Comments Add Comment

पोखरेली जिब्रोले खोज्छ हिमाली च्यांग्राकै स्वाद

१९ असोज, पोखरा । पोखरामा कहिलेदेखि हिमाली च्यांग्रा भित्रियो, ठ्याक्कै तथ्यांक छैन । तिब्बती सीमादेखि हिमाली जडिबुटी खाँदै आइपुग्ने च्यांग्रा भित्रिन थालेको झण्डै सय वर्षको आसपासमा भएको जानकारहरु बताउँछन् ।

हिमाली संस्कृतिका अध्येता पूर्णप्रसाद तुलाचनको मत छ, ‘हिमाली जिल्लाबाट भोट हुँदै नुन बोकाएर पोखरा ल्याउने र फर्किँदा च्यांग्रा बेच्ने, समान लैजाने काम हुन्थ्यो ।’ यही कारण धेरै पहिलादेखि पोखरेली जिब्रोले च्यांग्राको स्वाद चाखेको छ ।

च्यांग्रा अब पोखरेली संस्कृति नै बन्न थालिसक्यो कि भन्ठान्छन् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ । ‘पहिले च्यांग्रा आउँछ अनि बल्ल ल है अब दसैं आयो भन्ने महसुस गराउन थाल्यो,’ संस्कृतिकर्मी तीर्थ भन्छन्, ‘अब त पोखरामा हजारौं च्यांग्राको कारोबार हुन्छ ।’

पोखरामा जसरी जहिले भित्रिए पनि हिमालदेखि आइपुग्ने च्यांग्राको स्वादले पोखरेलीलाई चमत्कार गरेको छ । हेमजामा च्यांग्रा छानिरहेका हरि पराजुली भन्छन्, ‘दसैंमा एउटा च्यांग्रा पनि भान्छामा नपाके के दसैं ?’ च्यांग्राको स्वाद जिब्रोमा परेन भने दसैंको खल्लो लाग्न थालेको पराजुलीको अनुभव छ ।

पहिले दसैंका लागि भनेर घरमै खसी बोका पाल्ने पोखराका ग्रामिण भेगका जनतालाई पनि अब च्यांग्रा नखाइ नहुने भइसकेको कृस्तीका पदमबहादुर थापा बताउँछन् । ‘पहिले हामी घरमै दसैंका लागि खसी बोका पाल्थ्यौं । अहिले समूहमा मिलेर भए पनि च्यांग्रा त चाख्नुपर्छ भन्ने मान्यता स्थापित भइसक्यो,’ थापाले भने ।

हिमाली लेकमा पाइने भेडा, च्यांग्राले जडीबुटी खाने भएकाले पनि स्वादिलो र स्वास्थ्यकर हुने भन्दै कसै नसक्नेले पनि एक किलो भए पनि चाख्न खाज्ने स्थानीय राजु पौडेल बताउँछन् । पोखरेलीका निम्ति मूल्य जति नै परे पनि अब च्यांग्रा प्रतिष्ठासँग पनि जोडिन थालेको संस्कृतिकर्मी तीर्थ श्रेष्ठको अनुभव छ ।

हुन पनि पोखरामा अहिले धमाधम च्यांग्रा किन्ने र काट्ने क्रम सुरु भइसक्यो । अब २ दिनसम्ममात्रै हो च्याग्रा बिक्ने क्रम चल्ने । यसपाली पोखरामा ३० हजारभन्दा बढी च्यांग्रा आइपुगेको अनुमान छ ।

कास्कीको हेमजामा अहिले च्यांग्रा किन्नेको घुइँचो लागेको छ । मुस्ताङ, तिब्बत, डोल्पा लगायतका जिल्लाबाट च्यांग्रा म्याग्दी, पर्वत हुँदै पोखरा आइपुगेका छन् । हिँडाएर पोखरा ल्याउँदै गर्दा कति बाटो पर्ने जिल्लामै अपत हुन्छन् । यसपटक मुगु बझाङदेखि पनि पोखरामा च्यांग्रा आइपुगेका छन् ।

पोखरामा यसपटक २० हजारभन्दा तलको च्यांग्रा नपाइने ब्यापारी बताउँछन् । ठूलो च्यांग्रा ३०/३५ हजार रुपैयाँसम्ममा बिक्री भएको व्यापारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment