
३०, असोज, चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
नेकपाको चितवन जिल्ला समितिले दशैं, तिहारलगायतका चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशभरिका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको जिकिर गरे ।
प्रचण्डले त्यस्ता प्रतिगामीहरुलाई पार्टीभित्रकै केही तत्वहरुले जान-अञ्जानमा साथ दिएको पनि टिप्पणी गरे । ‘प्रतिगामीहरुले धेरै माथि उठेको जिल्ला, पार्टी, नेतृत्वलाई नै आक्रमण गर्छन् र आक्रमणको योजना बनाउँछन्,’ अध्यक्ष प्रचण्डले भने, ‘धेरै माथिबाट तल खसाल्न सकियो भने हड्डी पनि बाँकी रहँदैन भन्ने उनीहरुलाई लागेको हुनसक्छ, यस्ता प्रवृत्तिहरुलाई चिन्नुपर्दछ ।’
प्रचण्डले रवि लामिछाने समर्थकको आन्दोलन, ज्ञानेन्द्र शाहीको अभियान र कुटपिट तथा निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा नेकपा समर्थक उम्मेदवार पराजयतर्फ संकेत गर्दै यसो भनेका हुन् ।
उनले पछिल्लो समयमा कम्युनिष्ट आदर्श स्खलित बनेको पनि टिप्पणी गरे । रुसी कम्युनिष्ट पार्टीको पतनको सन्दर्भ निकाल्दै अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिष्ट पार्टीलाई प्रतिगामीबाट खतरा छैन, आफैंभित्र मौलाएको अराजकताबाट खतरा छ, यस्ता प्रवृत्तिहरु हावी हुन दिनु हुँदैन ।’ उनले नेकपा बिग्रिहाल्यो भनेर आत्तिहाल्नुपर्ने अवस्था भने नभएको बताए ।
प्रतिक्रिया 4