Comments Add Comment

नेपाल–चीन अन्तरदेशीय प्रसारणलाइन पनि सी भ्रमणको एजेन्डा

२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा नेपाल र चीनबीच अन्तरदेशीय प्रसारणलाइन बनाउनेबारे छलफल हुने भएको छ । चीनसँग जोडिने गरी उच्च क्षमताको गल्छी–केरुङ अन्तरदेशीय प्रसारणलाइन बनाउन यसअघि नै दुबै देशले प्रक्रिया थालेका थिए ।

यो भ्रमणमा प्रसारणलाइन बनाउन विस्तृत सम्भाब्यता प्रतिवेदन (डीपीआर) बनाउनेबारे चीनसँग छलफल हुने ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । चीन तयार भए सम्झौतामा हस्ताक्षर पनि हुनेछ ।

‘यो प्रसारणलाइनको नेपालतर्फको खण्डमा हामीले नै अहिले फिजिबिलिटी स्टडी (सम्भाब्यता अध्ययन) गरिरहेका छौं, चीनतर्फ भने पूर्व सम्भाब्यता अध्ययन मात्रै भएको छ,’ ती अधिकारीले भने, ‘चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला यो प्रसारणलाइनको डीपीआर बनाउने र त्यसलाई (गभर्नमेन्ट–टू गभर्नमेन्ट) जीटूजी मोडलमा निर्माण गर्न प्रस्ताव गर्दैर्छौं ।’

चीनसँग यसअघि देखि नै नेपालले यो प्रसारणलाइन अनुदानमा बनाउन प्रस्ताव गर्दै आएको छ । यसअघि चीनले नेपालसँग यो प्रसारणलाइन निर्माणपछि सन् २०३० सम्म कति बिजुली किनबेच गर्न सकिन्छ भन्ने विवरण मागेको थियो । अन्तरदेशीय प्रसारणलाइनबारे छलफल गर्न चीन पुगेको नेपाल विद्युत प्राधिकरणको टोलीसँग चिनियाँ पक्षले यस्तो विवरण मागेको हो ।

सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनसँग अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने समझदारी भएको थियो । त्यसअनुसार दुई पक्ष अहिलेसम्म छलफलमै छन् ।

चिनियाँ पक्षले प्रसारणलाइनलाई रेलमार्ग सँग–सँगै बनाउनुपर्ने बताउँदै आएको छ । त्यसो हुँदा केरुङ–काठमाडौं रेलमार्गको विद्युतीय रेलका लागि पनि यसैको बिजुली प्रयोग गर्न सकिने तर्क उसको छ ।

यसअघिका छलफलमा चीनले निर्माणका लागि सम्भाब्यता अध्ययन गर्नुअघि नै लगानी मोडालिटी टुंग्याउन प्रस्ताव गरेको थियो । नुवाकोटको रातोमाटेबाट केरुङसम्म ४ सय केभीको प्रसारणलाइन जोड्न लागिएको छ । नेपालतर्फ कुल ७० किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्छ । यसअघि गल्छीबाट निर्माण गर्ने भनिए पनि प्राधिकरणले रातोमाटेसम्म मात्रै बनाउने प्रारम्भिक गृहकार्य गरेको छ ।

सो स्थानमा अमेरिकी सहयोगमा बन्ने ४ सय केभीकै अर्को प्रसारणलाइनको सबस्टेशन तयार गरिँदैछ ।

‘चीनलाई नेपालसँग मात्रै हैन, समग्र दक्षिण एसियामा जोड्न यो प्रसारणलाइनको महत्व हुनेछ,’ ऊर्जा मन्त्रालयका अधिकारीहरु भन्छन्, ‘समग्र सार्क तथा बिमस्टिेक राष्ट्रलाई चीनसँग जोड्ने बाटो खुल्छ ।’

यसको मद्दतले चीनको विजुली क्षेत्रीय बजारसम्म जाने र चीनले पनि आवश्यक समयमा क्षेत्रीय बजारबाट विजुली किन्न सक्ने तर्क नेपालले गर्दै आएको छ ।

नेपालले प्रसारणलाइनको पूर्वसम्भाब्यता अध्ययनको निष्कर्षहरु चीनसमक्ष प्रस्तुत गरिसकेको छ । चीनले पनि आफ्ना पक्षबाट गरिएका अध्ययनको रिपोर्ट नेपालसँग सेयरिङ गरेको छ ।

प्रस्तावित प्रसारणलाइन ८ सय किलोमिटर लामो हो । भारतबाहेक अर्को मुलुकसँग नेपालले पहिलोपटक अन्तरदेशीय प्रसारणलाइन जोड्न लागेको हो । यो अन्तरदेशीय प्रसारणलाइन आयोजना चीनको ‘वान बेल्ट वान रोड’ परियोजनामा आवद्ध गर्न नेपालले प्रस्ताव गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment