Comments Add Comment
मेरो कथा :

यो मन त मेरो नेपाली हो…

सिंगापुर प्रहरीबाट धेरै पदक जितेँ, देशका लागि खेल्ने इच्छा अधुरै छ

१५ असोज, काठमाडौं । दिनपछि रात । अनि, रातपछि दिन । यही हो मेरो जीवन समष्टिगत कथा । दुःखको आहालमा हुर्किर्एको म अहिले सिंगापुर प्रहरीमा जागिरे छु । प्रहरी मात्र नभएर, एउटा एथलेटिक्स खेलाडीका रुपमा नाम पनि कमाएको छु ।

नाम र दाम दुवै कमाइसक्दा पनि मान्छेलाई पूर्ण सन्तुष्टि नहुँदोरहेछ । मलाई त्यस्तै भएको छ । म नेपालमा जन्मेको, नेपालमा हुर्केको खाँट्टी नेपाली । तर, विदेशी फौजको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन्छु । मेडल जित्छु । यही मेडल मैले आफ्नो देशको लागि जित्न पाएको भए त्यसको गौरव अर्कै हुन्थ्यो होला भन्ने लाग्छ ।

हुन त मैले आफ्नै देशको सेनामा प्रवेश गर्ने प्रयास गरेको हुँ । तर सफल नभएपछि सिंगापुर प्रहरीमा धकेलिएँ । अनि मेरो बाटो मोडियो ।

सिंगापुर मेरो कर्मथलो बन्यो । तर मेरो नेपाली राष्ट्रियता कसैले खोस्न सक्दैन । मेरो मनमस्तिष्कमा पनि नेपालको माया भरिएको छ ।
त्यसैले अझै पनि नेपालमा आएर केही गर्ने धोको छँदैछ ।

०००

मैले गत भदौमा चीनमा आयोजत विश्व पुलिस फायर गेम्समा भाग लिएँ र तीनवटा स्वर्ण पदक जितेँ । प्रत्येक दुई वर्षमा हुने यस प्रतियोगितामा विश्वभरका प्रहरी संगठनले भाग लिएका हुन्छन् । मैले सिंगापुर प्रहरीको तर्फबाट खेलेको थिएँ ।

हाफ म्याराथनमा यसपाली ६५ वटा देशको सहभागिता थियो । मैले स्वर्ण पदक जित्दा आयोजक चीन दोस्रो र रसिया तेस्रो भए । एक घण्टा ९ मिनेटमा मैले निर्धारित दूरी पूरा गरेको थिएँ । दगुर्ने सडक कठिन भएकाले मेरो टाइमिङ सोचेभन्दा केही ढिला भएको थियो ।

त्यसो त टाइमिङ भन्दा पनि कसरी जित्ने भन्नेमै मेरो ध्यान थियो । टाइमिङ त कहिले राम्रो हुन्छ कहिले हुँदैन । मेरो टाइमिङ अरु खेलाडीमा पनि भर पर्छ । मैले अर्को खेलाडीलाई हेरेर कुद्ने हो, त्यो खेलाडी मलाई हेरेर कुद्ने हो ।

मैले १० किलोमिटर क्रस कन्ट्री विधामा पनि स्वर्ण पदक जिते । यस विधामा चाहिँ ६० देशको सहभागिता रहेको थियो । मैले स्वर्ण पदक जित्दा चीनका खेलाडीले रजत र भारतीय खेलाडीले कास्य पदक जिते ।

यसैगरी १० हजार मिटरमाा पनि मैले स्वर्ण पदक जितेँँ । यो विधामा पनि म पहिलो, चीन दोस्रो र भारत तेस्रो भएका थिए । १० हजार मिटरमा मेलै निर्धारित दूरी ३१ मिनेट १५ सेकेन्डमा पूरा गरेको थिएँ ।

तीनवटा विधामा पहिलो भएर घाँटीमा स्वर्ण पदक थाप्दा मैले आफ्नो देश नेपाल सम्भिmएँ । मनमा अनेक कुराहरु खेले । यदि यो पदक मैले नेपालका लागि जितेको भए ? यदि मैले काँधमा नेपालको झण्डा ओढ्न पाएको भए ? सिंगापुर पुलिसको धुनको सट्टा नेपाल प्रहरी वा नेपालको राष्ट्रिय धुन बजेको भए ? सायद म भावविव्हल हुन्थेँ होला । आफ्नो आँखाबाट आशु रोक्न सक्दिनथेँ होला ।

आफ्नो देशका लागि जित्नु र विदेशी प्रहरी संगठनका लागि जित्नुको अनुभूति फरक थियो । मैले नेपाललाई धेरै नै मिस गरें त्यतिबेला । आखिर मेरो रगत नेपाली हो । पासपोर्ट नेपालको हो । र, आफूलाई नेपाली भनेरै चिनाउन रुचाउँछु ।

यसअघि सन् २०१७ मा अमेरिकामा भएको विश्व पुलिस फायर गेम्समा पनि मैले भाग लिएको थिएँ । त्यसमा पनि मैले दुई वटा स्वर्ण पदक जितेको हुँ । हाफ म्याराथन र १० किलोमिटरमा स्वर्ण पदक जितेको थिएँ ।

००००

अब विगतका पाना पल्टाउँछु, जुन त्यति सुखद छैन ।

म संखुवासभाको माधेमुलखर्क-५ चिराइते भन्ने ठाउँमा जन्मिएँ । बाल्यकाल त्यहीँ नै कष्टप्रद रुपमा बित्यो । ती दिनहरु सम्झिँदा अहिले पनि आँखा रसाउँछ ।

बाबा-आमा चिराइतेमै खेतिकिसान गर्नुहुन्थ्यो । पाँच जना छोराछोरीमा म जेठो छोरा । छोराछोरीको उज्ज्वल भविश्यका लागि बाबा वैदेशिक रोजगारीको लागि साउदी अरब जानुभयो ।

तर सोचेको सबै कहाँ पुग्छ र ! साउदी पुगेको केही महिनामै बाबा सम्पर्कविहीन हुनु भयो । करिब एक वर्षपछि मात्रै हामीले थाहा पायौं कि बाबा गम्भीर दुर्घटनामा पर्नुभएछ ।

कम्पनीले करिब एक वर्षजति हेेरेपछि स्वदेश फकाई दियो । फर्किदा त बाबा मुडोजस्तै अवस्थामा हुनुहुन्थ्यो । शरीर र मस्तिष्कले काम गर्न छोडिसकेको रहेछ । यो २०५२/०५३ साल तिरको कुरा हो ।

बाबा ऋण काडेर विदेश जानुभएको थियो । लामो समयसम्म उहाँ सम्पर्कमा नआउँदा हाम्रो घरखेत सबै साहुले लग्यो । हामी बेसाहारा जस्तै भएका थियौं । गाउँमा मानिसहरुले हामीलाई हेप्थे । अनेकथरी कुरा काट्थे । त्यसैले त्यहाँ बस्न उचित लागेन र जन्मस्थान छोड्यौं ।

बाबाको मुडाजस्तो शरीर, साना छोराछोरीको लालनपालन आमाका लागि युद्ध लड्नुभन्दा कम थिएन । तर उहाँले हिम्मत हार्नुभएन ।

००००

आफ्नो जन्मस्थान छोड्नुको पीडा एकातिर । कहाँ जाने, के गर्ने अर्को आपत । करिब एक दिन हिँडेर हामी तेह्रथुमको बसन्तपुरमा आएर बस्यौं ।

म त्यो क्षण कहिल्यै भुल्न सक्दिनँ । घर छोडेर आउँदा आमाले दुई-चारवटा बोटुका र एउटा सिरक मात्रै बोक्नुभएको थियो । बसन्तपुर आएपछि आमाले धेरै दुःख गर्नुभयो । अर्काको घरमा भाँडा माझ्नेदेखि सबै काम गर्नुहुन्थ्यो ।

त्यो बेला म ९ वर्षको थिएँ । बाबाको त्यस्तो हालत र आमाको संघर्ष देख्दा मन गह्रुंगो हुन्थ्यो । तर आफूले गर्न सक्ने केही थिएन । आमाले पाउनुभएको दुःखको के बयान गर्नु ? कतिको गाली खानु भयो, कतिको हेपाई तर, सबैथोक सहेरै उहाँले हामीलाई हुर्काउनुभयो । आफू भोकै बसेर हामीलाई खुवाउनुभयो । आफूले अक्षर नचिने पनि हामीलाई पढ्न विद्यालय पठाउनुभयो ।
आमालाई त्यसै महान भनिएको होइन ।

००००

उमेर बढ्दै जाँदा म पनि बुझ्ने हुँदै गएँ । बेला-बेला बाबालाई उपचार गर्ने पैसा हुँदैनथ्यो । आमा रुनुहुन्थ्यो । म सम्झाउँथे । बाबा-आमाको दुःख देखेर केही गर्नुपर्छ भन्ने इख मनमा थियो ।

बसन्तपुरमा १२ कक्षा पढिसकेर म काठमाडौं आएँ । काठमाडौंमा पढ्दै केही काम गर्ने योजना बनाएर म घरबाट एक पैसा नलिई आएको थिएँ ।
अनि, काठमाडौंमा मेरो संघर्ष सुरु भयो । चिनेको कोही थिएन । कयौं रातहरु भोकभोकै बिते । बल्लतल्ल कुपण्डोलको एउटा रेष्टुरेन्टमा गार्डको काम पाएँ । गार्डपछि वेटरको काम गरेँ । एक महिना सित्तैमा काम गरेपछि मेरो मासिक एक हजार रुपैयाँ तलव तोकियो । करिब एक वर्ष काम गरें । गाउँबासका लागि काम गर्न थालेपछि मैले पढाई अगाडि बढाउन सकिनँ ।

त्यसक्रममा नेपाली सेनामा जागिर खुलेको थाहा पाएँ । मैले आवेदन दिए । सेनाको सबै तालिमहरुमा मेरो राम्रो भएको थियो तर, नाम निस्किएन । आर्मीमा जागिर खान पनि आफ्नो मान्छे चाहिँदो रहेछ भन्ने महशुस भयो । त्यसपछि एकजना दाइले मलाई सिंगापुर पुलिसमा ट्राई गर भन्नुभयो । मैले आवेदन दिएँ । हरेक प्रतिस्पर्धामा पहिलो हुँदै नाम निकालेँ ।
त्यसपछि हाम्रो दिन फिर्न थाल्यो ।

००००

सिंगापुर पुलिसमा भर्ती हुनु अगाडीसम्म मलाई एथ्लेटिक्सको कुनै ज्ञान थिएन । कहिलेकाहीँ सोच्दा आफैंलाई अचम्म लाग्छ, म कसरी एथलेटिक्स खेलाडी बनेँ ?

सिंगापुर प्रहरीमा शारीरिक अभ्यास गर्ने क्रममा मैले राम्रा धावकहरुसँग भेटे । भलाकुसारी गरें । उनीहरुले मेडल थापेको, सम्मान पाएको देखेर लोभिएँ । दौडमा झुकाव बढ्यो । त्यसैले सन् २०१२ देखि दौडिन थालेँ ।

दौडिन थालेको सात महिनामा मैले १५ केजी तौल घटाएँ । प्रतिस्पर्धामा नतिजा राम्रो आउन थाल्यो । आत्मबल पनि बढ्दै गयो ।

हाम्रो पुलिसकै बीचमा आन्तरिक प्रतिस्पर्धा हुन्छ । त्यसमा मैले त्यहाँका राम्रा-राम्रा धावकहरुलाई पनि पछि पारेँ । त्यसपछि सबैको ध्यान मतिर पर्न थाल्यो । मेरो कुदाई देखेर सबै अचम्भित बन्थे ।

मैले अहिलेसम्म निजी प्रशिक्षक राखेको छैन । आफ्नै शैलीमा अभ्यास गरिरहेको हुन्छु । विभिन्न धावक तथा अनुभवि खेलाडीहरुसँग टिप्सहरु लिन्छु ।

२०१३ को सुरुमा मैले इन्टरयुनिट प्रतिस्पर्धामा भाग लिएँ । यो प्रतियोगितामा मैले तीनवटा स्वर्ण पदक जितेँ । ५ हजार, १० हजार र १५ सय मिटरमा मैले स्वर्ण जितेको थिएँ । यो एथलेटिक्समा मेरो पहिलो सफलता अनि एउटा अविष्मरणीय क्षण थियो ।

अब भने मलाई एथ्लेटिक्स खेलमा रस पसिसकेको थियो । दौडिने बानी परिसकेको थियो । २०१४ मा मलेसियामा हुने माउन्ट किनबालु अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि छनोट भएँ । यो अवसरलाई गुमाउनु हुँदैन भन्ने लाग्यो । करिब एक वर्ष अभ्यास गरें ।

यो प्रतियोगितामा मैले ठूलो उपलब्धि हात पारेँ । ६० वटा देशको सहभागिता रहेको प्रतियोगितामा केन्याका खेलाडी पहिलो भएका थिए भने म दोस्रो र जापानका खेलाडी तेस्रो भएका थिए ।

००००

मैले आफ्नो करिअरमा थुप्रै प्रतियोगिता जितेको छु । कति त याद पनि छैन । मेरो मुख्य विधा हाफ म्याराथन र १० किलोमिटर हो । म्याराथन र अन्य विधामा म त्यति दौडिन्न ।

हाफ म्याराथनमा मेरो एक घण्टा ६ मिनेट र २३ सेकेन्डको रेकर्ड छ । १० किलोमिटरमा भने मेरो राम्रो टाइमिङ ३१ मिनेट १४ सेकेन्ड हो ।

सिंगापुर एथ्लेटिक्स संघले आयोजना गर्ने राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा पनि धेरै स्वर्ण पदक जितेको छु । त्यहाँका राष्ट्रिय खेलाडीहरुलाई धेरैपटक हराएको छु । साना तिना प्रतियोगिताहरुको त हिसाबै छैन । अहिलेसम्म करिब ३०० वटा पदक जितेँ होला ।

स्वर्ण पदक मात्रै करिब २०० जति पुग्यो होला ।

अन्तर्राष्ट्रिय स्तरमा राम्रो गरिरहँदा फर्केर आफ्नो देशका लागि खेल्ने सोच पनि नआएको होइन । देशको झण्डा फर्फराउने ठूलै धोको थियो । २०१४ मा नेपाल फर्किएँ पनि । तर भाग्यले साथ दिएन । २०७२ वैशाख १२ गतेको भूकम्पले सिंगो देशलाई रुवायो ।

भूकम्पपछि मेरो योजना भताभुंग भयो । खेल्न भनेर आएको म फेरि सिंगापुर फर्किएँ । त्यसपछि भने मौका नै मिलेको छैन । चाहना र महत्वाकांक्षा भएर पनि जुरेको छैन । यता गेम हुँदा उता म फुर्सदमा हुन्न । मेरो फुर्सद हुँदा यता प्रतियोगिता हुँदैन । नेपालबाट खेल्न नपाए पनि भविश्यमा नेपाली खेलकुदलाई कुनै न कुनै कोणबाट सहयोग गर्छु भन्ने चाहना बाँकी नै छ ।

००००

योपटक प ६ महिनाको लामो छुट्टी लिएर आएको छु । छुट्टीमा आउँदा साथीभाई सबैसँग भेट्ने र रमाइलो गर्ने भन्ने नै हुन्छ । यसको अलवा केही सामाजिक कार्यहरु गर्ने योजना पनि छ । सडकमा भएका बालबालिकाका लागि केही गर्ने विचारमा छु ।

सुरुमा मैले नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने सोचाई बनाएको थिएँ । तर म सिंगापुरमै हुँदा सागको लागि खेलाडी छनोट भइसकेको कुरा थाहा पाएँ । अझै पनि मौका त थियो, तर मेरो स्वास्थ्यले साथ दिएन ।

म यहाँ आउने वित्तिकै हावापानी जुधेर विरामी परेँ । डेंगुले पनि सतायो । अहिले पनि औषधि खाइरहेको छु । यो सबैले गर्दा करिब डेढ महिनादेखि अभ्यास नै गरेको छैन । मेरो स्टामिना फेरि शुन्य भएको छ । अब सिंगापुर फर्किएर मिहिनेत गर्छु र अब आउने अवसरमा नेपालका लागि खेल्छु, पदक जित्न चाहन्छु । आखिर यो मन त मेरो नेपाली हो…

प्रस्तुति : सरोज तामाङ

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा’को ५६ औं अंकमा यो हप्ता एथ्लेटिक्स खेलाडी निमेश गुरूङको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment