Comments Add Comment

कराइरहने काठमाडौं, डराइरहने दाङ !

१८ असोज, दाङ । ‘काठमाडौं सधैं किन यसरी बेतमास कराइरहन्छ ?’ कार्यक्रम सहजीकरण गरिहेका घनश्याम अस्तित्व पूर्वप्राज्ञ अमर गिरीलाई प्रश्न गर्छन् ।

‘लामो समय हामी सामन्ती संरचनामा गयौं । यसरी पनि हामी केन्द्रलाई सधैं महत्वपूर्ण मान्यौं । परिधिलाई कसरी पनि माथि लैजानुपर्छ भन्ने विषयमा कहिले सोचिएन,’ डा.अमर गिरीको उत्तर छ, ‘त्यसमाथि मोफसलले केन्द्रसँग लड्न अझै हैसियत बनाएको छैन । हाम्रो संघर्षको स्तर कहाँ हो र काठमाडौं पुगेपछिमात्रै लेखक भइन्छ भन्ने मानसिकता त्याग्नुपर्छ ।’

त्यसपछि सहजीकरणकर्ता साहित्यकार नवीन विभासतर्फ फर्किन्छन्, ‘के दाङ सधैं डराइरहने हो ?’

विभास प्रश्नलाई राजनीतितर्फ डोर्‍याउँछन् ।

नवीन दाङ लगायतका मोफसलका जिल्ला आफैं डराएको नभई डराउन बाध्य पारिएको बताउँछन् । भन्छन्, ‘हाम्रो समाज, राजनीति, संस्कृति जसरी बुनिएको छ । त्यही संरचनाले डो¥याएको मानसिकताकका कारणले मोफसलमा डराउनुपर्ने अवस्था छ ।’

सहजीकरण गरिरहेका घनश्याम अस्तित्व युवा कवि विष्णु सन्यासतर्फ सोझिन्छन्, ‘दाङमा बस्दा काठमाडौंलाई गाली गरिरहनुभयो । अहिले आफैं काठमाडौंमा हुनुहुन्छ । काठमाडौंबाट हेर्दा दाङ कस्तो देखियो ?’

कवि सन्यास भने दाङ लगायत मोफसल आफैंमा उर्बर भूमि रहेको बताउँछन् । भन्छन्, ‘जो जहाँ गए पनि मोफसल आफैंमा उर्बर भूमि हो । काठमाडौंसँग सत्ता छ, त्यही सत्ताको बलमा मोफसलका शक्तिलाई बेचेर खाइरहेको छ ।’ उनी मोफसलले आफ्नै सत्ता निर्माण गर्न नसक्दा आफ्नो शक्ति पनि गुमाइरहेको दाबी गर्छन् ।

देश संघीयतामा गइसकेको छ । तर, लामो समय केन्द्रीकृत शासन पद्दतिबाट चलेको देशमा अहिले पनि केन्द्रीकृत मानसिकता हाबी भइरहेको आरोप छ । त्यही आरोपको चिरफार गर्न दाङमा डा. गिरी, विभास र सन्यासबीच बहस भएको हो । बहसको यो अवसर जुराइदिएको हो, उदाहरण समूह दाङले ।

साहित्यिक क्षेत्रमा क्रियाशील उदाहरण समूहले शनिबार फूलपातीको अवसर पारेर एकदिने साहित्यिक महोत्सव आयोजना गरेको हो ।

महोत्सवको पहिलो सत्रमा शनिबार ‘कराइरहने काठमाडौं र डराइरहने दाङ’ शीर्षकमा बहस भयो । बहसमा पूर्वप्राज्ञ डा. गिरीले डमोक्रेटिक मुलुकमा पनि केन्द्रीकृत मानसिकताबाट चलेको हुनाले काठमाडौं र मोफसलबीच दूरी बढिरहेको बताए ।

‘काठमाडौं स्रोत र साधन सबै आफूसँग राख्छ । तर, मोफसल स्रोत र साधनबिना मोफसल लडिरहनुपरिहेको छ,’ डा गिरीले भने, ‘तर, केन्द्र र परिधिबीचको दूरी रहिरहने छ ।’ उनले काठमाडौंलाई चुनौति दिन मोफसलका स्रष्टा आफैं जागरुक हुनुपर्ने बताए ।

तर, डा गिरीको कुरामा नवीन विभास फरकरुपमा देखा परे । उनले आफू काठमाडौंमा साहित्यकार बन्न नभई शिक्षाका लागि गएको, तर काठमाडौंले कहिल्यै नस्वीकारेको दुःखेसो पोखे ।

‘काठमाडौंमा बसेर मोफसलका कथाहरु लेखिरहेको छु । तर, वर्षौं भइसक्दा पनि काठमाडौंले स्वीकारेको छैन,’ उनले भने, ‘दाङ र रोल्पाले पनि तँ काठमाडौंको भइस् भन्ने आरोप लगाइरह्यो ।’

अर्का वक्ता कवि विष्णु सन्यासले काठमाडौंलाई दोष दिन चाहेनन् । उनले केन्द्रले भन्दा नयाँ सिर्जनालाई मोफसलले नै दबाइरहेको उनले दाबी गरे । सन्यास भन्छन्, ‘सबैभन्दा विभेदको राजनीति मोफसलमा छ । मोफसलले नयाँ आएका सर्जकलाई यतै दबाइरहेका छन् । यताको अग्रज पुस्ताले नाकको आकार हेर्छ कि ? उचाइ हेर्छ कि ? जुँगादाह्रीको फैलावट हेर्छ कि ?’

फेरि प्रश्न दोहोरियो साहित्यकार विभासतर्फ । सहजकीकरणकर्ता घनश्याम अस्तित्वले सोधे, ‘तपाईं रोल्पा, रुकुम, डोल्पा पुगेर कथा लेख्नुहुन्छ । तर, त्यसको लिंक सेयर गर्न काठमाडौं नै पुग्नुुहुन्छ । खास के रहेछ ?’

विभास फेरि यसमा नेपाली सामाजिक संरचनालाई नै दोष दिन्छन् । भन्छन्, ‘रैथाने कुरा लेख्नुपर्छ भनेरै म आफ्नो गाउँठाउँका कथा लेख्छुु । तर, यो सामाजिक संरचनाले मलाई पनि डो¥याएर काठमाडौं नै पुग्नुपर्छ भन्छ । त्यसकै लागि पनि काठमाडौं पुग्नुपर्ने हुन्छ ।’

कार्यक्रममा सबै वक्ताले काठमाडौंले आफूलाई सत्ता ठानेपछि त्यो मानसिकता भत्काउनुपर्ने आवश्यकता औंल्याए । संरक्षण गरेर कोही लेखक नबन्ने भएकाले सिर्जनशीलता र संघर्ष सधैं गरिरहनुपर्ने उनीहरुको भनाइ थियो । काठमाडौं कराउँदा मोफसल नडराई उल्टै मानकलाई प्रश्न गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

‘दाङ डराउँदैन । सर्जक आफैं अग्रसर हुनुपर्छ । अब सबै मोफसल काठमाडौंलाई प्रश्न गर्नेगरी उभिनुपर्छ,’ कवि सन्यासले भने, ‘अब दाङ डराउने होइन, आफ्नो अस्तित्व खोज्न आफैं कराउने हो ।’

महोत्सवमा ‘कराइरहने काठमाडौं, डराइरहने दाङ’ लगायत सुदूरका सञ्चारमा सिर्जना र ५ कविका १० कवितासहित तीन सत्रमा चलेको थियो । यो महोत्सवबाट मोफसलका जिल्लामा साहित्यिक गतिविधि बढाउन सहयोग पुग्ने आयोजकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment