Comments Add Comment

दशैंमा मासु खाँदा ध्यान दिनोस्

कुन मासु खाने, कुन नखाने ?

दशैंमा मान्यजनको हातबाट टीका-जमरासहित आर्शिवाद थाप्ने र मीठो-मसिनो खाने चलन छ । दशैंमा आफ्नो गच्छे बिर्सेर ऋणै काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिंगै खसी ढाल्ने होडबाजी नै चल्छ । ‘आयो दशैं ढोल बजाई, दशैं गयो ऋण बोकाई’ भन्ने भनाइ यही कारण चलेको हो ।

दशैंमा विशेष गरी मासुका विभिन्न परिकार बनाएर खाने चलन छ । त्यसक्रममा हुन जाने सा-सानो लापरवाहीले गर्दा दशैंको रमझममा बिमारी भएर अस्पताल धाउनुपर्ने अवस्थासमेत निम्तिने गरेको छ । त्यसकारण, मासुको सावधानीपूर्ण र सन्तुलित प्रयोग आवश्यक छ ।

मासुमा सबभन्दा धेरै १४ प्रतिशतदेखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिन बि, पोटासियमजस्ता तत्वहरू पनि पाइन्छन् । शरीरका लागि यी अति आवश्यक तत्वहरू हुन् । सन्तुलित भोजनका लागि मासु अनिवार्य नै मानिन्छ । तर, सही प्रयोग नगरेको खण्डमा यसबाट प्राप्त हुने तत्वहरू पाउन सकिँदैन ।

राम्ररी, सुरक्षित ढंगले राख्न जानिएन भने मासुमा सुरुमै अनेक रोग उत्पन्न गराउने जिवाणुहरु उत्पन्न हुन्छन् । सुरक्षित ढंगले राखिएको मासु पनि विभिन्न शारीरिक अवस्था वा उमेरकाहरुले कस्तो, कसरी, कसरी खाने भन्ने कुरा अहम् हुन्छ । अमेरिका र युरोपका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूले गरेका अध्ययन-अनुसन्धानले दैनिक धेरै मात्रामा रातो मासु खानाले मुटुमा असर पर्नुका साथै उच्च रक्तचाप निम्तिने निष्कर्ष दिएका छन् ।

ती अनुसन्धानहरुका अनुसार दैनिक धेरै मासु खाँदा आर्थाइटिस (हाडजोर्नीसम्बन्धी) रोगको सम्भावना अधीक हुन्छ । अत्यधिक मासु उपभोगबाट महिला-पुरुष सबैमा कोलस्ट्रोलको मात्रा बढ्ने अनुसन्धानहरुले देखाएका छन् ।

नेपालमा त मासु उपभोग गर्नेहरुले झनै होसियारी अपनाउन आवश्यक छ । किनभने, हामीकहाँ अधिकांश मासु पसलहरूमा नै लापरवाही गर्ने गरिएको छ । धेरैजसो ब्याक्टेरिया संक्रमण र शरीरमा जुकाका लार्भाहरूको प्रवेश मासुबाटै हुने चिकित्सक बताउँछन् । फोहोर बधशाला र मासु पसलहरु विभिन्न फ्लु र सरुवा रोग सर्ने माध्यम बनेका ।

दशैंजस्तो ठूला चाडबाडका बेला अस्पतालहरुमा बिरामी संख्या बढ्नुले पनि यही देखाउँछ । काठमाडौंको वीर, टिचिङ र पाटन अस्पतालको तथ्यांकले चाडबाडको समयमा धेरैलाई ‘फुड प्वाइजन’ हुने गरेको देखाउँछ ।

मासु र अन्य परिकारलाई स्वस्थकर ढंगले नराख्दा विषाक्तपन बढ्न पुग्छ । विषाक्त परिकार खाएको केहीबेरमै पेट बटारिने, ढुस्सिने, पखाला चल्ने, अजीर्ण वा अपच भएर पेट फुल्ने लगायतका लक्षण देखिन थाल्छन् । यस्तो भएमा तत्कालै नजिकको स्वास्थ्य संस्थाहरुमा गइहाल्नु पर्छ । यस्तो स्वास्थ समस्या व्यक्तिगत सरसफाईका साथै पकाएका वा नपकाएका खाने कुरा राख्दा हुने लापरबाहीसँग सम्बन्धित छ ।

दशैंका लागि खसी बोका किन्दा नै केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । हेर्दै अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएको, फनफनी घुमिरहने खसीबोका किन्नै हुँदैन । दुई-चार सय रुपैंया जोगाउने लोभमा रोगी खसीबोका किन्नु भनेको रोग निम्त्याउनु हो ।

दशैंमा काठमाडौं भित्रिने खसीबोकालाई सरकारी स्तरबाटै परीक्षण गरेर रातो र हरियो रंग दलिदिने गरिएको छ । सिंगमा हरियो रंग पोतिएका खसीबोका वा च्याङ्ग्रा स्वस्थ हुन् भने रातो रंग दलिएका अस्वस्थ ।

स्वस्थ खसीबोका किनेर ल्याएपछि बध गर्नेदेखि भण्डारण गर्ने र मासु पकाएर खानेसम्मका कुरामा ध्यान पुर्याए मासुजन्य रोगबाट सजिलै बच्न्ा सकिन्छ ।

यसरी सर्छ मासुबाट रोग

– काँचो, नपाकेको र पोलेको कालो मासु खाएमा
– बिजुली नभएका बेला पि|mजमा राखेको वा फ्रिज बाहिर राखेको मासु खाएमा
– फ्रिजमा राम्रो भण्डारण प्रक्रिया नअपनाएमा
– मासु काट्ने स्थान, अचानो, काट्ने चक्कु तथा हतियार सफा नभएमा
– सडेगलेको मासुमा लोभिएमा
– मासुका परिकार तयार पार्ने व्यक्ति (कुक) स्वस्थ नभएमा
– अस्वस्थ्य तथा बिरामी पशुपन्छीको मासु खाएमा
– बध गर्नेवित्तिकै पकाएर खाएमा

स्वस्थ्य मासु कसरी छान्ने ?

-मासु हलुका गुलाबी, हरियो वा प्याजी रंगको भए त्यो खान अयोग्य भइसकेको हुन्छ
– मासुबाट कुनै पनि किसिमको अमिलो, बिगि्रएको, मन नपर्ने गन्ध नआएको हुनुपर्छ
– मासु सफा र चलेको फ्रिजमा अलग-अलग गरी छोपेर राखेको हुनुपर्छ
– मासु काट्दा र समाउँदा तन्के जस्तो हुनु हुँदैन
– मासु पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काट्नेको तरिका, तराजु सफा छ कि छैन हेर्नुपर्छ

कुन मासु खाने, कुन नखाने ?

-फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु नखानु राम्रो
– बासी तथा खुल्ला स्थानमा राखेको मासु नखाने
– काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा खानु हुँदैन । किनभने काँचो मासु नै रोगको भण्डार हो ।
– पोलेको मासु -सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाने । किनकि पोलेको मासु राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्यधीक हुन्छ ।
– राम्ररी पखालेको र पाकेको मासुमात्र खाने
– धेरै मसला र तेलीय पदार्थ कम प्रयोग गर्ने
– बोसो र छालारहित मासु प्रयोगमा जोड दिने

मासु भण्डारण गर्ने तरिका

– काँचो र पाकेको मासु एकै स्थानमा नराख्ने ।
-मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै नराख्ने
-ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । योभन्दा राम्रा फ्रिजिङका माध्यमहरू पनि छन्, जुन व्यावसायिक संस्थाहरुमात्र हुन्छन् ।
-मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्नेे गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन । माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणुहरु मासुकै तरल पदार्थ तल्लो सतहमा राखिएका अन्य परिकार, सागसब्जी, फलफूलमा पर्ने सम्भावना हुन्छ ।

दशैंमा ध्यान दिनुपर्ने कुराहरू

-घरमा आफैंले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने
-विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने
-सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने
-टीका लगाउन जाने क्रममा दैनिक मासु नखाने
-मासु खानेवित्तिकै आइसक्रिम, दही, क्रिमका परिकारहरु नखाने
-दैनिक शारीरिक व्यायाम गर्ने
-आफूलाई स्वस्थ नभएको महसुुस नभएमा माछा-मासुको प्रयोग गर्दै नगर्ने
-सुरक्षित उपायहरु अपनाएर भण्डारण गरे/नगरेको आफैंले निरीक्षण गरेर मात्र खाने
-आफूले मासुसम्बन्धी पाएको जानकारी परिवार तथा आफन्तजनमा पनि बाँड्ने

(चालीसे नेपाल सेफ संघका कार्यकारिणी सदस्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment