Comments Add Comment

शनी बन्यो धेरै चन्द्रमा भएको ग्रह, पत्ता लगाए २० नयाँ चन्द्रमा

सौर्यमण्डलको दोश्रो ठूलो ग्रहको रुपमा रहेको शनी ग्रहको कुरा गर्दा हामी धेरैले यसको बाहिरी चक्रहरु सम्झिन्छौँ । ती घेराहरु यति विशाल छन् कि पृथ्वीबाट टेलिस्कोपले हेर्दा समेत प्रष्टै देखिन्छन् ।

तर पृथ्वीबाट शनी ग्रहका उपग्रहहरु भने सजिलोसँग देखिँदैनन् । शनि ग्रहका केही उपग्रहहरुमा जिवनको सम्भावना रहेको बताइन्छ । ती सम्भावित चन्द्रमाहरु समेत पृथ्वीबाट सहज रुपमा देख्न गाह्रो पर्दछ ।

हालै वैज्ञानिकहरुले यस्तै सानो आकारका शनी ग्रहका थप २० उपग्रहहरु फेला पारेका छन् । त्यो सँगै शनी ग्रह सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बनेको छ ।

अमेरिकाको वाशिङटन डिसीमा रहेको कार्निग इन्स्टिच्यूट अफ साइन्सका खगोल वैज्ञानिकहरुले गत अक्टोबर ७ मा शनी ग्रहका २० वटा नयाँ चन्द्रमा पत्ता लगाएको घोषणा गरेका हुन् । अन्तराष्ट्रिय खगोल विज्ञान केन्द्रस्थित साना ग्रह केन्द्रमा शोधकर्ता खगोलविद टोलीका प्रमुख स्कट एस शेफर्डले यस्तो घोषणा गरे ।

विश्वका सबैभन्दा ठूला टेलिस्कोपहरुको सहायताले ग्रहहरुको वरीपरी रहेका सबै उपग्रहहरु पत्ता लगाउने कार्यलाई आफुहरुले पूर्णता दिन लागेको उनले बताए ।

यस्तो खोजले सौर्य मण्डलका ग्रहहरु कसरी उत्पत्ति र विकास भए भन्ने कुरा बुझ्न सहयोग पुग्ने उनको भनाइ थियो ।

शनी ग्रहका यसअघि नै पत्ता लागेका टाइटन, हाइपेरियन, रेया तथा इन्सेल्याडस भन्दा यी नयाँ पत्ता लागेका ग्रहहरु निकै सानो आकारका रहेका छन् ।

नयाँ उपग्रहहरुको औषत व्यास ३ माइल छ । नयाँ पत्ता लागेका २० चन्द्रमासँगै शनी ग्रहका चन्द्रमाहरुको कूल संख्या ८२ पुगेको छ । यो सँगै शनी ग््रह सबैभन्दा धेरै चन्द्रमा भएको ग्रहको रुपमा वृहस्पतीलाइ पछि पार्दै पहिलो स्थानमा उक्लिएको छ । वृहस्पती ग्रहका ७९ चन्द्रमा रहेका छन् । तर सबैभन्दा ठूलो चन्द्रमा भएको ग्रह चाहीँ वृहस्पती नै हो । वृहस्पतीको उपग्रह गेनिमिड सबैभन्दा ठूलो चन्द्रमा हो ।

शनी ग्रहका नयाँ पत्ता लागेका उपग्रह मध्ये १७ वटाले उल्टो दिशाबाट शनी ग्रहको परिक्रमा गर्ने ग्रेका छन् भने बाँकी ३ वटाले चाहीँ शनी ग्रह घुम्ने दिशाबाटै परिक्रमा गर्दछन् ।

यी उपग्रहहरु शनी ग्रहबाट यति टाढा छन् की शनीको परिक्रमा गर्न २÷३ वर्ष लाग्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment