Comments Add Comment
सुरुभक्तको उपन्यास अंश :

प्रतिगन्ध : नेपालीको क्रुरता, अमेरिकनको असुरक्षा

अकस्मात् महेश थापाको हत्या भयो । त्यस आइतबार, बिदाको दिन, अमर नियमितभन्दा केही ढिलो उठ्यो । दिनको अधिकांश समय अपार्टमेन्टमै बितायो । साँझपख सनी साइडकै एक परिचित भारतीयको दोकानबाट सक्कली फूलको बुके किन्यो । अनुत्साही मनले ग्लोबलका प्रमुख कार्यकारी हेनरी ब्राउन्सनको विवाहको २१औं वर्षगाँठमा सामेल हुन अपर मानहाटनस्थित निवासमा पुग्यो । शुभकामना र बुके दियो । निवास परिसरको ठूलो चउरमा उभिएर हातमा गिलास समाइरहेका अतिथिहरूका भिडमा हल्का पेय पदार्थको एउटा गिलास समाएर मिसियो ।

अघिल्लो वर्षसम्म ऊ आरतीसँगै आएको थियो । तर, अहिले आरती न्युयोर्कको कुन अजिङ्गरको आहारा बनी र हराई ? ऊसित कुनै जवाफ थिएन । जवाफ दिनुपर्ने परिस्थिति सिर्जना नहोस् भनेर ऊ परिचितहरूको भिडमा अपरिचितहरूमाथि रुचि लिइरहेको थियो ।

डिनरका बेला अमर अपरिचितहरूसितै बस्यो ।

“के म यहाँ बस्न सक्छु, आपत्ति मान्नुहुन्न भने ?”, अमरले एउटा टेबल वरपरका चार कुर्सीमध्ये एउटा कुर्सी खाली देखी सोध्यो, केही असजिलो मुस्कुराउँदै पक्का अङ्ग्रेजी पारामा ।

“ए, बस्न सक्नुहुन्छ… खुशीसाथ ।”, तीन जनामध्ये एकले भने । दुईले टाउको हल्लाए स्वीकृतिसाथ ।

“धन्यवाद ! म ग्लोबलमा हेनरीको सहकर्मी हुँ । नाम अमर प्रधान । नेपालबाट ।”, अमरले कुर्सीमा बस्दै टाउको झुकायो ।

जेम्स यासरले सोधे – नेपालमा विद्रोहीहरूले गाउँको एक मानिसलाई पक्रेर जङ्गलमा हातखुट्टा बाँधेर यातना दिन थालेछन् । क्रूर विद्रोहीले भनेछन्– सजिलोसित मर्ने मन भए हामीले मागेजति जरिवाना तिर्नुपर्छ । के यो घटना सत्य हो ?

“तपाईंलाई भेट्दा खुशी लाग्यो । म जेम्स यासर ।”, उनले हातको काँटा चम्चा नछोडी टाउको झुकाए ।

“म अल्फ्रेड हिक्स ।”

“म रिचार्ड निकोल्सन । हामी तीनैजना हेनरीका मित्र एवम् छिमेकी हौं ।”

सबैले उत्साहपूर्वक मुस्कुराउँदै शिष्टाचार व्यक्त गरे ।

“तपाईंहरूसित परिचय गर्न पाउँदा खुशी लाग्यो ।”, अमर पनि शिष्टाचारवश मुस्कुरायो । खाने क्रम चल्यो । कछुवा गतिमा ।

“महाशय, तपाईं नेपालबाट आउनुभएको भन्दा मलाई एउटा कुरा सोध्न मन लाग्यो । केही वर्ष पहिले नेपालमा द्वन्द्व हुँदा मैले एउटा समाचार पढेको थिएँ । समाचार अनुसार विद्रोहीहरूले गाउँको एक मानिसलाई पक्रेछन् अनि जङ्गलमा लगेर हातखुट्टा बाँधी ठूलो यातना दिन थालेछन् । यातना खप्न नसकेर त्यस मानिसले आफूलाई सजिलोसित मारिदिन अनुरोध गरेछन् । जवाफमा क्रूर विद्रोहीहरूले भनेछन्, “सजिलोसित मर्ने मन भए हामीले मागेजति जरिवाना तिर्नुपर्छ । असाध्य पीडा सहन अनिच्छुक त्यस मानिसले विद्रोहीहरूको कुरा स्वीकार गरेछ अनि घरमा कसैलाई जरिवानाको रकम लिन पठाएछ । रकम पाएपछि विद्रोहीहरूले त्यस मानिसलाई अरू यातना नदिई एकैपल्ट छातीमा गोली ठोकी मारेछ । के यो घटना सत्य हो ?”

जेम्स यासरले मजाले रोस्ट पारिएको कुखुराको फिला टोक्दै सोधे ।

“सत्य हुन सक्छ । त्यसबेला यस्ता थुप्रैै अमानवीय घटना घटित भएका थिए । विद्रोही र सरकार– दुवै पक्षबाट । हजारौं निरपराधहरू मारिए, कठोरतापूर्वक दण्डित भए, विस्थापित भए, बलात्कृत भए । युद्धउन्मादीहरूले बालबालिकाहरूको समेत हत्या गरे… ।”, अमरले भन्यो ।

“नेपालीहरूको वीरताको इतिहास मैले पढेको छु । वीरहरूले आफ्नै मानिसहरूको कसरी हत्या गर्न सक्छन् ? विश्वास लाग्दैन ।”, अल्फ्रेड हिक्सले भने ।

“हो, वीरहरूले पराईको पनि अन्यायपूर्वक हत्या गर्न सक्दैनन् भने आफ्नाहरूको हत्या कसरी गर्न सक्छन् ? न यो सम्भव कुरा हो, न बुद्धका देशका नेपालीहरूले आपूmआपूmबीच काटमार मच्चाउनु सम्भव कुरा हो । तर असम्भव कुराहरू भए । मेरै देश नेपालमा भए ।”, अमरले भन्यो ।

“मानिसहरू यति क्रूर कसरी हुन सक्छन् ?”, रिचार्ड निकोल्सनले कुम झट्कार्दै टाउको हल्लाए ।

“हिंस्रक पशुहरू स्वभावले क्रूर हुन्छन्, सभ्य मानिसहरू विचारले क्रूर हुन्छन् । हामी इसु–बुद्धहरूको जति पूजा गरौं, युद्ध हुँदा रगत नै बग्छ, पानी बग्दैन । क्रूरता नै जन्मन्छ, दया माया जन्मँदैन ।”, अमर मुस्कुरायो ।

“हो, कुरा सही हो ।”, अल्फ्रेड हिक्सले भने ।

“मानिसको जस्तै देशको पनि नियति भन्ने कुरा हुन्छ हुँदैन, म भन्न सक्दिनँ । तर मलाई एउटा सम्झना भयो । अहिले हाम्रो देश संयुक्त राज्य अमेरिकालाई विश्वको महाशक्ति राष्ट्र भनेर धेरैले भन्छन् । हामी नागरिकहरू यसमा गर्व अनुभव गर्न पनि चाहन्छौं । तर के हामी सुरक्षित छौं ? के संयुक्त राज्य अमेरिका आफैं आफ्नो हातमा सुरक्षित छ ?”, रिचर्ड निकोल्सन प्रश्नात्मक बने ।

“रिचर्ड, तिमीले अहम् प्रश्न गर्‍यौं । यी प्रश्न प्रत्येक अमेरिकीले आफूलाई सोध्नु जरुरी छ । वास्तवमा हामी कति सुरक्षित छाैं ? हामीले राष्ट्र निर्माणको युद्ध लड्यौं, गृहयुद्ध लड्यौं, विश्वयुद्ध लड्यौं । मानवताको भलाइका लागि हामीले धेरै महत्वपूर्ण कार्यहरू गर्‍यौं । यी हाम्रा लागि निश्चय पनि राष्ट्रिय गर्वका कुरा हुन् । तर, अहिलेको अवस्था के छ ? अहिले अमेरिका शक्तिशाली छ । तर, नागरिकहरू कमजोर र असुरक्षित छन् । सत्य यही हो चाहे स्वीकार गर वा नगर ।”, जेम्स यासरले गम्भीरतापूर्वक भने ।

“जेम्स, मेरो विचारमा आम अमेरिकीहरूले यो कुरा स्वीकार गरिसकेका छन् । भियतनाम युद्धबाट हामी कमजोर र असुरक्षित बन्यौ, खाडीयुद्धबाट अरू कमजोर र असुरक्षित बन्यौं । इराकी युद्धपछि त दयनीय नै बन्नुपर्ने अवस्था छ ।”, अल्फ्रेड हिक्सले भने ।

“हो अल्फ्रेड । म पनि यही अनुभव गर्छु । कोलोराडो निवासी मेरा एक परिचितका पुत्र खाडी युद्धमा मारिएका थिए । उनको मृत शरीरलाई त्यहाँका बासिन्दाहरूले बर्बरतापूर्वक सडकहरूमा घिसारेर घृणा व्यक्त गरेको दृश्यलाई म कहिले पनि बिर्सन सक्दिनँ । म आतङ्कित हुन्छु ।”, रिचर्ड निकोल्सनले भने ।

“त्यो दृश्य म पनि सम्झन्छु र विचलित हुन्छु रिचर्ड । मेरा पनि एक परिचितका पुत्री इजिप्ट भ्रमणमा निस्केकी थिई । त्यहाँका पिरामिडहरू अवलोकन गरी फर्कने क्रममा लापत्ता भइन् । अमेरिकाविरोधी समूहले अपहरण गरेको आशङ्का छ ।”, जेम्स यासरले भने ।

“हामी अमेरिकीहरूलाई आफ्नै देशमा पनि डर, विदेशमा पनि डर– यस्तो भयावह स्थितिको अन्त्य कहिले हुन्छ होला ?”, अल्फ्रेड हिक्स भावुक बने ।

रिचर्ड निकोल्सनको प्रश्न– हाम्रो देश अमेरिकालाई विश्वको महाशक्ति राष्ट्र भनेर धेरैले भन्छन् । तर, के हामी नागरिक सुरक्षित छौं ? के अमेरिका आफैं आफ्नो हातमा सुरक्षित छ ?

“महाशयहरू, हाम्रा दुई देशका परिस्थिति फरक छन् । तर, नागरिक अपेक्षा र सन्त्रास उस्तै छन् । तपाईंहरूको र मेरो देशका महान् पुर्खाहरूले हामीलाई भविश्यको सुन्दर सपना देख्न र महान् आशा गर्न सिकाएका थिए । हामी अकर्मण्य र चिन्तित मात्र बनेर हुँदैन, पुर्खाहरूले देखाएको बाटोमा क्रियाशील बन्नुपर्छ ।”, अमरले उत्साह र विश्वासपूर्वक मुस्कुराउँदै भन्यो । त्यसो भन्दा त्यसको पहिलो सकारात्मक असर ऊमाथि नै पर्‍याे । उसलाई आफू जीवनको दुःखबाट, पीडाबाट अनि अवाच्छित सन्त्रासबाट माथि उठेजस्तो आभास भयो । यसको दोस्रो सकारात्मक प्रभाव कुरा सुन्नेहरूमाथि पर्‍यो । जेम्स यासर, अल्फ्रेड हिक्स र रिचर्ड निकोल्सनले केही क्षणका लागि काँटा–चम्चा चलाउन छोडी सुसंस्कृत र प्रभावित टाउका हल्लाइरहे ।

मिस्टर आमर, तपाईंले साहै्र महत्वपूर्ण कुरा गर्नुभयो । मलाई राम्रो लाग्यो । म तपाईंलाई दिलैदेखि धन्यवाद भन्छु ।”, प्रभावित टाउको हल्लाएपछि पहिले जेम्स यासरले भने ।

“स्वागत छ”, अमर पनि मुस्कुरायो ।

“मिस्टर अमर, मैले यति उत्साहजनक कुरा धेरै समयदेखि सुन्न पाएको थिइनँ । तपाईंको कुरा सुनी म साँच्चै नै आभारी भएँ ”, अल्फ्रेड हिक्स भनेजस्तै देखिए ।

“हिक्स महोदय, मैले एक सामान्य कुरा गरेको थिएँ, तपाईंहरूले त्यसलाई महत्व दिनुभयो । यसका लागि म आफैं आभार व्यक्त गर्न चाहन्छु तपाईंहरूसित ।”, अमरले मीठो अनुभूति गर्‍यो ।

“यो तपाईंको विनयशीलता हो मिस्टर अमर । तपाईंको कुरा सुनेपछि मलाई बोध भयो– निराशाले निराशा मेटिँदैन । निराशा निराशाको औषधि होइन । निश्चय पनि हामी अहिले असुरक्षा र आतङ्कको अवस्थामा छौं । तर, हामीले सोचाइको पूरै तरिकालाई बदल्नु जरुरी छ । हामी एक यस्तो संसारको सपना देख्न सक्छौं, जहाँ कसैले शक्तिको दम्भ नपालुन्, जहाँ कसैले निर्बलताको कुण्ठा पनि नपालून् । के मैले तपाईंको कुरालाई सही ढङ्गले बुझें ?”, रिचर्ड निकोल्सनले सोधे ।

“अवश्य, तपाईंले एकदम सही बुझ्नुभयो । मलाई खुशी लाग्यो । वास्तवमा दम्भ आतङ्कको घर हो । कुण्ठा आतङ्कको घर हो । यी दुबैबाट मुक्त भएर नै हामी सुन्दर र महान् घर निर्माण गर्न सक्छौं ।”, अमरले भन्यो । जेम्स यासर, अल्फ्रेड हिक्स र रिचर्ड निकोल्सन फेरि प्रभावित भए र सकारात्मक टाउको हल्लाउँदै खान व्यस्त भए । उनीहरूको व्यस्ततामा काँटा चम्चाहरूले कुरा गर्ने मौका पाए । के कुरा गरे, आ–आफ्नो देश र भविष्यप्रति चिन्तित नेपाली र अमेरिकी नागरिकहरूले बुझेनन् ।

सेल फोनले आवाज गर्‍यो। अमरले अङ्ग्रेजी लवजमा क्षमा माग्दै फोन उठायो । एकैछिनको कुरापछि शिष्टतापूर्वक फेरि क्षमा माग्दै टेबलबाट भोजनको चाक्लो चिनियाँ प्लेट उचालेर उठ्यो ।

७५ नर्थ एभेन्युस्थित ग्रोसरी स्टोर्समा पुग्दा त्यहाँ कुनै भिड देखिएन । अमरले ट्याक्सीबाट ओर्लेर मध्यरात्रितर्फ उन्मुख वातावरणको गन्ध सुँघ्यो । चेल्सी मार्केटका अधिकांश ग्रोसरी स्टोर र सुपर मार्केटहरू बन्द भइसकेका थिए । महेश थापाले काम गर्ने ग्रोसरी स्टोर्सको एउटा ढोका खुला थियो । बाहिर न्युयोर्क प्रहरीको एउटा कार र लाम्चो भ्यान खडा थिए ।

अमरलाई वातावरणको मनोगन्ध प्रिय लागेन तर जस्तै अप्रियता र भयावहतामा पनि साथीप्रतिको कर्तव्यलाई उसले बिर्सन चाहेन । यस्तो बेला भावुकताभन्दा कर्तव्य पहिलो हुन्छ, उसले सोच्यो । सोचाइको यो आत्मविश्वास साथ ऊ निडर भई ढोकाभित्र पस्यो । ढोकाभित्र केही प्रहरीहरू घोप्टो परेको महेशको लासमाथि व्यस्त थिए । एक जना प्रहरीले बलियो सिक्रीले जर्मन सेफर्ड समातिराखेका थिए ।

स्टोर्सका एक दर्जन भयग्रस्त एवम् शोकग्रस्त कामदारहरू एउटा कुनामा अपराधीझैं उभिरहेका थिए । भारतीय कामदारहरूका बीचमा रुपेन आले, जगदीश शर्मा र सजिन गुरुङको खोजी गर्न अमरलाई केही गाह्रो परेन ।

उसले हेनरी ब्राउन्सनको घर परिसरबाहिर ट्याक्सी समात्नासाथ महेशको नराम्रो खबर छ, तुरुन्त ग्रोसरी स्टोर्स आउनू भन्दै फटाफट युवराज, सुवर्ण र रविलाई सेल गरेको भए पनि उनीहरू आइपुगेका थिएनन् । ग्रोसरी स्टोर्सका मालिक जोगिन्दर सिंह आइसकेका थिए । उनीसित मार्फत महेश अमरको तीन–चारचोटि भेटघाट भइसकेको हुनाले दुवैले एकअर्कालाई अनुहारले होइन, नामले नै चिनेका थिए ।

अमरले जोगिन्दर सिंहसित शोक व्यक्त गर्नुभन्दा पहिले उनैले अमरसित शोक व्यक्त गर्दै भने, “आमोर ! मेरा तो दोनो हात कट गया ! वाहे गुरु !”,

अमरले केही भनेन । पछि जोगिन्दर सिंहले उपस्थित प्रहरीका प्रमुखसित परिचय गराइदिँदा ऊ कर्तव्यवश बोल्यो, “म मृतकको घनिष्ठ साथी हुँ । हामी एउटै संस्थासित आबद्ध पनि थियौं । जाँचबुझको क्रममा मेरो सेवाको आवश्यकता परे सम्झनुहोला ।”, उसले प्रहरी प्रमुखलाई ग्लोबलको परिचयपत्र देखायो । भिजिटिङ कार्ड दियो । प्रहरी प्रमुखले परिचयपत्र फर्काउन र भिजिटिङ कार्ड राख्न नबिर्सी उसलाई धन्यवादसहित हत्याराहरू चाँडै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।

(सरुभक्तको उपन्यास प्रतिगन्धको अंश  )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment