
२८ असोज, काठमाडौं । ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला परेकी छन् । राजधानी सोलनजिकै रहेको आफ्नो घरमा गायिका सुली सोमबार मृत फेला परेकी हुन् ।
उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ । यद्यपि घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन ।
२५ वर्षीया सुलीको वास्तविक नाम चोप जिन-रि हो । उनले दक्षिण कोरियामा ब्रा लगाउने-नलगाउने कुरा महिलाको निजी मामिला एवम् स्वतन्त्रताको कुरा हो भन्ने सन्देश फैलाएकी थिइन् ।
उनले इन्स्टाग्राममा ब्रा नलगाइकन खिचेको फोटो पोष्ट गरेपछि प्रशंसा र आलोचना दुवै भएको थियो । इन्स्टाग्राममा रहेका उनका लाखौं फलोअर्सले पनि उनलाई साथ दिएपछि ‘नो ब्रा’ ह्यासट्याग ट्रेन्डिङमा आएको थियो ।
आफ्नो शरीर कसरी देखाउने भन्ने कुरा आफ्नो स्वतन्त्रताको कुरा भएको बताउने उनले मे २०१६ मा पहिलोपटक ब्रा नलगाएको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । ब्रा नलगाइ खिचिएका तस्वीर र भिडियोहरुमा निप्पल देखिएको भन्दै उनको धेरै आलोचना भएको थियो ।
यद्यपि प्रभावशाली नारी स्वरका रूपमा परिचित सुलीका समर्थकहरुको संख्या पनि बढ्दै गएको थियो । धेरैले उनलाई साथ दिँदै ब्रा नलगाएका आफ्ना तस्वीरहरु सामाजिक सन्जालमा सेयर गरेका थिए ।
खासगरी पहिरनका कारण पटक-पटक विवादमा आइरहने सुलीले अनलाइनमा दुर्व्यहार खेप्न नसकेपछि कोरियाली पप संगीत अर्थात के-पप छाडेको बताइन्छ । उनी महिलाहरुमात्र रहेको सांगीतिक समूह एफ एक्सबाट सन् २०१५ मा अलग्गिएकी थिइन् ।
अब व्यावसायिक रुपमा अभिनय क्षेत्रमा लाग्ने भन्दै उनले सन् २०१५ बाट नै इन्स्टाग्राम नचलाउने घोषणा पनि गरिन् । जबकी सन् २०१५ मै इन्स्टाग्राममा उनका ५० लाख फलोअर्स थिए ।
उनी पहिलोपटक ११ वर्षको उमेरमा एक धाराबाहिक टेलिभिजन श्रृंखलामा देखिएकी थिइन् । पछि उनी एसएम इन्टरटेनमेन्ट नामक प्रसिद्ध संगीत उत्पादक कम्पनीमा के-पप प्रशिक्षकसमेत बनेकी थिइन् ।
प्रतिक्रिया 4