Comments Add Comment

नदीमा अवैध उत्खननको परिणामः खेतीयोग्य जमिन बगर बन्यो

भूगोलविद् भन्छन्– क्रसर उद्योग खेतीयोग्य जमिनका लागि अभिषाप

२२ असोज, रामेछाप । अव्यवस्थित रुपमा राखिएका क्रसरका कारण रोशी खोला किनारका सयौँ रोपनी धानखेत नष्ट भएका छन् । यस वर्षको बाढीले रोशीमा १५ वर्षयताकै ठूलो विनाश गरेको स्थानीयको भनाइ छ ।

रोशी किनारमा राखिएका क्रसरले खोला छेउमा थुपार्ने माटो तथा खोलामा बाढी आउँदा माटो बगाउने भएकाले खोलाको सतह बढेको छ । जसले यस वर्ष क्षति बढाएको हो ।

खोलाले दाप्चादेखि दुम्जासम्मको भागमा ठूलो क्षति गरेको छ । खोला किनारका धान लगाइएका खेतहरु खोलाले बगाएको छ ।

रोशी खोला किनारमा अहिले १० वटाभन्दा बढी क्रसर उद्योगहरु सञ्चालनमा छन् । राजनीतिक पहुँचका आधारमा दर्ता भएका ती उद्योगहरुले रोशी खोलाको उर्वर भूमिलाई मरुभूमि बनाएको स्थानीय बताउँछन् ।

यस वर्षको रोशीमा आएको बाढीले दुम्जा फाँटको आधा खेत नै पुरेको स्थानीय माधवप्रसाद न्यौपानेले बताए । दुम्जामा मात्रै २ सय रोपनीभन्दा बढी खेत पुरिएको उनले बताए ।

बाढीले धान लगाएको खेत पुरिदिँदा कृषकहरुको बिचल्ली भएको उनले सुनाए । दुम्जामा काभ्रे, सिन्धुली र रामेछापका कृषकहरुको खेत रहेको छ ।

खोलाको सतह उक्सँदै जाँदा खोला किनारको खेत मात्र हैन, दुम्जाको ऐतिहासिक तथा धार्मिक कुशेश्वर महादेव मन्दिर समेत संकटमा पर्न लागेको छ ।

‘तटवन्ध नलाएको भए यसै वर्ष महादेव मन्दिरको क्षेत्र खोलाले रेटेर झार्ने रहेछ । अब पनि यसैगरी क्रसरले माटो बगाउँदै जाने हो भने महादेव मन्दिर पनि बाँकी रहँदैन’, न्यौपानेले भने ।

रोशी किनारका क्रसर उद्योगहरु रोशी क्षेत्रका खेती योग्य जमिनको लागि अभिषाप भएको भूगोलविद् देवशंकर पौडेल बताउँछन् ।

उनले रोशी किनारका खेतहरु हेर्दा हेर्दै बगर बन्दै गएका बताए । बेलैमा क्रसरलाई व्यस्थित नगर्ने हो भने रोशी किनारको एक चपरी जग्गा पनि बाँकी नहुने उनले बताए ।

उनले भने, ‘रोशीले ताण्डव देखाइ सक्यो, यो अझ बढ्छ । त्यसैले बेलैमा सचेत हुनु जरुरी छ ।’

रोशी खोलाको किनारमा हजारौँ रोपनी धान उत्पादन हुने जमिन छ । तर, क्रसरकै कारण ती खेतहरुको वर्षेनी कटान हुने क्रम जारी रहेको छ । क्रसरलाई व्यवस्थित गर्ने विषयमा कसैको पनि ध्यान नपुगेको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment