Comments Add Comment

वीरगञ्जबाट ४ श्रमिक बालककोे उद्धार

३० असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई बालमैत्री महानगरपालिका बनाउने अभियान अन्तर्गत नगर प्रमुख विजय कुमार सरावगीले सक्रियता बढाएका छन् । बालमैत्रीका ३९ सुचक मध्ये केहि मात्र पुरा हुन बाँकी रहेको बताउँदै आएका नगर प्रमुख सरावगीले आफ्नै उपस्थितिमा बिहीबार बाल श्रमिकको रुपमा कार्यरत ४ बालकको उद्धार गराएका छन् ।

वीरगन्जको माइस्थान मिना बजार स्थित विरेन्द्र साहको नास्ता पसलबाट १४ बर्षीय र १२ बर्षीय दुईजना र सञ्जय सर्राफको नास्ता पसलबाट १० र १४ बर्षको दुईजना गरी चार जना बालकको उद्धार गरिएको हो । स्थानीय सरकार आएपछि पहिलोपटक यसरी श्रमिक बालकको उद्धार गरिएको हो ।

‘बाल श्रम अपराध हो, कुनैपनि बालबालिकालाई श्रममा नलगाउनु भनी महानगरपालिकाले पटक–पटक सूचना जारी गरेको भएपनि अटेरी गरी बालबालिकालाई श्रममा लागाएको जानकारी पाएपछि नगर प्रमुख सरावगीसहितको टोलीले उनीहरुको उद्धार गरेको थियो ।

वीरगञ्जको माइस्थान मिना बजार क्षेत्रमा सञ्चालित दुई वटा नास्ता पसलबाट श्रम शोषणमा परेका ४ जना बालकको उद्धार गरिएको महानगरपालिकाको बालमैत्री कार्यक्रमको फोकल पर्सन मुकेश गुप्ताले जानकारी दिए । ‘अनुगमन गर्दा बालकहरुको श्रम शोषण भइरहेको पाइएपछि उनीहरुलाई उद्धार गरेका हौं । उनीहरुलाई तत्कालका लागि महानगरपालिकाले आवर संसारसँग मिलेर सञ्चालन गरेको बाल हेल्प लाइनमा लगेर राख्छौं ।’ उनले भने ‘ उनीहरुलाई अभिभावकको खोजी गरी अबदेखि काममा नपठाउने शर्तमा जिम्मा लगाउँछौं । ’

यो पनि पढ्नुहोस वीरगञ्जमा बाल हेल्पलाइन सञ्चालनमा

उनीहरुलाई नास्ता पसलमा एकदमै थोरै तलबमा विहानदेखि अबेर रातिसम्म भाँडा माझ्न लगाउने, होटल सफा गर्न लगाउने, ग्राहकलाई खाजा नास्ता दिन लगाईंदै आएको थियो ।
होटल व्यवसायीहरुलाई एकपटकलाई चेतावनी दिएर छोडिएको र पूनः बालबालिकालाई श्रममा लगाए कानुनी कारबाही गर्ने चेतावनी नगर प्रमुख सरावगीले दिएका छन् ।

अझैपनि वीरगञ्जका होटल, रेष्टुरेन्ट तथा नास्ता पसल, मिठाई पसल, ग्यारेज, ग्रिल उद्योगहरुमा बाल श्रमिक प्रशस्तै भेटिन्छन् । नगर प्रमुख सरावगीले कष्टकर श्रममा रहेका बालबालिकाको उद्धार गर्ने कार्य निरन्तर सञ्चालन हुने बताए । ‘पहिले हामीसँग उद्धार गरेर राख्ने ठाउँ थिएन, बाल हेल्पलाईन सुरु गरेपछि हामीसँग ठाउँ भएको छ ।’ उनले भने, ‘उद्धार गर्न शुरु गरियो, जस जसले बाल श्रमिक राखेको छ उनीहरुले पनि हटाउँछन भन्ने विश्वास छ । अटेरी गर्छन भने उनीहरुलाई पनि कारबाही गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment