Comments Add Comment

त्रिविको उपकुलपतिमा भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस

१७ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।

बालुवाटार स्रोतका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनाको नामावलीमा डा. भगवान कोइरालाको नाम पहिलो नम्बरमा छ । यसैगरी डा. धर्मकान्त बास्कोटा र डा. चन्द्रमणि पौडेलको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा परेको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञसमेत रहेका डा. कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशकसमेत बनेका थिए । तर, कार्यकारी निर्देशक बनेको १०८ दिनपछि उनले पदबाट राजीनामा दिएका थिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिंगापुरमा उपचार गर्न जानुअघि डा. कोइरालालाई त्रिविको उपकुलपति बन्न प्रस्ताव गरेको समाचारहरु सार्वजनिक भएका थिए ।

उपकुलपतिका लागि सिफारिस नामावलीको दोस्रो नम्बरमा रहेका डा. बास्कोटाले नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट हालै अवकास पाएका थिए । डा. बास्कोटा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् ।

तेस्रो नम्बरमा सिफारिस भएका डा. पौडेल त्रिविका पूर्वरजिष्ट्रार हुन् । तथ्यांकशास्त्रका प्राध्यापक उनलाई सरकारले २०७४ सालमा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

तत्कालीन उपकुलपति प्रा.डा. तिर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवम् शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन गरेको थियो । तर, समितिले लामो समयसम्म पनि नाम छनोट गर्न नसकेपछि रेक्टर प्रा.डा. सुधा त्रिपाठीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment