Comments Add Comment

फल्चा : बुढ्यौलीमा बसिबियाँलो

हराउँदै इतिहास बोकेका पाटी र सत्तलहरु

भक्तपुरकी हर्कमाया प्रजापति उमेरले ८५ वर्षकी भईन् । उनको हिजो आजको दैनिकी घरमा भन्दा धेरै समय दत्तात्रय मन्दिर छेउमा रहेको वाकुपाटीमा बित्ने गरेको छ । बिहानै घरमा चिया पिएर पाटीमा आएर बस्यो, बिहान १० बजेतिर भोक लाग्यो भने फेरि घरमा गएर खाना बनायो । कहिले पाटीमा नै साथीहरुले वा आफैंले पनि ल्याएको खाजा खाएर नै दिन कटायो । यसरी नै बित्छ उनको दैनिकी ।

उनको मात्रै होईन । पार्टीमा दिन बिताउने भक्तपुरे आमाहरु प्रजापति जस्तै दर्जनौ भेटिन्छ भक्तपुरका पाटीहरुमा । ‘मलाई त घरभन्दा पनि यही पाटी प्यारो लाग्न थालिसक्यो’ अनलाईनखबरसँगको कुराकानीमा प्रजापतिले भनिन् ‘बिहानदेखि रातिसम्म हामीहरुको दैनिकी यही पाटीमा बित्ने गरेको छ ।’ प्रजापतिका ४ छोरा र दुई छोरीहरु छन् । उनी भन्छिन् ‘४ छोराहरु चारतिर लागिहाले, छोरीहरु बिहे गरेर पठाईहालें । अबको साहारा यही पाटीमात्रै हो ।’ आफूहरुको उमेर पुगिसकेको भन्दै उनले जति बाँचिन्छ यही पाटीको साहारामा बाँच्ने धोको सुनाईन् ।

उनको दिनभरीको दैनिकी कहिले धागो बुन्ने, निद्रा लाग्यो भने त्यही पाटीमा पल्टिने र आफ्ना साथीसँगीसँग हित्तचित्तको कुराकानी गर्दैमा बित्ने गरेको छ । बरु उनलाई घरमा बिताउनु पर्ने रात आलस्यपूर्ण लाग्ने गर्छ ।

प्रजापतिकै सँगी हुन् नानीमैया ख्याबोले । उनी उमेरले ८१ वर्षकी भईन् । उनको पनि बुढेशकालको साहारा भनेको यही पाटी हो । उनले अहिलेसम्म पनि विवाह गरेकी छैनन् । विवाह नै नगरेपनि उनलाई बुढेशकाल बोझिलो र दुखद् लाग्ने गरेको छैन । किनकी उनीसँग पाटीमा कुरागर्ने साथीहरुको खाँचो छैन । बेला बेलामा पर्यटकहरुले आएर फोटो खिच्ने गर्छन् । फोटो किन खिच्छन् भन्ने पनि उनलाई थाहा छैन । उनी त आफ्नै संसारमा खुशी र सुखी छिन् ।

उनी १२ वर्षको उमेरमा एक पटक काठमाडौं पुगेकी थिईन् । त्यसपछि अहिलेसम्म काठमाडौं पनि पुगेकी छैनन् । यही भक्तपुरको खेतमा मेलापात गर्दै उनको बैंश बित्यो । अहिले बुढेशकालमा पाटीमा सहपाठीहरुसँग कुराकानी गरेर दिन बित्ने गरेको छ । घर पनि उनको घर भन्न लायकको छैन । भएको एउटा सानो टहरो पनि भूकम्पले भत्काईदिएको छ । त्यसैले उनी घरमाभन्दा पनि पाटीमा नै दिन बिताउने गरेकी छिन् ।

भक्तपुर नगरपालिकाको भक्तपुर दरबार क्षेत्र आसपासका फल्चा (पाटी)हरु केवल आगन्तुकहरुको थकाई मार्ने विश्राम स्थलमा सीमित छैनन् । भक्तपुर पर्यटन विकास समितिका महासचिव दिपेशराज शर्माका अनुसार दत्तात्रेय मन्दिर वरिपरी मात्रै झण्डै १५ वटा यस्ता पाटीहरु छन् । ती मध्ये अधिकांश बृद्ध आमाबुबाहरुको लागि साहाराको रुपमा रहेका छन् । त्यसैले पनि नगरपालिकालाई यस्ता पाटीहरुको प्राथमिकताका साथ पुनर्निमाण गराउनको लागि दबाब दिने गरेको उनले बताए ।

यस्ता फल्चाहरु पनि २०७२ सालको भूकम्पमा धेरै क्षतिग्रस्त भए । क्षतिग्रस्त फल्चाहरु केही पुनर्निर्माण भईसकेका छन् । केही बन्दैछन् । नभत्किएका र बनिसकेका फल्चाहरु अहिले बुढेशकाल लागेका आमाबुबाहरुले भरिभराऊ छ । बन्दै गरेका फल्चाहरु सुनसान देखिन्छन् ।

पहिले यस्ता पाटी एवं सत्तलहरु पाटी भोज गर्ने एवं दिनभरीको कामबाट फर्किएपछि छिमेकीसँग सुखदुःखको कुराकानी गर्ने विश्रामस्थलको रुपमा प्रयोग हुन्थे । अहिले यो बुढेशकाल लागेका बाआमाहरुको दिन बिताउने साहारा बनेको छ । पाटीमा भेटिएका आमाबाहरु आफूहरुलाई घरभन्दा पनि यही पाटी प्यारो हुने गरेको सुनाउँछन् । घर बरु सुनसान लाग्छ उनीहरुलाई ।

केही समयको विश्रामको लागि बनाईएको विश्रामस्थललाई फल्चा (पाटी) र खाना समेत पकाउन मिल्ने वा रातमा नै बस्न मिल्ने विश्राम स्थललाई सत्तल भन्ने गरिन्छ । सत्तलहरु प्रायः दुई वा दुईभन्दा बढी तलाका हुन्छन् । अहिले यही पार्टी र सत्तलको प्रयोजन बदलिएको छ ।

भक्तपुर दरबार क्षेत्रकै एक पार्टीमा भेटिएकी पाटीमै भेटिएकी ८५ बर्षिय असलमाया प्रजापतिको पनि पीडा उस्तै छ । उनको दुई छोरा र चार छोरीहरु थिए । सबै जनाको बिहे भयो । छोराहरु आफ्नो बाटो लागे । छोरीहरु आफ्नो घरतिर बिहे गरेर हिँडे । बाँकी रहेकी एक्ली प्रजापतिको बुढेशकालको साहारा भनेको त्यही पाटी मात्रै बाँकी रहृयो । ‘छोराहरु आ-आफ्नो काममा छन् । हामीलाई त यही पार्टी नै प्यारो छ ।’ उनी भन्छिन् ‘घरमा बसेर के गर्नु यहाँ भए दिन बितेको पत्तो नै हुँदैन ।’ बुढेशकाल लागिसकेपछि कतै घुम्न जाने रहर पनि लाग्न छाडेको उनी बताउँछिन् ।

हराउँदै इतिहास बोकेका पाटी र सत्तलहरु

प्राचीन समयदेखि नै पाटी र सत्तलहरु नेपाली जनजीवनको एक अभिन्न अंग भईसकेका थिए । दिनभरी काम गरेर बेलुकीपख पाटी वा फल्चामा वरिपरीका सबै भेलाभई दुःखसुखका कुरा गर्ने, दिउँसो बुढाबुढीहरु नाती नातीनासँग घाम तापेर कुराकानी गर्ने, बिहान बेलुका भजनकीर्तन गरेर आध्यात्मिक ध्यान गर्ने, समय समयमा भोज भतेर खाने कामको लागि पहिलेदेखि नै यसको महत्व थियो । नेवारी भाषामा यस्ता पाटी पौवा र सत्तलहरुलाई चपा, चपाल, क्वांछे, फले, फल्चा, सतः धर्मशाला आदि नामले चिनिन्छ ।

यी पाटी एवं सत्तलहरुले धेरै बुबाआमाहरुलाई जीवन जिउनुको आनन्द मात्रै दिएको छैन । यसले धेरैको मृत्यु पनि सहेको छ । परम्परागत वास्तु शिल्पहरुमा बन्ने यो पाटी पौवा एउटा जीवित धरोहर पनि हो । तर, यसको महत्व नबुझ्दा धेरै सत्तल एवं पाटीहरु नाश हुने क्रममा छन् । भक्तपुर नगरपालिकाले यस्ता ऐतिहासिक धरोहरहरुको संरक्षण गर्न अन्य नगरपालिकाहरुले भन्दा धेरै सक्रियता देखाएको भएपनि यहाँका पनि कैयौं सत्तलहरुको अस्तित्व नामेट भईसकेका छन् । झनै पाटन र काठमाडौंका त धेरै सत्तलहरु संरक्षणको अभावमा लोपोन्मुख अवस्थामा छन् ।

विशेषगरी मल्लकालमा निकै चर्चित भएका यस्ता ऐतिहासिक पाटी एवं सत्तलहरु संरक्षणको अभावमा नष्ट हुँदैछन् । नेसं ७९५ मा भागिरथ भैयाले बनाएको पाटन दरबारको लामपाटी, पनौती स्थित नेसं ५४८ को लामपाटी, पचली स्थित बम्बीर विकटेश्वर महादेव मन्दिरको चौघेरा सत्तल, रानीपोखरीको दक्षिण तर्फको हात्ती पाटी आदि उपत्यकाका ऐतिहासिक पाटी एवं सत्तलहरु हुन् । यसमध्ये पनि धेरै सत्तलहरु अहिले पाउन सकिँदैन ।

पुरातत्व विभागद्वारा प्रकाशित हुने प्राचीन नेपाल नामक एक जर्नलमा प्रकाशित भएको एक लेख अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका कैयौं ऐतिहासिक पाटीहरु लोप भईसकेका छन् । काठमाडौंको खुसिबुँ विष्णुमती पाटी अहिले कहाँ थियो भन्ने कुरा केवल किताबमा मात्रै पढ्न पाईन्छ । पाटीको अस्तित्व नामेट भईसकेको छ ।

नेसं १०८० मा मैजुलक्ष्मी तुलाधरले बनाएको सो पाटीको अहिले नामनिशाना भेट्न सकिँदैन । क्षेत्रपाटीस्थित भैरवनाथ मन्दिर अगाडिको भैरवनाथ पाटी ऐतिहासिकता मेटिनेगरी सिमेन्ट र छड प्रयोग गरी नवीन शैलीमा बनाइयो । यो पाटी नेसं १०२१ मा बनेको प्रमाण भेटिएको छ । यस बाहेक ठँहिटीको नृत्यनाथ मन्दिरको पश्चिमतर्फ रहेको पाटी लगायतका दर्जनौं पाटी एवं सत्तलहरु लोपोन्मुख अवस्थामा रहेका छन् । यी पाटीहरु बुढेशकालमा बृद्धबृद्धाहरुको आश्रयस्थल वा दिन गुजार्ने उपयुक्त स्रोतहरु हुन् । यी स्रोतहरुलाई नाश गर्नेभन्दा पनि यिनीहरुको संरक्षण जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment