+
+
Shares

बन्दुकदेखि बाख्रापालनसम्म

सशस्त्र युद्धदेखि भारतमा पसिना बगाएका उनको व्यवसायिक यात्रा भने भारतबाट खरिद गरेर ल्याएको एक जोडी बाख्राबाट सुरु भयो ।

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८३ साउन १४ गते ८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाका लोकमन वलीले भारतबाट फर्किँदा ल्याएको एक जोडी बाख्राबाट सुरु गरेको व्यवसाय अहिले करोडौंको लगानी र ४०० भन्दा बढी बाख्रासहित सफल फार्म बनेको छ ।
  • पूर्व लडाकुसमेत रहेका वडा अध्यक्ष वलीले आधुनिक प्रविधि अपनाई स्थानीय युवालाई समेत रोजगारी दिएर कृषि क्षेत्रमा आत्मनिर्भरताको उदाहरण प्रस्तुत गर्नुभएको छ ।
  • उनको व्यावसायिक बाख्रापालनबाट वार्षिक ५० लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ र यसले आफ्ना सन्तानको उच्च शिक्षाका लागि समेत आधार तय गरेको छ ।

१२ साउन, रोल्पा । २०५४ सालमा स्वास्थ्य उपचारका लागि भारतको राजस्थान पुगेका रोल्पाका लोकमन वलीले त्यतिबेला आफू एक दिन सफल व्यावसायिक बाख्रापालक बन्छु भन्ने कल्पनासमेत गरेका थिएनन् । तर, उपचारपछि त्यहाँ बिताएका १६ महिनाले उनको जीवनको दिशा नै बदलिदियो ।

राजस्थानमा करिब १ हजार ५०० भन्दा बढी बाख्रा रहेको आधुनिक फार्ममा काम गर्ने अवसर पाएका वलीले उन्नत जातका बाख्राको व्यवस्थापन, प्रजनन, दाना, स्वास्थ्य तथा बजार व्यवस्थापनसम्मका व्यावहारिक सीप सिके। दिनभर अरूको फार्ममा काम गर्दा उनको मनमा एउटा प्रश्न बारम्बार उठ्थ्यो । यति मिहिनेत अर्काको देशमा गर्न सक्छु भने आफ्नै गाउँमा किन नगर्ने ?’ यही प्रश्नले उनलाई नेपाल फर्किने निर्णय गरायो ।

‘२०५४ सालमा उपचारका लागि भारत गएको थिएँ । स्वास्थ्य ठीक भएपछि आधुनिक बाख्रा फार्ममा करिब १६ महिना काम गर्ने अवसर पाएँ,’ वली सम्झन्छन्, ‘त्यहीँ काम गर्दा आफ्नै गाउँमा पनि यस्तो व्यवसाय गर्न सकिन्छ भन्ने आत्मविश्वास जाग्यो ।’

एक जोडी बाख्राबाट करोडौंको व्यवसाय

नेपाल फर्किने बेला उनले आफूले काम गरेको फार्मबाट उन्नत जातका एक जोडी बाख्रा खरिद गरेर ल्याए । त्यही एक जोडीबाट सुरु भएको यात्रा विस्तारै व्यावसायिक बाख्रापालनमा रूपान्तरण भयो ।

वर्षौंको निरन्तर संघर्ष र मेहनतपछि उनले २०७२ सालमा ‘वली बाख्रा फार्म’ विधिवत् दर्ता गरी आधुनिक व्यवसाय सञ्चालनमा ल्याए । सुरुमा दुई वटा बाख्राबाट सुरु भएको फार्ममा अहिले ४०० भन्दा बढी बाख्रा छन् ।

हालसम्म फार्ममा एक करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । वार्षिक करिब ५० लाख रुपैयाँ बराबरको कारोबार हुने यस व्यवसायबाट सबै खर्च कटाएर वर्षमा करिब १२ लाख रुपैयाँसम्म बचत हुने गरेको वली बताउँछन् ।

‘भारतबाट फर्किने बेला ल्याएको त्यही एक जोडी बाख्राले मेरो जीवन बदलिदियो,’ उनी भन्छन्, ‘धेरै संघर्षपछि २०७२ सालमा फार्म दर्ता गरेर आधुनिक रूपमा सञ्चालन गर्न सफल भएँ । आज यही व्यवसायले राम्रो आम्दानी मात्र दिएको छैन, अरूलाई पनि रोजगारी दिन सकेको छु ।’

व्यवसायले बदलिएको परिवारको भविष्य

बाख्रापालनबाट भएको आम्दानीले वलीले आफ्ना तीनै सन्तानलाई उच्च शिक्षा दिलाएका छन् ।

जेठा छोरा दन्त चिकित्साशास्त्र (डेन्टल) अध्ययन पूरा गरी हाल उच्च शिक्षाका लागि बेलायतमा छन् । कान्छा छोरा भेटेरिनरी विज्ञान अध्ययनपछि थप अध्ययनका लागि जापान पुगेका छन् । छोरीले रेडियोग्राफी अध्ययन पूरा गरेकी छन् ।

वलीका अनुसार, बाख्रापालनले आर्थिक आत्मनिर्भरता मात्र होइन, आफ्ना सन्तानको भविष्य निर्माण गर्ने आधार पनि बन्यो ।

गाउँमै रोजगारीको आधार

वलीको फार्मले उनको परिवारलाई मात्र होइन, स्थानीय युवालाई पनि रोजगारी दिएको छ । अहिले फार्ममा चार जना स्थानीयले स्थायी रोजगारी पाएका छन् । उनीहरूले खाना, बस्नेसहित मासिक १५ हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउँछन् ।

तीमध्येका एक हुन् लोकेन्द्र केसी । रोजगारीको खोजीमा उनी मलेसिया र साउदी अरेबियासम्म पुगे । वर्षौं विदेशमा काम गरे पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेनन् । अन्तत: नेपाल फर्किएपछि वलीको फार्ममा काम गर्ने अवसर पाए ।

‘विदेशमा वर्षौं बिताएँ, सोचेजस्तो भएन,’ केसी भन्छन्, ‘अहिले आफ्नै गाउँमा रोजगारी पाएको छु । परिवारसँगै बसेर काम गर्न पाइन्छ । विदेशभन्दा आफ्नै ठाउँमा काम गर्दा धेरै सन्तुष्टि मिल्छ ।’

बन्दुकबाट व्यवसायसम्म

लोकमन वलीको परिचय सफल कृषकमा मात्र सीमित छैन । उनी तत्कालीन माओवादी जनयुद्धका क्रममा करिब छ वर्ष भूमिगत रहेर विभिन्न संगठनात्मक जिम्मेवारी सम्हालेका पूर्व लडाकु पनि हुन् ।

शान्ति प्रक्रियापछि उनले राजनीतिक जीवनलाई निरन्तरता दिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा रोल्पा जिल्ला समन्वय समितिको सदस्य निर्वाचित भएका उनी २०७९ सालमा गंगादेव गाउँपालिका–३ को वडा अध्यक्ष बने ।

हाल उनी जनप्रतिनिधिका रूपमा सार्वजनिक सेवा र निजी व्यवसायलाई सँगसँगै अघि बढाइरहेका छन् । कार्यालय समयमा वडा कार्यालयमा जनताको सेवा गर्ने र बाँकी समय फार्म व्यवस्थापनमा बिताउने उनको दिनचर्या छ ।

‘राजनीति मात्र सबै कुरा होइन,’ वली भन्छन्, ‘आफैँ आर्थिक रूपमा आत्मनिर्भर हुँदा जनताको समस्या अझ राम्रोसँग बुझ्न सकिन्छ र सेवा गर्ने आत्मविश्वास पनि बढ्छ ।’

विदेश होइन, गाउँमै सम्भावना

रोजगारीका लागि विदेशिने युवाको संख्या बढिरहेका बेला लोकमन वलीको फरक उदाहरण बनेका छन् । विदेशबाट सीप र अनुभव पनि लिएर फर्किएका उनी त्यही सीपलाई गाउँकै माटोमा प्रयोग गरेर उनले सफल व्यवसाय गरिरहेका छन् ।

आज उनको फार्म सयौं बाख्रा, करोडौं रुपैयाँको लगानी, लाखौंको वार्षिक कारोबार र स्थानीय रोजगारीको केन्द्र बनेको छ । उनी रोल्पामा व्यावसायिक रूपमा सबैभन्दा धेरै बाख्रा पालन गर्ने कृषकमध्ये अग्रणी मानिन्छन् ।

उत्कृष्ट व्यावसायिक बाख्रापालन र कृषि क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रोल्पाले उनलाई जिल्लाकै उत्कृष्ट कृषकका रूपमा सम्मान गरिसकेको छ ।

लोकमन वलीको कथा एउटा सफल कृषकको कथा मात्र होइन । यो बन्दुक बोकेको एक पूर्व लडाकुले हलो, घाँस र गोठलाई आफ्नो भविष्य बनाएको कथा हो । यो विदेशबाट फर्किने युवाका लागि सीप, श्रम र आत्मविश्वास भए आफ्नै गाउँमा पनि सम्भावनाको ढोका खुल्न सक्छ भन्ने जीवन्त सन्देश हो ।

   

लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?