Comments Add Comment

महिला च्याम्पियन्स लिगमा चितवन विजयी

२९ असोज, काठमाडौं । चितवन राइनोजले महिला च्याम्पियन्स लिग क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना महिला च्याम्पियन्स लिग क्रिकेटको उद्घाटन खेलमा बुधबार चितवनले क्याट क्वीन्स काठमाडौंलाई पाँच विकेटले पराजित गरेको हो । ९३ रनको सामान्य चुनौतीे चितवनले पाँच विकेटको क्षतिमा १८.३ ओभरमा भेट्टायो ।

चितवनको जितमा सुमन खतिवडाले सर्वाधिक २९, पियारी चौधरीले अविजित २४, ऋतु कनौजियाले १४ र काजल श्रेष्ठले ११ रन बनाइन् । बलिङतर्फ काठमाडौंकी ईश्वरी विष्टले दुई विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ९२ रनमात्रै बनाएको थियो । पहिलो विकेटका लागि रश्मी चौलागाईं र शोभा आलेले ४० रनको साझेदारी गरे पनि अन्य खेलाडी चल्न नसक्दा ठूलो स्कोर बनाउन सकेन ।

रश्मीले ३४ रन बनाइन् भने सरस्वती कुमारीले १५ रनको योगदान दिइन् । बलिङतर्फ चितवनकी सन्तोषी चौधरीले तीन विकेट लिदा कविता गौतम र रेखा रावलले समान २–२ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत दोस्रो दिन बिहीबार दुई खेल हुदैछन् । पहिलो खेलमा काठमाडौंले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा ललितपुर फाल्कोन्सले विराटनगर टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सर्वाधिक धनराशीको महिला च्याम्पियन्स लिग क्रिकेटको विजेता टिमले सात लाख नगदसहित ट्रफी हात पार्ने छ । त्यस्तै, उपविजेताले तीन लाख नगद पाउने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट घोषित हुने खेलाडीले टीभीएस स्कुटरसहित ५० हजार रुपैयाँ नगद हात पार्नेछन् । त्यस्तै, उत्कृष्ट ब्याट्सवुमन र बलरले जनही २५ हजार प्राप्त गर्ने छन् । त्यस्तै, प्रत्येक खेलको ओमन अफ दि म्याच घोषित हुने खेलाडीले नगद पाँच हजार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment