२३ असोज, काठमाडौं । छोटो कपाल, लामो दारी । न ट्याटु, न बाला र माला । ‘हृवाङल्याङ्ग’ ज्याकेट पनि लगाएका छैनन् । हेर्दा सामान्यजस्तो देखिने अनुराग शर्मा उर्फ ‘एमसी फ्लो’ र्यापर हुन् ।
र्यापर ?
हो, र्यापर !
र्याप भन्नेबित्तिकै अधिकांशको दिमागमा अनौठो पहिरन, गीतमा छाडा शब्द अनि भिडियोमा गाँजा, रक्सी अत्यधिक प्रयोग हुने संगीत भन्ने चित्र आउँछ । किनकी, अहिले यस्तै र्यापगीत ‘भाइरल’ छ । र्यापर ‘एमसी फ्लो’ को गीतमा न गाँजाको प्रयोग छ, न त अश्लील शब्द । त्यसैले उनी अरु भन्दा भिन्न छन् ।
अपाच्य शब्द, गाँजा र रक्सीको प्रयोग बिना पनि ‘र्याप’ गर्न सकिन्छ भन्ने उदारण हुन उनी ।
‘एम सी फ्लो’ पेशाले इन्जिनियर हुन् । करिब ५ वर्ष काम गरेको आईटी कम्पनीको जागिर छाडेर उनी र्यापमा सक्रिय हुन खोज्दैछन् । र्यापलाई भात खाने बाटो नबनाउने सोच बोकेकाले व्यापार गर्ने योजना अन्तिम चरणमा छ ।
भन्छन्, ‘म आफ्नो गीतले निराश भएकाहरुले केही ‘इन्सपिरेसन’ पाउन भन्ने चाहन्छु । म्युजिकले मान्छेको मन र मष्तिष्कमा ‘स्पार्क’ ल्याउनुपर्छ भन्ने मेरो सोच हो ।’
‘एमसी फ्लो’ र्यापर यम बुद्धका समकालीन पनि हुन् । सन् २००८ मा अमेरिकाको भिसा ‘रेजेक्ट’ भएपछि र्यापमा लागेका उनी करिब सात वर्ष भूमिगत जस्तै रहे । गीत यूटयुबमा रिलिज हुन्थ्यो तर वास्तविक र्यापरको हो भन्ने कसैले चिन्दैनथे । अफिसको काम सकाएर ‘प्यासन’ का लागि गीत गाउने उनलाई कसैले चिनोस् भन्ने चाहना थिएन । मात्र आत्मसन्तुष्टिका लागि गाउथेँ ।
घरमै गीत रेकर्ड गर्थे । आफैं सम्पादन गरेर युट्यबमा अपलोड गर्थे । हरेक गीतले राम्रै ‘भ्यूज’ पाउँथे । गीतमा आएका प्रतिक्रियाहरुले अर्को गीत बनाउन हौस्याउँथ्यो । एकपछि अर्को गीत मन पराउन थालेपछि उनी र्यापमै ‘मन्त्रमुग्ध’ हुन थाले ।
सन् २०१५ मा स्टुडियो गएर रेकर्ड गराए । त्यसको एक वर्षपछि सार्वजानिक भए । त्यसबेला उनका समर्थकहरु नै ‘यही केटा नै हो त एमसी फ्लो ?’ भन्दै आश्चर्यमा परे । कतिले यसले कसरी ‘त्यस्तो गीत गायो होला र !’ भनेर पत्याएनन् ।
यसरी नै र्यापमा बामे सर्दै दौडिन सकेका एमसी फ्लोलाई सोधियो-
र्याप संगीतमा कसरी आइपुग्नुभयो ?
सुरुमा मलाई गीत संगीतमा कुनै इच्छा थिएन । गीत सुन्ने माध्यमहरु पनि खासै थिएन । विद्यार्थी मान्छे, गीत संगीत सुन्ने समय पनि हुन्नथ्यो । सन् २००८ मा प्लस टु सकेर अमेरिका जान ‘ट्राइ’ गर्दा भिसा लागेन । त्यसपछि धेरै फुर्सद भयो ।
बच्चामा हुँदा कविता लेख्थेँ, त्यो फुर्सदमा फेरि कविता लेख्न थालेँ । विदेशी गीतहरु सुन्न थालेँ । गीतहरु सुन्दै जाँदा र्यापले ध्यान खिच्यो । र्याप सुन्दासुन्दै मैले पनि र्याप गर्न सक्छु कि भनेर अभ्यास गर्न थालें । कविता लेख्ने भएकाले मलाई र्याप लेख्न गाह्रो भएन । र्याप भनेको ‘रिदम’ र ‘पोयट्री’ हो, त्यसैले पनि मलाई सजिलो भयो । र, लेख्न थाले । त्यतिबेला म १८ वर्षको थिएँ । कोठामै बस्थेँ, लेख्थेँ । कोठामै प्राक्टिस गर्थेँ र कोठामै रेकर्ड गर्थेँ ।
अमेरिका जान पाउनुभएको भए तपाईंको गीत हामीले सुन्न नपाउने रहेछौँ ?
हो, अमेरिका गएको भए म स्रोतामात्र हुन्थेँ । र्यापर बन्न सम्भव थिएन । अमेरिकापछि क्यानडा पनि ‘ट्राई’ गरेको थिएँ । त्यता पनि त्यस्तै भयो । खासमा म ‘रिजेक्नस’ले र्यापर बनेको हुँ ।
अमेरिका अस्वीकृत भएपछि धामाधम गीत निकाल्न थाल्नुभयो कि लेखेर मात्रै बस्नुहुन्थ्यो ?
‘र्यापर’ बन्छु भन्नेहरुले पहिला लेख्न सक्नुपर्छ । लेखेको कुरालाई ‘एक्सप्रेस’ गर्न सक्ने गरी तिखारिनुपर्छ । अनि मात्र पैसाको जोहो गरी स्टुडियो पस्नुपर्छ ।
म त ‘पर्फेक्ट’ भएर पनि स्टुडियो गइनँ । घरमै बसेर गीत रेकर्ड गरें । हेडफोनले रेकर्ड गरेर गीत निकाल्थेँ । सिधै स्टुडियो गएर रेकर्ड गर्नलाई मैले ठूलो महत्वाकांक्षा बोकेर र्याप सुरु गरेको थिइनँ । न मलाई कसैको सपोर्ट थियो, न मैले म्युजिकमा ‘इन्ट्रेस्ट’ छ भनेर कसैलाई सुनाएको थिएँ ।
पहिलो गीत स्टुडियोमा रेकर्ड भएन ?
अहँ । मिक्सटेप र सयभन्दा बढी गीत सार्वजानिक भएपछि मात्र म सन् २०१५ तिर मात्रै स्टुडियो गएको हुँ । विश्वास भन्ने गीत रेकर्ड भएको थियो ।
त्यत्रो वर्षपछि स्डुडियो जाने रहर कसरी पलायो ?
एक किसिमका ‘ फ्यान’ बनिसकेका थिए । घरमा रेकर्ड गर्दाभन्दा स्टुडियोमा अझै केही राम्रो गर्न सकिन्छ कि भन्ने मनमा लागिरहन्थ्यो । एउटा प्रयोग पनि गर्नु थियो, त्यसैले स्टुडियो गएँ ।
तर, स्टुडियोमा रेकर्ड गर्दा ‘साउण्ड क्वालिटी’ मा भन्दा अरु केही आकाश पातालको फरक पाइनँ ।
अनि, भूमिगत र्यापर सार्वजानिक हुनुको कारणचाहिँ ?
मेरो गीत सुनेर मन पराउने फ्यानहरुले सार्वजनिक हुनुपर्यो भनेर प्रतिक्रिया दिइरहन्थे । उहाँहरुको आग्रहमा सार्वजानिक भएको हुँ । सार्वजानिक हुँदा मिश्रित प्रतिक्रिया पाएँ । कसैले दाइ रैछ, चिनियो खुशी लाग्यो भने, कसैले पत्याएनन् ।
मलाई धेरैले चिनुन्, कलाकारका रुपमा सम्मान गरुन् भनेर यो क्षेत्रमा आएकै होइन । पैसा कमाउनुपर्छ, चर्चित हुनुपर्छ, सबैजनासँग भिजेर ‘सर्कल’ बनाउनुपर्छ भन्ने ‘कमर्सियल स्ट्राटेजी’ कहिल्यै बनाइनँ र बनाउन पनि चाहिनँ । मलाई त्यो भन्दा पनि मेरो गीतले अरुलाई प्रेरणा देओस् भन्ने थियो ।
त्यही भएर मेरो गीतमा रक्सी खाने, रमाइलो गर्ने अश्लील शब्दहरुको प्रयोग छैन । गेटअप, लाइफस्टाइल मात्रै होइन, मेरो गीत पनि अरु र्यापरको भन्दा उल्टो छ । मुख छाडेर, केटी नचाएर र गाँजा खाएर मात्र र्याप हुन्न भन्ने लाग्छ ।
मेरो जीवन ‘कम्फर्टेवल’ छ । सबै कुरा भगवानले दिएका छन् । मलाई छाडा गीत गाएर ‘कमर्सियल हिट’ हुनु नै छैन । म यही चाहन्छु कि म जस्तो जीवनदेखि निराश भएका मानिसहरुमा गीत सुनेर केही आशा पलाओस् । केही गर्ने जोश जाँगर आओस् । कुलतबाट निस्कन चाहेकाहरुलाई आँट देओस् । र, मेरो गीत सुनेर र्यापबारे आम मानिसको धारणा बदलियोस् ।
तर, आफूभन्दा पछाडि आएका र्यापरहरु धेरै अगाडि गइसके भन्ने लाग्दैन ?
अहिले अत्याधिक हिट भएका गीत कस्ता छन्, तपाईलाई थाहा नै छ । मैले अघि नै भनिसकें, छाडा शब्द मेरा प्राथमिकतामा पर्दैनन् । छोटकरीमा भन्दा ‘फेम’लाई भन्दा ‘मिनिङ’ र ‘म्यासेज’लाई प्राथमिकता राखेका कारण म ‘लाइमलाइट’मा छुइनँ ।
अनि चर्चा आवश्यक नठानेर पनि हो ।
यो क्षेत्रका तपाईंको समकालीन साथीहरुको अवस्था के छ ?
मैले यो क्षेत्रका मानिसहरुसँग संगत नै गरिनँ । त्यही भएर अरुका बारेमा भन्न सक्दिनँ ।
तर म र यमबुद्ध सँगसँगै यो क्षेत्रमा आएका हौँ । यम बुद्ध पनि ‘प्रोफेसनल फ्रेण्ड’ मात्रै थियो, त्यति धेरै संगत थिएन । अहिले चलेका केटाहरु त नयाँ भइगए ।
कुन नेपाली र्यापरको गीत तपाईलाई धेरै मन पर्छ ?
मलाई नेपाली र्याप मन नपर्ने हैन, मन पर्छ । तर मेरो स्वादको गीत एकदम कम छ । त्यसैले कमै मात्रामा नेपाली र्याप सुन्छु । सुन्ने नसुन्नेस्वादले निर्धारण गर्छ । कसैलाई चिया मन पर्छ, कसैलाई कफी । र्याप पनि यस्तै हो ।
तर मेहनत गर्नेहरु म सबैलाई मन पराउँछु । किनकी हामी सबैै समान हौं । सबैले उत्तिकै मेहनत गरिरहेका छौँ । कसैलाई कम र कसैलाई बढी मन पराइनुले कम मन पराइएको कलाकारको मेहनत कम हुन्छ भन्ने होइन ।
तपाईलाई धेरैले ‘दोस्रो यमबुद्ध’ भनेर सम्बोधन गर्छन्, यसरी अरुसँग तुलना गर्दा कस्तो लाग्छ ?
राम्रोसँग तुलना गर्नु भनेको राम्रै कुरा हो । उहाँहरुको मनमा यमबुद्ध भनेको ‘लिजेण्ड’ हो । यमबुद्धलाई सारै राम्रो भन्ने मान्छेहरुले मलाई ‘तँ यमबुद्ध जस्तै छस्’ भन्नु मेरा लागि गर्वको कुरा हो । उहाँहरुलाई म आदर गर्छु ।
सन् २००८ को एमसी फ्लो र अहिलेको एमसी फ्लोमा के परिवर्तन आएको छ त ?
(हाँस्दै…) त्यतिखेर योङ थिएँ अहिले योङ छुइनँ । यही त होला नि परिवर्तन । संगीतमा निखारता र परिपक्वता देखिएको छ । आइडिया, नलेज र स्किल बढ्दैछ ।
अबको १० वर्षपछि तपाईलाई कहाँ र कुन रुपमा देख्न सकिन्छ ?
(हाँस्दै..) त्यो चाहिँ ज्योतिषीलाई सोध्नुपर्छ । अरु यस्तै-त्यस्तै भए पनि बिहे चाहिँ पक्कै हुन्छ होला । यही नै हुन्छ भन्दिनँ, जे पनि हुन सक्छ । त्यो अहिले नै अनुमान गर्न सक्दिनँ ।
तपाईको अधिकांश गीतमा पीडादायी मनोदशाबाट गुज्रिएको पात्रको संघर्षपछिको सफलता सुन्न पाइन्छ, यस्तो गीत लेख्ने प्रेरणा कहाँबाट आउँछ ?
सबै गीत मैले मेरो आफ्नै भोगाइबाट लेखेको हो । हरेक गीतमा मेरो आफ्नो ‘रियालिटी रिफ्लेक्ट’ हुन्छ । कठिन परिस्थितमा हुँदा पनि मान्छे अघि बढ्न सक्छ भन्ने उदारण बन्न चाहन्छु । मेरो सोच नै अरुको प्रेरणाको स्रोत बन्ने हो । मेरो आफ्नै कथा पनि यस्तै छ । जो सँग जस्तो कथा छ त्यस्तै भन्ने त हो ।
नेपाली र्याप संगीत कुन दिशातिर गइरहेको छ जस्तो लाग्छ ?
अहिलेका अधिकांश र्यापरहरुले बजारले जे खोजिरहेका छन्, त्यही दिइरहेका छन् । जे भाइरल हुन्छ, त्यही गाइराखेका छन् । कुनै गीत ‘म गाँजा खान्छु’…भन्ने किसिमको छ त, कुनै ‘हग्न आउँछु काठमाडौँ’… भन्ने किसिमको छ । यस्ता गीतहरुले राम्रो सन्देश दिँदैनन् तर त्यही हिट भइरहेको छ ।
त्यसैले हामी यस्ता गीतहरु ठीक हो या होइन भन्ने बहस गर्न सक्छौं तर अरुले त्यस्तो गीत गाएर गलत गरिरहेका छन् भन्न म सक्दिनौं । किनकी, उनीहरुका ‘फ्यान’ धेरै छन्, उनीहरुलाई रुचाउनेहरु छन् । हामी कलाकारले ‘फ्यान’लाई ‘रेस्पेक्ट’ गर्न सक्नुपर्छ र आफ्नोभन्दा फरक काम गरिरहेकालाई नराम्रो भन्नुहुँदैन ।
सतही गीतले गहन गीतलाई ओझेलमा पारिरहेको जस्तो लाग्छ कि लाग्दैन ?
नेपालमा मात्र हैन, विश्वभर यस्तै ‘ट्रेण्ड’ छ । संगीतमा मात्र हैन, हरेक विधामा यही ‘ट्रेण्ड’ लागू छ । यसको एक मात्र कारण विश्वभरि नै बौद्धिक वर्गहरु एकदम कम छन् । मैले भन्न खोजेको बौद्धिक पढेका मान्छे मात्र होइनन् । के सही र के गलत छुट्याउने चेतना भएका मानिसहरु बौद्धिक हुन् । आलोचनात्मक सोचाइ राख्न सक्ने मानिसहरु धेरै कम भएकाले पनि यस्तो हुन्छ ।
र्याप म्युजिकलाई हेर्ने दृष्टिकोण सधैं नकारात्मक भएको जस्तो लाग्छ, तपाईलाई ?
हामी कलाकारमा पनि खराबी छ । हामी राम्रो गर्न भन्दा नकरात्मक कुरा गरेर छिट्टै चर्चामा आउन चाहन्छौँ । कलाकारमा जब ‘भाइरल’ बन्ने सोच हावी हुन्छ, तब राम्रो म्यूजिकको जन्म हुँदैन । नराम्रो सिर्जना धेरै भएपछि मानिसहरुले त्यही ‘नोटिस’ गरिरहेका हुन्छन् र, त्यसका आधारमा सिंगो क्षेत्रको मूल्यांकन गर्छन् ।
लोक दोहोरी गीतमा पनि अश्लीलता छ । घुमाउरो पारामा उनीहरुले अश्लीलतालाई बढवा दिएका छन् । ‘ए…ज्योति देउ न एक चोटि…’ भन्ने जस्ता गीत हजारौं छन् । देउ न एक चोटि… भनेको के हो ? स्टेजमा गाउने लोक दोहोरीका कलाकारहरुले पनि अनेक ‘हर्कत’ देखाइरहेका हुन्छन् ।
त्यसैले र्यापमा मात्र विकृति छैन, सबैतिर छ । तर हामीले हरेक कुरालाई सामान्यीकरण गर्नु हुँदैन । व्यक्तिलाई मूल्यांकन गर्ने हो भने नकारात्मक मात्र छैन ।
र्यापरहरुलाई स्टेजमा गाउँदागाउँदै ढुंगा हानेको उदारण पनि छ, यस्तो किन हुन्छ ?
एउटा कलाकारले जहिल्यैै पनि दुईवटा लुगा लगाइरहेको हुन्छ । कलाकारको गीत ‘प्रोफेसनल’ लुगा हो भने उसको व्यक्तित्व व्यक्तिगत लुगा । स्टेजमा हुँदाको अनुराग र तपाईसँग गफ गरिरहेको अनुराग फरक हो । स्टेजको ‘एमसी फ्लो’का कारण तपाईसँग चिया खाइरहेको अनुरागले दुःख नपाओस्, त्यत्ति हो ।
अन्तिममा, तपाईको वास्तविक नाम अनुराग तर ‘एमसी फ्लो’ को रुपमा चिनिनुहुन्छ, यसको अर्थ के हो ?
हरेक र्यापरको फरक नाम हुन्छ । मैले पनि त्यही भएर फरक नाम राखेँ । एमसीको अर्थ समाजलाई प्रेरणा दिने र्यापर हो । योबाहेक अरु कुनै कथा छैन ।