+
+
Shares

‘नेपाली मिडियाले नकारात्मक विषयमात्र उठाए, प्रजातन्त्र बढी भएझैँ लाग्छ’

पूर्वराजदूत कार्की भन्छन्-अमेरिकी र भारतीयले नेपाललाई कब्जामा राख्न प्रयास गरे

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १४ गते १९:३८

१४ असोज, काठमाडौं । जनवादी गणतन्त्र चीनले बेइजिङमा ७० औँ वर्षगाँठ भव्यताका साथ मनाइरहेको बेला काठमाडौंमा भने नेपालले चीनबाट सिक्नुपर्ने विषयमा चर्चा भएको छ ।

प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा आयोजित कार्यक्रममा नेपालका नेताहरुले अमेरिकी र भारतीय पक्षले नेपाललाई आफ्नो कब्जामा राखेर चीनसँगको सम्बन्ध बिगार्न खोजेको बताए । तर, चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका काठमाडौं प्रमुखले भने नेपालले त्रिदेशीय सहकार्यको नेतृत्व गर्नुपर्ने बताए ।

नेपाल-चीन विद्यार्थी मञ्चले ‘नेपाल-चीन सम्बन्धका बहुआयामिकता’ विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा अतिथिको रुपमा सिन्हवा न्युज एजेन्सी काठमाडौं ब्युरोका प्रमुख चौ सेनपिङ सहभागी थिए ।

उनले नेपालका मिडियाहरुमा धेरैजसो नकारात्मक विषयका समाचार देखेर आफू गम्भीर हुने गरेको बताए । नेपालमा धेरै राम्रा र सकारात्मक कुराहरू भएपनि नेपाली मिडियाले नकारात्मक र राजनीतिक विषयमात्र उठाएको देखेर आफू दंग परेको बताउँदै उनले भने, ‘कहिलेकाँही त मलाई प्रजातन्त्र बढी भएझैँ लाग्छ ।’

चीनबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउँदै उनले नेपालले लघुत्ताभासबाट बाहिर आएर त्रिदेशीय सहकार्यको नेतृत्व गर्नुपर्ने धारणा पनि राखे । नेपालले चीनबाट आर्थिक उन्नतिको रणनीतिबारे ज्ञान हाँसिल गर्नसक्ने उनको भनाइ थियो ।

‘अमेरिकी र भारतीय पक्षले नेपाललाई कब्जामा राख्न प्रयास गरे’

कार्यक्रममा चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्कीले अमेरिकी र भारतीय पक्षले नेपाललाई आफ्नो कब्जामा राख्न प्रयास गरेपनि नेपालले त्यसलाई चिरेर चीनसँग सम्बन्ध सुधार गरेको दावी गरे ।

नेपाल-चीन सम्बन्ध परापूर्वकालदेखि रहेको चर्चा गर्दै कार्कीले अहिले नेपाल आर्थिक रूपमा कमजोर रहेकोले पूर्वाधार विकासमा चीनको लगानी स्वीकार गर्न सकिने बताए । अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतितर्फ संकेत गर्दै कार्कीले भने, ‘बीआरआईमा सहभागिता नजनाउने शर्तमा धेरै अफरहरु आए तर हामीले अगाडिको भागमात्र हेरेनौँ ।’ नेकपा नेता एवम् अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका उनले नेपालले चिनियाँ पर्यटक भित्र्याएर अथाह प्रगति गर्न सक्ने सम्भावना औंल्याए ।

‘हामीले चीनबाट सिक्नै पर्दछ’

कार्यक्रमका अर्का वक्ता एवम् नेकपा नेता लेखनाथ न्यौपानेले चीनको इतिहासबाट नेपालले राष्ट्रिय स्वाधिनतालाई कसरी जगेर्ना गर्ने भन्ने विषयमा धेरै सिक्न सक्ने धारणा राखे । चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक गतिविधि, नेतृत्वको पारदर्शिता, राष्ट्रिय एकता, गरिबी निवारणमा नेतृत्वले खेलेको भूमिका जस्ता कुराहरू नेपालले अनुसरण गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘कम्युनिष्ट पार्टीको गठन, सञ्चालन र सरकारसँगको सम्बन्धट जनताको जीवनस्तर कसरी उठाउने भन्ने बारेमा हामीले चीनबाट सिक्नै पर्दछ ।’

नेपाल-चीन विज्ञ एवम् डेढ दशक लामो समय चीनमा बिताएका नेकपा नेता डा. सागर न्यौपानेले त्यहाँको गरिबी निवारण र दिगो विकासको मोडेल नेपालले अनुशरण गर्नुपर्ने धारणा राखे । नेपाल चीनबीचको सम्बन्धको बहुआयामिक प्रकृतिको चर्चा गर्दै उनले हालै नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहमतिको बचाउ गरेका थिए ।

रत्नराज्य क्याम्पसका स्ववियु सभापति तपेन्द्रजङ्ग शाहीले एक चीन नीतिमा नेपाल अडिग रहनुपर्ने धारणा राखे । नेपाल चीन विद्यार्थी मञ्चका अध्यक्ष एवम् अनेरास्ववियु नेता उत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका महासचिव नरेश रेग्मीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?