Comments Add Comment

महराको बयान दशैंपछि मात्र, आरोप पुष्टि भए ५ वर्षसम्म कैद

१९ असोज, काठमाडौं । देशबासी दशैंमा रमाइरहेका बेला निवर्तमान सभामुख कृष्णबहादुर महरा भने प्रहरी हिरासतमा पुगेका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका महरालाई प्रहरीले संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा आइतबार साँझ सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । पीडित महिलाले बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएपनि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सिंहदरबारमा राखिएको हो ।

बयान दशैंपछि मात्र

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसारमहराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुनेछ ।

‘दशैंपछि अदालत खुल्नेछ र म्याद थप गर्नेछौं’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि सरकारी वकिलको रोहबरमा बयान लिनेछौं ।’ अदालतको दशैं विदा २६ गतेसम्म छ । तर पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा विदा दिइएको छ ।

अर्को सोमबार अदालत तथा सरकारी वकिलको कार्यालय खुलेपछि अदालतमा हाजिर लगाउने, बयान लिने काम सुरु हुनेछ । घटनाको मुद्दा भने काठमाडौं प्रहरी परिसर, टेकुबाटै चल्नेछ । ‘परिसरले मुद्दा टेकओभर गरेको हो’, एसएसपी सुवेदीले भने, ‘यहाँ प्रहरीको अस्थायी बसाई भएकाले सिंहदरबारमै राखिएको हो ।’

आरोप पुष्टि भए ५ वर्षसम्म कैद

महरामाथि १२ असोजमा संसद सचिवालयकी कर्मचारीलाई उनकै कोठामा गएर बलात्कार प्रयास गरेको आरोप लागेको छ । यो आरोपसँगै उनको सभामुख पद त गयो नै, प्रहरी हिरासतमा आइपुगेका छन् । यो आरोप पुष्टि भएमा उनलाई तीन वर्ष ६ महिना वा ५ वर्ष कैद सजाय समेत हुनेछ ।

प्रहरीकाअनुसार उनीविरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा चलाइनेछ । मुलुकी अपराध संहिताले कुनै पनि कसूरको उद्योग पुष्टि भए तोकिएभन्दा आधा सजाय हुने व्यवस्था गरेको छ ।

संहिताको परिच्छेद १८ मा रहेको जबरजस्तीकरणी सम्बन्धी कसूर सम्बन्धी दफाको उपदफा ३ (ङ) मा पीडित १८ वर्ष वा सोभन्दा बढी उमेरको महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने उल्लेख गरिएको छ ।

महरा प्रकरणमा पीडितको उमेर १८ वर्षभन्दा बढी भएकाले यो व्यवस्था लागू हुनेछ । तर, सात वा १० वर्ष कुनलाई आधार मान्ने भन्ने विषय चाहिँ अपराधको प्रकृति हेरेर न्यायाधीशले तोक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment