Comments Add Comment

बाबुरामको चिन्ता : गोरखाको विकास निर्माण ठप्प छ

१४ असोज, काठमाडौं । गोरखाका नेताहरुले बुढीगण्डकी जलविद्युत आयोजनामा भइरहेको ढिलाइप्रति चिन्ता जनाएका छन् ।

मंगलबार गोरखा पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा केन्द्रीय सदस्य हरिराज अधिकारीले बुढीगण्डकी आयोजनामा ढिलाइ हुँदा गोरखाको विकास पछि परेको बताए ।

नेता भट्टराईले बुढीगण्डकी आयोजना नेपालीले नै बनाउने मोडलमा नगए आयोजना नबन्ने खतरा देखेको बताए । आयोजना क्षेत्रका स्थानीय वासिन्दाको सहयोग हुँदाहुँदै पनि आयोजना अघि बढ्न नसक्नु दुर्भाग्य भएको बताए ।

जनताले अत्यन्त ठूलो सहयोग गरेका छन्, स्थानीय वासिन्दाले कुनै विरोध नगरी मुआब्जा लिएको घटना कमै पाइन्छ’ उनले भने ‘दुर्भाग्यवश यति हुँदा पनि अवरुद्ध भइरहेको छ ।’

नेता भट्टराईले गोरखकाली रवर उद्योग अब नयाँ ढंगले सञ्चालन गर्नुपर्ने र गोरखा जिल्लामा अर्को औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने बताए । जिल्ला विकासको मुुख्य आधार धार्मिक साँस्कृतिक पर्यटन हो भन्दै उनले जिल्लाका सबै धार्मिक, पर्यटकीय क्षेत्र जोड्ने गरी एउटा सर्किट बनाउनुपर्ने बताए । ‘धार्मिक, साँस्कृतिकस्थल जोड्ने सडक गोरखाका लागि गेमचेन्जर आयोजना बन्न सक्छ’ उनले भने ।

गोरखामा पछिल्लो समय ठेक्कापट्टामा लिने र काम नगर्ने प्रवृत्ति बढेको भन्दै यसलाई राजनीतिक दल र कर्मचारीले सघाएको भट्टराईले आरोप लगाए । ‘त्यसैले अहिले गोरखाको विकास निर्माण करिब करिब ठप्प छ’ उनले भने ‘कुन खालको भ्रष्टाचार छ भन्ने कुरा पत्रकारले उजागर गर्नुपर्छ ।’

प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य हरिराज अधिकारीले बुढीगण्डकी आयोजना अलपत्र हुँदा जिल्लाको विकास पछि परेको बताए । ‘आरुघाट र खहरेको मुआब्जा तोक्न हामी जति लागे पनि सकेनौं’ उनले भने ‘यति ठूलो आयोजना अलपत्र छ, बुढीगण्डकी बनेदेखि जिल्लाको विकास धेरै माथि उठ्ने थियो ।’

गोरखाको उत्तरी क्षेत्रबाट चिनियाँ नाकासम्म सडक पुर्‍याउन सकेमा देशकै मध्य भागको सबैभन्दा सुरक्षित नाका हुने सांसद अधिकारीले बताए । प्रतिनिधिसभा सदस्य चुडामणि खड्काले गोरखाको विकास निर्माणका विषयमा गोरखा जिल्ला घर भएका पत्रकारले विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कमला पन्तले जिल्लामा द्वन्द्वका घाउहरु बाँकी नै रहेको भन्दै त्यसको समाधान गर्न जिल्लाका नेताहरुले जोड दिनुपर्ने बताए । नेकपा नेता लेखनाथ न्यौपानेले नेपालमा धेरै समुदायको आआफ्नै चाडपर्व मनाउने र कतिपयले चाडपर्व नै नमनाउने भएकाले चाडपर्वका विषयमा पनि बहस हुनुपर्ने बताए ।

गोरखा घर भई काठमाडौंका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको संस्था गोरखा पत्रकार मञ्चले नेपालमा मनाइने ठूला पर्वहरु वडादशैं, दिपावली र छठ पर्वका अवसरमा गोरखाका नेता र पत्रकारबीच शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा पत्रकारहरु खिलबहादुर भण्डारी, रामजी दाहाल, सुशील अर्याल लगायतले गोरखा पत्रकार मञ्चले गोरखाली पत्रकारलाई एकीकृत गर्नुपर्ने र जिल्लाका विकास निर्माण लगायत विभिन्न विषयमा बहस चलाउनुपर्ने बताए ।

गोरखा पत्रकार मञ्चका सं‌योजक प्रदीपराज वन्तले गोरखा जिल्ला घर भई विभिन्‍न जिल्लामा पत्रकारिता गरिरहेकाहरुलाई एकत्रित गर्ने, समस्या पर्दा सहयोग गर्ने र गोरखाका विभिन्न विषयमा बहस चलाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment