Comments Add Comment

आवुधाबी डाइलगमा श्रममन्त्री विष्ट सहभागी हुने

युुुुएई । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट युएई आउने भएका छन् । कामदार लिने र दिने देशबीच हुने बहुपक्षीय छलफलको मन्त्रीस्तरीय पाँचौँ आवुधाबी डाइलगमा सहभागी हुन मन्त्री विष्ट मंगलबार युएई आउने कार्यक्रम तय भएको हो ।

कार्यक्रममा सहभागी हुन मन्त्री विष्टको नेतृत्वमा श्रम मन्त्रालयका सचिव, सह-सचिव र वैदेशिक रोजगार महाशाखाका प्रमुखसमेत युएई आउने कार्यक्रम छ । कार्यक्रममा मन्त्री नेतृत्वको टोलीसहित युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र श्रम काउन्सिलर भेषबहादुर कार्कीसमेत सहभागी हुनेछन् ।

के हुन्छ डाइलगमा ?

श्रमिक आयात गर्ने मध्यपूर्वका अरबी खाडी देश र कामदार उपलब्ध गराउने एशियाली देशका उच्च सरकारी प्रतिनिधिसहित हुने उक्त मन्त्रीस्तरीय छलफल कामदार दिने र लिने मुलुकबीच पारदर्शिताका लागि थप समन्वय हुनुपर्ने विषयमा केन्द्रित हुने जनाइएको छ ।

संवादमा एसियाली र खाडी मुलुकबीच कामदारको भर्ती र आयातका लागि भएका वर्तमान संयन्त्रबारे समीक्षा गर्दै थप निर्णय लिइने छ ।

आवुधाबी डाइलगमा अवैध कामदार आयात र निर्यातको रोकथाम, कामदारको कल्याण र सुरक्षा उपायबारे मुख्य गन्तव्यको देशहरूको आपसी चासो लगायतका विषयमा पनि छलफल हुने छ ।

छलफलमा श्रमका लागि कामदार पठाउने देशहरु नेपालसहित अफगानिस्तान, बंगलादेश, भारत, इन्डोनेशिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधिको पनि सहभागिता रहने छ ।

डाइलगमा आइएलओ तथा अन्य आप्रवासी कामदारको हकहितमा काम गर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासमेत सहभागी हुँदै छन् ।

यस्तै कामदार आपूर्ति गर्ने देशहरु यूएईसहित बहराइन, ओमान, कुवेत, कतार, साउदी अरब, यमन र मलेसियाका प्रतिनिधि सहभागी हुँदै आएका छन् ।

सन् २००८ देखि आवुधाबी डाइलगको सुरुआत भएको हो । पछिल्लो ४ वर्षदेखि नेपालले पनि डाइलगमा सहभागिता जनाउँदै आएको छ । दुबईको हप्तुर होटल एण्ड रिसोर्टमा हुने हुने संवाद बुधवार सुरु भइ बिहीबार सकिने कार्यतालिका छ ।

श्रमिक पठाउने मुलुकहरुको साझा फोरम कोलम्बो प्रोसेसको नेपाल हाल अध्यक्ष राष्ट्र पनि भएकाले कामदार लिने र दिने देशबीच हुने बहुपक्षीय छलफल (आवुधाबी डाइलग)मा पनि नेपालको सहभागितालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment