Comments Add Comment

उत्तर र दक्षिण कोरियाबीच दुर्लभ फुटबल : न दर्शक, न प्रत्यक्ष प्रशारण

२९ असोज, काठमाडौं । दुश्मनीपूर्ण सम्वन्धमा रहेका दुई देश दक्षिण र कोरिया र उत्तर कोरियाले मंगलबार अनौठो किसिमले फुटबल म्याच खेले । विश्वले हेर्न चाहेको दुर्लभ म्याच हुँदा न रंगशालामा दर्शक थिए, न कुनै टिभीबाट प्रत्यक्ष प्रशारण नै भएको थियो ।

विश्वकप क्वालिफायर अन्तर्गत यी दुई टिमको जम्काभेट भएको हो । सन् १९९० देखियता उत्तर र दक्षिण कोरिया फुटबल मैदानमा भिडेका थिएनन् । उत्तर कोरियाको प्योङहाङमा भएको यो म्याचबारे सूचना पाउन अन्तर्राष्ट्रिय मिडियाहरुलाई सकस परेको थियो ।

यो म्याचलाई दुवै देशले आफ्नो प्रतिष्ठाको विषय बनाएका थिए । त्यसैले मैदानको भिडन्त निकै तनावपूर्ण रह्यो । तर, दुवै टोलीले निर्धारित समयमा एक गोल पनि गर्न नसकेपछि खेल बराबरीमा टुंगियो ।

दुवै कोरियामा फुटबलको ठूलो क्रेज छ । दक्षिण कोरियाले विश्वकप फुटबलमा तेस्रो स्थानसम्म हासिल गरेको छ भने उत्तर कोरियासँग पनि विश्वकप फुटबलको अनुभव छ ।

‘उत्तर कोरियामा खेलकुदलाई विशेष महत्व दिइन्छ । त्यसमा पनि फुटबल यहाँको सबैभन्दा लोकप्रिय खेल हो । त्यसैले यो म्याचलाई लिएर देशभित्र ठूलो उत्साह थियो,’ एक स्थानीय पत्रकारले बिबिसीलाई भने । म्याचलाई सिधै राष्ट्रियतासँग जोडेर हेरिएकाले जनमानसमा निकै भावुकता रहेको उनी बताउँछन् ।

यति धेरै प्रतिक्षित म्याचको प्रत्यक्ष प्रशारण गर्ने अनुमति सरकारले दिएको थिएन । साथै दर्शकको प्रवेशमा रोक लगाइएको थियो । उत्तर कोरियाली मात्र होइन, त्यहाँ रहेका विदेशी नागरिकहरुले पनि म्याच हेर्न अनुमति पाएनन् । म्याच आयोजना भएको किम इल सुङ रंगशाला ५० हजार दर्शक क्षमताको हो ।

दुवै देश फिफा र एसियाली फुटबल महासंघका सदस्य छन् । यसको अर्थ उनीहरुलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा एक–अर्काविरुद्ध खेलाउन सकिन्छ ।

यसअघि सन् १९९० मा प्योङहाङमा दुई देशबीच मैत्रीपूर्ण म्याच भएको थियो । यसपाली उनीहरु २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नका लागि भिडेका हुन् ।

यस अगाडि दुई देशबीचका खेलहरु दक्षिण अफ्रिका वा तेस्रो देशमा हुने गरेको थियो । सन् २०१९ को विश्वकप क्वालिफायर अन्तर्गत उत्तर कोरियाको होम गेम उनीहरुले चीनको साङ्घाइमा खेलेका थिए ।

प्राविधिकरुपमा दुई देश अहिले पनि युद्धमा छन् । कोरियाली युद्ध सन् १८५३ मा टुंगेको भए पनि उनीहरुबीच शान्ति सन्धी हुन सकेन । र, उत्तर कोरियाले आफ्नो मैदानमा दक्षिण कोरियाको राष्ट्रिय गान बजाउन र झण्डा फहराउन दिँदैन । सोमबारको म्याचमा दर्शक र मिडियालाई अनुमति नदिनुको प्रमुख कारण यही हो ।

यसअघि दुई देशको महिला टिमले सन् २०१७ मा एसिया कपको क्वालिफायर उत्तरमा खेलेका थिए । त्यसबाहेक सबै महिला फुटबल दक्षिण कोरिया वा तेस्रो देशमा भएका छन् ।

कुन देश बलियो ?

पुरुष फुटबलको कुरा गर्दा उत्तरभन्दा दक्षिण बलियो मानिन्छ । सन् १९७८ को एसियन गेमदेखि यता सबैजसो म्याचहरु या त दक्षिण कोरियाले जितेको छ या बराबरी भएको छ । सन् १९९० मा प्योङहाङमा भएको मैत्रीपूर्ण म्याच मात्र उत्तरले २–१ ले जितेको थियो ।

फिफाको वरियतामा उत्तर र दक्षिण कोरियाका बीच ठूलो खाडल छ । दक्षिण कोरिया ३७ औं स्थानमा रहँदा उत्तर कोरिया एक सय १३ औं स्थानमा छ ।

सोमबारको म्याचमा पनि उत्तर कोरियालाई जितको प्रबल दावेदार मानिएको थियो । यसअघि दुवै टिमले आफ्नो समुहमा अघिल्ला दुई खेल जितेर बराबरी अंकमा छन् । गोल संख्यामा मात्रै दक्षिण कोरिया अगाडि छ ।

दुवै टिममा एक जना स्टार खेलाडी छन् । टोटनह्यामबाट खेल्ने सोन हेउङ–मिन दक्षिणका स्टार हुन् भने जुभेन्टसमा हालै अनुवन्ध भएका हान क्वाङ–सङ उत्तरका स्टार हुन् ।

उत्तर कोरियालाई घरेलु मैदानको लाभ थियो । तर, म्याच अगाडिसम्म रंगशालामा घरेलु दर्शक हुन्छन् कि हुँदैनन् भन्ने स्पष्ट थिएन । प्योङहाङमा पत्रकारहरुसँग कुरा गर्दै दक्षिण कोरियाली खेलाडीहरुले खाली रंगशालाको अपेक्षा गरेको बताएका थिए ।

‘खालीभन्दा भरिभराउ रंगशालामा खेल्न रमाइलो हुन्छ । तर, मलाई लाग्छ कि यसैलाई हामीले उत्प्रेरणाका रुपमा लियौं भने राम्रो खेल हुनेछ,’ डिफेन्डर किम मिन–जाइले एएफपीलाई भनेका थिए ।

(अँ, महिला फुटबलको कुरा गर्ने हो भने चाहिँ दक्षिणभन्दा उत्तर बलियो छ । दुई देशबीच भएका महिला फुटबलमध्ये एउटा मात्र नतिजा दक्षिणले आफ्नो पक्षमा पार्न सकेको छ ।)

फिफा अध्यक्ष निराश

सोमबारको म्याचमा फिफाका अध्यक्ष गियानी इन्फान्टिनो उपस्थित थिए । उनले रंगशालामा दर्शक नहुँदा आफू निराश बनेको बताएका छन् ।

उनी भन्छन्, ‘यस्तो ऐतिहासिक म्याचका लागि मैले खचाखच रंगशालाको कल्पना गरेको थिएँ । तर, स्ट्यान्डमा एक जना पनि दर्शक नदेख्दा खिन्न भएँ ।’

खेलको प्रत्यक्ष प्रशारण हुन नसक्नु र विदेशी पत्रकारहरुलाई लगाएको रोकलाई लिएर पनि उनले चिन्ता व्यक्त गरे ।

दक्षिण कोरियाको फुटबल संघ (केएफए) ले पनि रंगशालामा एक जना पनि घरेलु दर्शक नरहेकोप्रति आश्चर्य व्यक्त गरेको छ ।

केएफएका अधिकृत पार्क जाइ–सुङले भने, ‘हाम्रा स्टाफले पठाएको फोटो हेर्दा रंगशाला पुरै खाली देखिन्छ । उत्तर कोरियाले किन यसो गरेको हो बुभ्mन सकिएन ।’

केएफएले सो खेल हेर्न आफ्नो दुई जना स्टाफ पठाएको थियो । तर, इन्टरनेट कनेक्सनको सुनिश्चितता नभएकाले उनीहरुलाई आफ्नो वेवसाइटमा लाइभ टेक्स्ट अपडेट गर्न भनिएन । आफ्ना स्टाफले प्योङहाङबाट गरेको इमेलका आधारमा केएफएले आफ्नो सामाजिक सञ्जालको अकाउन्टमा सामान्य सूचनाहरु दिएको थियो ।

उत्तर कोरियाले दक्षिण कोरियाली अफिसियलहरुलाई फर्किनु अगाडि म्याचको भिडियो रेकर्ड उपलब्ध गराउने वचन दिएको छ ।

(बीबीसीको समाचारमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment