Comments Add Comment

इण्डोनेसियामा ३४ औं ट्रेड एक्स्पो २०१९ सुरु

काठमाडौं ।  इण्डोनेसियाको इण्डोनेसियन सम्मेलन केन्द्रमा ३४ औं ट्रेड एक्स्पो २०१९ बुधबारदेखि सुरु भएको छ ।

इण्डोनेसियन सम्मेलन केन्द्र बीएसडीमा बुधबारदेखि सुरु भएको ट्रेड एक्स्पो २०१९ को उद्घाटन उपराष्ट्रपति युसुफ कालाले गरेका हुन् । उद्घाटन समारोहलाई उपराष्ट्रपति काला र व्यापारमन्त्री इन्जरतिस्टो लुकिशले सम्बोधन गरेका थिए ।

व्यापार मेलामा इण्डोनेसियामा उत्पादन गरिएका हस्तकला, घरयासी प्रयोगका लागि आवश्यक सामाग्रीदेखि ठूला- ठूला गाडी र रेल निर्माता कम्पनीको पनि सहभागिता रहेको छ ।

मेलामा १० वटा विभिन्न युनिटका झण्डै १ हजार २ सय स्टलहरु रहेका छन् भने १ हजार २ सय १५ उद्योगी, व्यवसायीहरुले भाग लिएका छन् । मेलामा १ सय ३० देशका विदेशी वायरहरुको पनि सहभागिता रहेको छ ।

मेलामा सहभागी नेपालका लागि इण्डोनेसियाकी राजदूत रीना सोेरानोले नेपालले पनि आफ्नो मौलिक उत्पादनको बजारीकरण गर्न यस्ता मेलामा सहभागिता जनाउनुपर्ने बताइन् ।

इण्डोनेसियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र ढकालले मेलामा सहभागिता जनाएर नेपालले पनि पर्यटन प्रवर्द्धनको क्षेत्रमा ठूलो लाभ लिन सक्ने बताए । नेपाली व्यवसायीहरुले इण्डोनेसियाबाट कपर, सुन, रबर, कोकोनट ओइल, प्लाइउड, सवारी साधन लगायतको आयात गर्ने गरेको तर निर्यात अत्यन्तै न्यून रहेकाले पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकता दिनुपर्ने उनले बताए ।

सो अवसरमा निकासीमा उत्कृष्ट भूमिका निर्वाह गरेका व्यवसायीलाई उत्कृष्ट निर्यात अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो । मेला कात्तिक ३ गते सम्म चल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment