Comments Add Comment

महरा प्रकरणमा फरेन्सिक जाँच गर्ने तयारी

१७ असोज, काठमाडौं । आजका पत्रिकाहरु पनि महरा प्रकरण र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा केन्द्रित छन् ।

कान्तिपुर दैनिकले ‘रोशनीले नबताएको कथा’ शीर्षकमा मुख्य समाचार छापेको छ । रोशनी कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने र पछि बयान फेर्ने महिला कर्मचारी हुन् । उनको आरोपपछि महराले पदबाट राजीनामा दिएका छन् ।

कान्तिपुर लेख्छ, ‘प्रहरीमा उजुरी गर्न जाउँला भनेर कुरेकी उनलाई श्रीमानले पत्याइदिएनन् । बरु तनहुँबाट फर्किएर सरासर महरालाई भेट्न गए, सरसल्लाह गरे, कुरा मिलाए । घर फर्किएर ‘श्रीमतीलाई कुरा किन बाहिर ल्याइस् ?’ भनेर झपारे ।’

कान्तिपुरले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुर्व्यवहार आरोपका विषयमा प्रहरीले फरेन्सिक जाँच गर्ने समाचार भित्री पृष्ठमा छापेको छ । शाहीको कोठाबाट बरामद सामान, उनले डिप्रेसन पीडित भएको व्यहोरासहित प्रहरीमा दिएको निवेदन र सभामुख पदबाट महराले दिएको राजीनामा एकै ठाउँमा राखेर अनुसन्धान गर्न लागिएको समाचारमा उल्लेख छ ।

नागरिकले महरा प्रकरण नयाँ मोडमा पुगेको लेखेको छ । पीडित भनिएकी रोशनी शाही र उनका श्रीमानबीच सम्बन्ध विच्छेद भएकाले यो प्रकरण नयाँ मोडमा पुगेको समाचारको सार छ ।

राजधानी दैनिकले महराले सरकारबाट लिँदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरे पनि निवास अझै नछाडेको समाचार लेखेको छ ।

गोरखापत्र दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रकाशित छ । अन्तर्वार्ताको क्रममा प्रधानमन्त्री ओलीले चीनसँगको मित्रता प्राथमिकतामा रहेको बताएका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले गाडी अन्य पार्टीका नेताहरुले चढिरहे पनि सत्तारुढ नेकपाले ती सबै आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको समाचार छापेको छ । नेकपाले प्रतिवन्धित नेकपा महासचिव विप्लव, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलगायत ११ नेताको गाडी आफ्नो सम्पत्ति विवरणमा राखेको समाचारमा उल्लेख छ ।

अन्नपूर्णले राष्ट्रपति सीलाई ‘जेड प्लस’ सुरक्षा दिइने समाचार छापेको छ । यस्तै कान्तिपुरले राष्ट्रपति सीको जेटलाई छड्के पार्किङ शीर्षकमा समाचार छापेको छ । चिनियाँ राष्ट्रपतिको जेट विमानलाई विमानस्थलको टर्मिनल भवनतर्फ फर्काएर पश्चिम-पूर्व राख्न नसकिने भएको छ । अहिले जसरी अन्य विदेशी एयरलाइन्स राखिन्छन्, त्यसरी पार्किङ गर्न नसकिनुको कारण यस जहाजलाई पुसब्याक गर्न (धकेल्न) सकिने उपकरण नहुनु हो ।’

कारोबारले नक्कली बिलमा सरकारको निगरानी गरिरहेको समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment