्सिङमा राम्रो जुत्ता भएन भने पनि खुट्टा मर्किने, ढाड दुख्ने लगायत विभिन्न चोटहरु लाग्न सक्छन् । तर खोई त हामीलाई मेडिकल सामग्री ?’

त्यसो त खेलाडीको अभ्यासलाई बारम्बार वर्षाले पनि विथोल्ने गर्छ । पानी प¥यो भने अभ्यास गर्न सकिँदैन ।

‘पानी पर्नासाथ खेल रोक्नुपर्छ । योभन्दा दुखको कुरा खेलाडीको लागि अर्को के होला ?’ ६० केजी तौल समूहमा छानिएकी संगीता सुनुवार भन्छिन्, ‘यस्तो तयारीले सागमा के पदकको आशा गर्नु ?’

नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवाले बक्सिङको हल पुनर्निर्माण भइरहेकाले खुल्ला आकाशमुनि नै अभ्यास गर्नुपरेको बताउँछन् ।

स्वर्णको आश कोबाट ?

खेलाडीहरु निराश भए पनि बक्सिङ संघका पदाधिकारी र प्रशिक्षक भने २–३ वटा स्वर्णको आशा गरेर बसेका छन् ।

बक्सिङमा आन्तर्राष्ट्रिय मेडल दिलाएका खेलाडी तथा अहिले प्रशिक्षकको भूमिकामा देखा परेका दिपक महर्जनले तयारी राम्रो भएको भन्दै नतिजा पनि राम्रै आउने दाबी गरे ।

उनले भने, ‘दुई महिना थाइल्यान्डमा ए टिमले अभ्यास गर्‍यो । साउन १६ देखि तयारी थाल्यौ । हल नभए पनि हामीले तयारी राम्रै गरिरहेका छौं । फिजिकल फिट्नेसहरु राम्रो भइरहेको छ ।’

त्यसो त बक्सिङमा नेपालभन्दा भारत, पाकिस्तान र श्रीलंका निकै माथि छन् । यी देशका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जित्न सजिलो छैन । तैपनि संघका प्रवक्ता अवालेले कम्तीमा ३ स्वर्ण जित्ने आशा रहेको बताए ।

प्रवक्ता अवाले भन्छन्, ‘महिलामा पुनम रावल र संगीता सुनुवार तथा पुरुषमा सुशील थापा र भुपेन्द्र थापाबाट हामी स्वर्ण पदकको निकै आशावादी छौं । अरु पनि पदकको दाबेदार नै छन् ।’

नेपालमै आयोजना हुने साग खेलकुद खेल्न संगीता उत्साहित छिन् । उनी भन्छिन्, ‘मेरो लक्ष्य स्वर्ण पदक नै हो । तयारी ठीकै भइरहेको छ । मेरो तर्फबाट सय प्रतिशत दिइरहेकी छु ।’

६५ केजी तौल समूहमा नेपालको प्रतिनिधत्व एपीएफका पुरन राईले गर्दै छन् । थाइल्यान्डसम्मको अभ्यासले निकै निखारपन आएको भन्दै उनले पनि आफ्नो सपना स्वर्ण पदक जित्नु नै रहेको बताए ।

खेल्ने पूर्वाधारप्रति सन्तुष्ट नरहेका पुरन भन्छन्, ‘नेपाललाई स्वर्ण पदक जिताउने लक्ष्य छ । तर निकै कठिन छ । त्यसमाथि पनि यस्तो तयारीले बेला बेलामा आशै मरेर जान्छ ।’

यी हुन् सागमा खेल्ने १६ बक्सर

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङमा १६ खेलाडी छनोट भएका छन् । पुरुषतर्फ १० जना र महिलातर्फ ६ जना गरी १६ जना खेलाडीले १३ औं सागमा भाग लिने छन् ।

पुरुषतर्फ ४९ केजीमा आर्मीका सुशील थापामगर, ५२ केजीमा तेजबहादुर देउवा, ५६ केजीमा एपीएफका पुरन राई, ६० केजीमा प्रदेश नम्बर ३ का सुनील शाही, ६४ केजीमा पुलिसका भुपेन्द्र थापामगर, ६९ केजीमा एपीएफका विकास लामा र ७५ केजी तौल समूहमा आर्मीका दिपक श्रेष्ठ छन् । त्यस्तै, ८१ केजीमा कर्णाली प्रदेशका मनोहर बस्नेत (म्याक्स बस्नेत), ९१ केजीमा आर्मीका अर्जुन सिजु र ९१ केजीमाथि तौल समूहमा आर्मीका आशिष दवाडी छनोट भएका छन् ।

महिलातर्फ ४८ केजीमा आर्मीकी ललिता महर्जन, ५१ केजीमा एपीएफकी माला राई, ५४ केजी तौल समूहमा आर्मीकी मिनु गुरुङ, ५७ केजीमा आर्मीकी चन्द्रकला थापा, ६० केजीमा एपीएफकी संगीता सुनुवार र ६४ केजी तौल समूहमा आर्मीकी पुनम रावलले साग खेलकुदमा खेल्ने छिन् ।

भुटानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

यसैबीच, असोज ५ गते (आइतबार) अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नका लागि नेपाली बक्सिङ टिम भुटान प्रस्थान गरेको छ । पहिलो भुटान खुल्ला बक्सिङ प्रतियोगितामा आयोजक भुटानसँगै भारत र नेपालको सहभागिता रहनेछ ।

नोभेम्बरको पहिलो साता हुने प्रतियोगितालाई नेपालले साग तयारीको रुपमा लिएको छ । त्यसमा महिलातर्फ ४८ केजी तौल समूहमा ललिता महर्जन र दिवाना शर्माले भाग लिने छन् । त्यस्तै, ६० केजीमा संगीता सुनुवार र पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ चार खेलाडीले यो प्रतियोगितामा भाग लिँदा पुरुषतर्फ भने सात खेलाडीले भाग लिने छन् ।

पुरुषतर्फ ४९ केजीमा सुशील थापामगर, ५२ केजीमा तेजबहादुर देउवा, ५६ केजीमा पुरन राई, ६० केजीमा सुनिल शाही, ६४ केजीमा भुपेन्द्र थापा ६९ केजीमा विकास लामा र ७५ केजी तौल समूहमा दिपक क्षेत्रीले प्रतिस्पर्धा गर्ने छन् ।

महिलातर्फ दुई वटा तौल समूहका विजेता र उपविजेताले भाग लिने छन् भने पुरुषतर्फ सात तौल समूहका विजेताले मात्रै भाग लिन पाउनेछन् ।

बैदेशिक भ्रमण

नेपालले भुटानमा प्रतियोगिता खेलेपछि स्वदेश फर्किएर पोखरामा अभ्यास थाल्ने छ । यसअघि ए टिमले थाइल्यान्डमा करिब दुई महिना अभ्यास गरेको थियो । त्यो अभ्यासले हरेक कुरामा परिर्वतन ल्याएको र त्यस्तै प्रशिक्षणको माग खेलाडीको छ ।

यता, संघले पनि राम्रो नतिजा ल्याउनका लागि वैदेशिक अभ्यासमा पठाउने योजना बनाइरहेको प्रवक्ता अवाले बताउँछन् । उनले भने, ‘चीन, फिलिपिन्स, अथवा उज्वेकिस्तानमध्ये दुई देशमा बैदेशिक अभ्यास गराउने हाम्रो तयारी छ । महिलालाई चीनमा र पुरुषलाई फिलिपिन्स अथवा उज्वेकिस्तानमध्ये एक देशमा बैदेशिक अभ्यास गराउने छौं ।

फोटो र भिडियो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment