+
+
Shares
रिपोर्ट :

विश्वविद्यालयका आईटी कोर्ष : बजारको माग एकातिर, पढाइ अर्कैतिर

नेपालका विश्वविद्यालयहरूबाट आईटीमा स्नातक तह उत्तीर्ण गरेर बाहिरिने ठूलो संख्याका विद्यार्थीहरूसँग डिग्री त छ, तर बजार र उद्योगले खोजेको व्यावहारिक दक्षता भने छैन ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ साउन १४ गते ८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका विश्वविद्यालयहरूले पढाउने परम्परागत पाठ्यक्रम र आईटी बजारको मागबीच ठूलो खाडल हुँदा दक्ष जनशक्ति उत्पादनमा समस्या देखिएको छ।
  • आईटी अध्येता अमृता शर्माका अनुसार नेपालका ८५ प्रतिशतभन्दा बढी आईटी कम्पनीहरूले नयाँ स्नातकहरूलाई ६ देखि ७ महिनासम्म आफ्नै खर्चमा तालिम दिनुपर्ने बाध्यता छ।
  • त्रिभुवन विश्वविद्यालयका सहायक डिन डा. माधवप्रसाद घिमिरेले पाठ्यक्रम परिमार्जनको काम भइरहेको बताए पनि उद्योगका सरोकारवालाहरूले व्यावहारिक शिक्षाको अझै कमी रहेको औँल्याएका छन्।

१४ साउन, काठमाडौं । काठमाडौंको एक क्याफेमा बसेर काम गरिरहेका आईटी प्रोफेसनल सुमन खड्का चिन्तित थिए– अहिले पढिरहेका भाइ–बहिनीले भोलि कसरी काम गर्लान् ?

उनको संकेत थियो, सीपको आयु क्रमश: घट्दै गएकाले हाल विश्वविद्यालयमा सिकिरहेको कुराले भोलिका दिनमा काम गर्न कठिन हुन्छ ।

उनी स्वयं आईटीसम्बन्धी फ्रिलान्सिङ काम गर्ने भएकाले पछिल्ला अपडेटबारे जानकार छन् । त्यसैले भविष्यमा विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने विद्यार्थी तयार नगरे नेपाललाई कठिन हुन्छ ।

‘अहिले जो भाइ–बहिनीहरू आईटी पढिरहेका छन्, उनीहरू विश्वविद्यालयकै कोर्समा भरपर्ने र आफ्नो सिपको दायरा नबढाउने हो भने भोलि गाह्रो पर्छ भन्ने चिन्ता लाग्छ,’ खड्काले अनलाइनखबरसँगको अनौपचारिक कुराकानीमा भने, ‘किनकी हाम्रा विश्वविद्यालय सूचना–प्रविधिको हुर्कँदो बजारभन्दा निकै पछाडि छन् ।’

हुन पनि प्रविधिको विकाससँगै अधिकांश सिपको आयु घट्दो क्रममा रहेकोले विश्व बजारमै नयाँ पुस्तालाई थप चुनौती हुने बहस छेडिएका छन् । त्यसको लागि कसरी आउँदो पुस्तालाई तयार गर्ने भन्ने विषयमा काम भइरहेका छन् ।

सन् २०१६ मा विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को एक सर्वेक्षणले भनेको थियो, ‘आगामी पाँच वर्षमा ३५ प्रतिशत सिपहरू पुराना भएर काम नलाग्ने हुनेछन् ।’

अर्थात्, आफूलाई समयानुकूल राख्न कर्मचारीले नयाँ सिप सिक्नुपर्छ । सन् २०२० मा त कोभिड–१९ को प्रभाव पर्‍यो । यसले संसारभर काम गर्ने तरिका झन द्रुत गतिमा बदल्यो ।

त्यसबेला विश्वका ठूला कम्पनीहरूले भनेका थिए, ‘अब ५७ प्रतिशत सिपहरू बदलिन्छन्, किनभने धेरै कुरा अनलाइन र नयाँ प्रविधिमा गयो ।’

खड्काको चिन्ता पनि यही कुरासँग जोडेर थियो । यसरी विश्वबजारमा तीव्र परिवर्तन हुँदैगर्दा हाम्रा विश्वविद्यालयहरू पुरानै शैलीको पठनपाठनमा रमाइरहेका छन् । उद्योगलाई आवश्यक जनशक्ति तयार गर्ने क्षमता यसले झन् पछि झन् गुमाउँदै गएको छ ।

हुन पनि नेपालको हकमा शिक्षण सिकाइमा इन्टरनेट पहुँचको अवस्था समेत नाजुक देखिन्छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०८३ अनुसार, देशभर शिक्षण सिकाइमा इन्टरनेट पहुँच भएका शैक्षिक संस्था जम्मा ४३ प्रतिशत (आर्थिक वर्ष ०८१/८२) मात्र रहेका छन् ।

यसरी विद्यालय तहदेखि विश्वविद्यालयसम्म आइपुग्दा सूचना–प्रविधिलाई व्यावहारिक नबनाइँदा दक्ष जनशक्तिको अभाव देखिन्छ ।

नेपालका विश्वविद्यालयहरूबाट आईटीमा स्नातक तह उत्तीर्ण गरेर बाहिरिने ठूलो संख्याका विद्यार्थीहरूसँग डिग्री त छ, तर बजार र उद्योगले खोजेको व्यावहारिक दक्षता भने छैन ।

विश्वविद्यालयको परम्परागत पाठ्यक्रम र तीव्र गतिमा बदलिरहेको आईटी उद्योगको मागबीच ठूलो खाडल विद्यमान रहेको विभिन्न अध्ययनले देखाउँछ ।

जस्तो, इम्प्लोयबिलिटीमा पीएचडी गरेकी आईटी अध्येता अमृता शर्माले तीन वर्षअघि पीएचडी थेसिसको क्रममा करिब ३९० वटा आईटी कम्पनीहरूको एउटा सर्भे गरिन् ।

उक्त अध्ययनले नेपालका ८५ प्रतिशतभन्दा बढी आईटी कम्पनीहरूले ‘वर्तमान शैक्षिक प्रणालीबाट आउने नयाँ स्नातक’हरूले सीधै आएर काम गर्न नसक्ने देखाएको थियो ।

‘कम्पनीहरूको एउटै गुनासो छ– कलेज सिद्धिएर आएको नयाँ जनशक्ति (फ्रेसर्स) लाई सुरुका ६ देखि ७ महिना आफैँले पैसा खर्च गरेर ट्रेनिङ दिनुपर्छ,’ शर्माले अनलाइनखबरसँग भनिन्, ‘६–७ महिनाको ट्रेनिङपछि तिनै फ्रेसर्सले मज्जाले काम गर्न सक्छन् । यसको सीधा अर्थ के हो भने, समस्या विद्यार्थीमा होइन, विश्वविद्यालयका शिक्षा प्रणालीमा छ ।’

कति जनशक्ति निकाल्दै छन् विश्वविद्यालय ?

नेपालमा संघीय सरकार अन्तर्गत सञ्चालनमा रहेका १४ विश्वविद्यालयमा २०८१/८२ मा अध्ययनरत ७ लाख १० हजार ६९२ विद्यार्थीमध्ये १ लाख १४ हजार ३३३ (१६.०८ प्रतिशत) मात्र जनशक्ति उत्पादन भएको देखिन्छ ।

यसरी कुल जनशक्ति नै कम निस्किरहेको अवस्थामा महालेखा परिक्षकले विश्वविद्यालयले प्रदान गरेको शिक्षाको गुणस्तरका सम्बन्धमा अनुगमन गर्नुपर्ने बताएको छ ।

अझ विज्ञान–प्रविधिमा शैक्षिक अवस्था खस्कँदो रहेको महालेखाले नै जनाएको छ । ‘प्राविधिक क्षेत्रमा विद्यार्थी संख्या घट्दै गएकाले त्यसलाई घट्न नदिन सुधारका उपाय तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने’ सुझाव महालेखाको प्रतिवेदनले दिएको छ ।

विश्वविद्यालय अनुदान आयोगको तथ्यांक अनुसार, नेपालका कुल विद्यार्थीमा ४३ हजार ८८६ विद्यार्थी विज्ञान–प्रविधिमा छन् ।

विश्वविद्यालय अनुसार हेर्दा विज्ञान–प्रविधिमा सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा छन् । ३० हजार ४ सय १० विद्यार्थी त्रिविमा विज्ञान–प्रविधि अध्ययनरत छन् ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयमा ७ हजार ४२४, पोखरा विश्वविद्यालयमा २ हजार ९५, काठमाडौं विश्वविद्यालयमा एक हजार ५५६, सुदूरपश्चिम विश्वविद्यालयमा ८३६, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ३६९, लुम्बिनी विश्वविद्यालयमा ६१२, नेपाल खुला विश्वविद्यालयमा ३२०, राजर्षि जनक विश्वविद्यालयमा ७५, गण्डकी विश्वविद्यालयमा १५०, लुम्बिनी प्राविधिक विश्वविद्यालयमा ३५ र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालमा जम्मा ५ जना विद्यार्थी अध्ययनरत छन् ।

यसबाटै आईटी क्षेत्रमा जनशक्ति उत्पादन हुने गरेका छन् भने यसबाहेक व्यवस्थापन लगायतका संकायबाट पनि यस क्षेत्रमा जनशक्ति उत्पादन हुन्छन् ।

महालेखा प्रतिवेदन अनुसार, नेपालका कुल विश्वविद्यालयमध्ये ७८.९६ प्रतिशत विद्यार्थी नै त्रिविले ओगटेको छ । अन्य विश्वविद्यालयबाट तुलानात्मक रूपमा एकदमै कम जनशक्ति उत्पादन हुने गरेका छन् ।

यसरी त्रिविको तथ्यांक मात्र हेर्दा पनि नेपालमा औपचारिक शिक्षाको लागि विज्ञान–प्रविधि पढ्नेमा त्यस्तो उत्साह देखिँदैन ।

एकातिर कम जनशक्ति निस्किए पनि अर्कोतिर गुणस्तरको प्रश्न उस्तै छ । आईटी अध्येता अमृता शर्माका अनुसार, कलेजहरूले गुणस्तरीय जनशक्ति उत्पादन गर्न नसक्दा स्वदेशी आईटी कम्पनीहरू स्वयं ‘ट्रेनिङ सेन्टर’ बन्न बाध्य भएका छन् ।

कम्पनीले तीन/चार महिना लगाएर सिकाइ दक्ष बनाएका जनशक्ति फ्रिलान्सिङ वा विदेशिने गरेका कारण स्वदेशी आईटी उद्योगले ठूलो लगानी जोखिम र चुनौती पनि व्यहोर्नुपरिरहेको छ ।

उच्च शिक्षा प्रणाली अझै पनि घोकन्ते विद्या र रटेर परीक्षा पास गर्ने परिपाटीमै रुमल्लिनु यसको मुख्य जड भएको उनको ठम्याइ छ ।

तीव्र गतिमा परिवर्तन हुने प्रविधिको युगमा विश्वविद्यालयका पाठ्यक्रममा व्यावहारिक ज्ञान तथा ‘माइक्रो क्रिडेन्सियल कोर्स’ शून्यप्रायः छ भने टिमवर्क र क्लाइन्टसँग संवाद गर्ने ‘सफ्ट स्किल्स’को पनि ठूलो अभाव छ ।

त्यस्तै, करिब ६० प्रतिशत कोर्समा मात्र इन्टर्नसिप अनिवार्य गरिए पनि ती अधिकांश ‘एउटा कागजी सिफारिस पत्र’मा मात्र सीमित हुँदा विद्यार्थीहरू व्यावहारिक सिकाइबाट वञ्चित भइरहेको शर्माले औँल्याएकी छिन् ।

‘संसारभरि नै विश्वविद्यालयको शिक्षा र कार्यक्षेत्रको तालमेल १०० प्रतिशत मिलाउन गाह्रो हुन्छ । तर नेपालमा त समस्या अझ गम्भीर छ,’ शर्मा भन्छिन्, ‘हाम्रा परीक्षा र मूल्यांकन प्रणाली सबै रटेर पास हुने खालका मात्र छन् । प्राक्टिकल भनिएका कुरामा पनि विद्यार्थीको ध्यान जसरी हुन्छ जाँच पास गर्नेतिरै मात्र सीमित हुन्छ । यसले गर्दा व्यवहारिक सिकाइ छुटिरहेको छ ।’

विदेशबाट सम्बन्धन लिएका कलेजको अवस्था उस्तै

नेपालभित्रै पढाइ हुने कलेजबाहेक विद्यार्थीको आकर्षण विदेशबाट सम्बन्धन लिएका कलेजहरूमा झन धेरै देखिन्छ । नेपालमा कुल ५६ वटा कलेजले सम्बन्धन लिए पनि यीमध्ये अधिकांशमा आईटी पढाइ हुने देखिन्छ । सबैभन्दा धेरै विद्यार्थी नै आईटीमा रहेका छन् ।

शिक्षा मन्त्रालयले अनलाइनखबरलाई उपलब्ध गराएको तथ्यांकअनुसार विदेशबाट सम्बन्धन लिएका कलेजहरूले ९० वटा शैक्षिक कार्यक्रमहरू (स्नातकमा ७५ र स्नातकोत्तरमा १५) आईटी, कम्प्युटर र सफ्टवेयरसम्बन्धी छन्, जसमा हाल कुल २१ हजार २०५ विद्यार्थी अध्ययनरत रहेका छन् । यो तथ्यांक स्नातक र स्नातकोत्तर दुवै तहको हकमा हो ।

स्नातक तहमा मात्र विदेशबाट सम्बन्धन लिएका कलेजहरूमा २० हजार ५६० विद्यार्थी अध्ययनरत छन् भने स्नातकोत्तर तहमा ६४५ विद्यार्थी रहेका छन् । यो तहमा कम विद्यार्थी देखिएपनि आईटी अध्ययन गर्न स्नातक तहमा भने विद्यार्थीको बाक्लो रुचि देखिन्छ ।

तर, यसरी सञ्चालनमा आएका कलेजहरूको लापरबाही पनि उस्तै छ । सरकारी तहबाटै कुनै किसिमको छानबिन नहुँदा यस्ता कलेजले उपलब्ध गराउने शिक्षाको गुणस्तरीयतामाथि पनि प्रश्न उठेको छ ।

यसवर्षको महालेखा प्रतिवेदनले पनि मन्त्रालयको तहबाट हुनुपर्ने आवश्यक अनुगमन पनि नभएको उल्लेख गरेको छ ।

‘मन्त्रालयले यसरी अनुमति पाई सञ्चालनमा रहेको शिक्षण संस्थामा अध्ययनरत विद्यार्थी संख्या, विद्यार्थीबाट लिएको शुल्क, विदेशी विश्वविद्यालयलाई पठाएको रकम, विदेशबाट अध्यापन गराउन आएका जनशक्ति एवं श्रम स्वीकृति लगायतका पक्षको अभिलेख राखेको पाइएन,’ महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, २०८३ मा उल्लेख छ ।

यसबाहेक यस क्षेत्रमै कार्यरत स्वयंले पनि यस्ता कलेजको गुणस्तरीयतामाथि प्रश्न गरेका छन् । आईटी क्षेत्रकै अर्का एक अध्येता नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त केही कलेजहरूको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्छन् ।

‘हाम्रोमा परीक्षा नलिने भन्दै मार्केटिङ गरेको देख्छु । युरोप र अमेरिकामा त परीक्षा नहुनुको अर्थ ‘काम, प्रोजेक्ट र निरन्तर मूल्यांकन’को आधारमा परीक्षा हुनु हो,’ ती अध्येताले भने, ‘तर यहाँ रट्नु नपर्ने नाममा न त परीक्षा गराइन्छ, न त प्राक्टिकल काम नै सिकाइन्छ । यहाँ स्क्याम भइरहेको छ । यो सिधै अभिभावकमाथि भइरहेको ठगी हो ।’

नयाँ जनशक्ति झेल्नै कठिन मान्छन् आईटी कम्पनी

विश्वविद्यालयले उद्योगको आवश्यकतालाई बेवास्ता गर्दा आईटी जनशक्ति र बजारबीचको खाडल झनै फराकिलो बन्दै गएको नास आईटीका अध्यक्ष गौरवराज पाण्डे बताउँछन् ।

उनका अनुसार, पाठ्यक्रम बनाउँदा उद्योगलाई कहिल्यै समावेश नगरिएका कारण कोर्सहरू बजारभन्दा धेरै पछाडि छन् ।

‘पहिले विश्वविद्यालयले न करिकुलम बनाउन इन्भल्भ गर्थे, न अरु प्रक्रियामा । एक्कासी ३ महिनाको इन्टर्नसिप गराउ भनेर विद्यार्थी पठाउँछन्,’ पाण्डे भन्छन्, ‘तर ३ महिनापछि उनीहरू कम्पनीमा बस्दैनन् भन्ने थाहा हुने भएकाले कम्पनीहरूले पनि राम्रोसँग सिकाउने वातावरण हुँदैन ।’

कलेजमा प्रोजेक्टको सही मूल्यांकन नहुँदा विद्यार्थीको फाउन्डेसन कमजोर हुने र एआई वा नयाँ प्रविधि बुझ्न, डेबग गर्न तथा कोडिङ गर्न निकै कठिन पर्ने गरेको उनको अनुभव छ ।

भिल कम्पनीका संस्थापक दिलीप ढकालको भोगाइ पनि उस्तै छ । नेपालमा फ्रेसर राख्दा सुरुका ४–५ महिना आधारभूत सफ्ट स्किल र प्राविधिक ज्ञान सिकाउनमै बित्ने गरेको र सिकेपछि कतिपय फ्रिलान्सिङ वा विदेशतिर लागिहाल्ने चुनौति रहेको उनले बताए ।

विदेशमा भने विश्वविद्यालयले नै अत्यधिक प्राक्टिकल गराउने भएकाले विद्यार्थीले छिट्टै काम समात्ने भए पनि नेपालमा परम्परागत शिक्षण शैलीले गर्दा ठूलो समस्या परेको छ ।

यस्तो खाडल पुर्न केही आईटी कम्पनीले नै व्यक्तिगत रूपमा कलेजमा गएर पढाए पनि त्यसले समग्र समस्या समाधान नहुने पाण्डेको तर्क छ ।

‘हामी कम्पनी गएर वर्षमा ३०–४० जनालाई पढाएर यो देशव्यापी समस्या टर्नेवाला छैन,’ उनले भने, ‘यसका लागि सरकार र विश्वविद्यालयले नै मूलभूत रूपमा सोच्नुपर्छ ।’

यही सीपको खाडललाई पुर्न नास आईटीले नेपाल खुला विश्वविद्यालयसँग सहकार्य थालेको पनि उनले बताए । विगत ४–५ महिनादेखि संस्थाका करिब ४० जना इन्डस्ट्री एक्सपर्ट र युनिभर्सिटीका प्रोफेसरहरू मिलेर पूर्ण रूपमा व्यावहारिक प्रोजेक्ट र असेसमेन्टमा आधारित स्नातक तहको नयाँ कम्प्युटर साइन्स कोर्स तयार पारिरहेका छन् । यस्तो सहकार्य सबै विश्वविद्यालयमा हुन आवश्यक रहेको उनको तर्क छ ।

तर, सरकारी उपेक्षा बाबजुद यो क्षेत्र उत्साहजनक रुपमा अघि बढिरहेको छ । यद्यपि, सन् २०२२ मा आईआईडीएसले सार्वजनिक गरेको अध्ययनपछि कुनै नयाँ औपचारिक तथ्यांक यस क्षेत्रबारे आएका छैनन् । उक्त अध्ययनअनुसार सन् २०२२ मा सूचना प्रविधि सेवा निर्यातबाट देशको जीडीपीमा १.४ र वैदेशिक मुद्रा सञ्चितिमा ५.५ प्रतिशत योगदान देखिन्छ ।

यसको लागि त्यसबेला नै नेपालमा सात हजार छ सय ३७ आईटी कम्पनीमध्ये एक सय छ वटाले सेवा निर्यात गर्ने देखिएको थियो, जसमा १४ हजार सात सय २८ फ्रिलान्सरसहित ६६ हजार पाँच सय नौ जना आईटीसम्बन्धी काम गर्ने जनशक्ति रहेको देखिन्छ ।

तर, उसै त कम जनशक्ति, त्यसमाथि पनि गुणस्तरीय नआउँदा आईटी कम्पनीहरू थप मारमा परेको यसका जानकारहरू बताउँछन् ।

चार/पाँच वर्षअघि कोर्स हेरफेर गरेका थियौँ : त्रिवि

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन डा. माधवप्रसाद घिमिरेले विश्वविद्यालयको आईटी कोर्स र बजारबीच ठूलो खाडल नरहेको दाबी गरे । बजारको मागअनुसार पाठ्यक्रमलाई अझ परिमार्जन गर्न काम भइरहेको बताउँछन् ।

उद्योगका केही पक्षबाट प्रयोगात्मक अभ्यासको कमी रहेको गुनासो आए पनि त्रिविअन्तर्गतका बीएससी सीएसआईटी, बीआईटी लगायतका कार्यक्रममा अन्तिम सेमेस्टरमा इन्टर्नसिप अनिवार्य गरिएको र यसले विद्यार्थीलाई विभिन्न बैंक, कम्पनी तथा संस्थाहरूमा जोडेको उनको भनाइ छ ।

‘हामीले बजारको माग र प्रविधिको विकासलाई ध्यानमा राखेर कोर्समा एआई, एमएल (मसिन लर्निङ), डिएल (डिप लर्निङ) जस्ता आधुनिक विषयहरू समावेश गर्दै आएका छौँ,’ घिमिरेले भने, ‘पाठ्यक्रम परिमार्जनको हकमा पनि बीएससी सीएसआईटीको पाठ्यक्रम चार वर्षअघि मात्रै अपडेट गरिएको हो भने बीआईटीको कोर्स पाँच–छ वर्षअघि परिमार्जन गरिएको थियो । यी विषयमा अब पुनः रिभ्यू गर्ने काम जारी छ ।’

तर, यसरी कोर्स परिमार्जन गर्दैगर्दा बजारका अगुवा तथा आईटी कम्पनीकै सरोकारवालालाई त्यति सहभागी गराइएको छैन । विभिन्न कलेज र विश्वविद्यालयका प्राध्यापकहरूकै संलग्नतामा यी काम भईरहेको छ । कम्पनीहरूले आफूहरूको संलग्नता भए अझ व्यावहारिक कोर्स बन्नसक्ने अपेक्षा राखे पनि त्यसरी सहकार्यमा काम गर्न विश्वविद्यालय अग्रसर नदेखिएको घिमिरेकै कुराबाट स्पष्ट हुन्छ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?