Comments Add Comment

सीको विरोध गर्ने शान्ति समाजका युवा संयोजक बर्खास्त

२८ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङविरुद्ध प्रदर्शन गर्न पाउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने बलराम पौडेललाई मानव अधिकार तथा शान्ति समाजले पदबाट बर्खास्त गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजका युवा विभागीय संयोजक रहेका पौडेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपूर्व असोज २३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बिरोध प्रदर्शनका लागि निवेदन दिएका थिए ।

आफूलाई शान्ति समाजको युवा संयोजकका रुपमा प्रस्तुत गरी निवेदन दिएका पौडेललाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो ।

यसैवीच मंगलबार शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले एक विज्ञप्ति जारी गर्दै उक्त निवेदन शान्ति समाजको नभएर पौडेलको व्यक्तिगत भएको स्पष्ट पारेका छन् । साथै पौडेललाई मानव अधिकार तथा शान्ति समाजको नीति र मर्यादाविपरीत कार्य गरेको भन्दै पदबाट बर्खास्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सभापति पुडासैनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ आफूलाई शान्ति समाजको युवा संयोजकका रुपमा प्रस्तुत गरी संस्थाको नीति र मर्यादा विपरीत आचरण प्रदर्शन गरेको पाइएकाले निज (पौडेल) लाई युवा विभागीय संयोजकबाट बर्खास्त गरिएको छ । साथै अनुशासन समितिको सिफारिसमा निजको आजीवन सदस्यता हाललाई निलम्वन गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment