Comments Add Comment

‘कांग्रेसले राष्ट्रपतिको मन्तव्य र सम्झौता अध्ययन गरिरहेको छ’

सीको भ्रमणलाई स्वागत गरेका छौं तर, अर्को पाटो पनि छ : निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चीन र नेपाल सरकारबीच यसै साता सम्पन्न सम्झौताका कतिपय बुँदामाथि प्रश्न उठाएका छन् । साथै उनले सी चिनफिङको भ्रमणका बेला राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा व्यक्त मन्तव्यको समेत अध्ययन गरिरहेको बताएका छन् ।

नेपाली कांग्रेस र चीनबीच इतिहासदेखि नै सुमधुर सम्बन्ध रहेको र राष्ट्रपति सीको भ्रमणलाई कांग्रेसले स्वागत गरेको निधिले अनलाइनखनबरलाई बताए । तर, चिनियाँ राष्ट्रपतिको भ्रमणका बेलामा भएका सम्झौताका केही बुँदाहरु र राष्ट्रपतिको वक्तव्यमाथि प्रश्नहरु उठेकाले यसबारे कांग्रेसले अध्ययन गरेर धारणा बनाउने उनले स्पष्ट पारे ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमणलाई हामीले स्वागत गरेका छौं, स्वागत गर्नु पनि पर्छ,’ कांग्रेस उपसभापति निधिले शुक्रबार अनलाइनखबरसँग कुरा गर्दै भने, ‘तर, यसको अर्को पाटो पनि छ । भ्रमणका बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक वक्तव्य दिनुभएको छ । ती वक्तव्यहरु र सम्झौतामा प्रयोग भएका विषय र बुँदाहरुमा अझै हामीले प्रष्ट हुन बाँकी छ । हामीले अहिले अध्ययन गरिराखेका छौं ।’

चिनियाँ राष्ट्रपतिको भ्रमणमाथि केन्द्रित रहेर निधिसँग अनलाइनखबरले  गरेको कुराकानी-

चिनियाँ राष्ट्रपतिको भ्रमणलाई नेपाली कांग्रेसले पनि स्वागत गरेको छ । यस क्रममा सरकारले चीनसँग गरेका सहमति र सम्झौताहरु सही दिशामै छन् भन्ने नेपाली कांग्रेसको निश्कर्ष हो ?

यसमा दुईवटा कुरा छन् ।

प्रथमतः चिनियाँ राष्ट्रपतिको भ्रमणलाई हामीले स्वागत गरेका छौं । स्वागत गर्नु पनि पर्छ । यो भ्रमणले दुई देशको सम्बन्धलाई संस्थागत गरेको छ ।

नेपाली कांग्रेसले दुबै छिमेकीसँग राम्रो सम्बन्ध राख्दै आएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउनुभएको थियो । वीपी कोइराला प्रधानमन्त्री भएका बेलामा चाउएन नेपाल आउनुभएको थियो । त्यसैले इतिहासदेखि नै नेपाली कांग्रेस र चीनसँगको सम्बन्ध राम्रो छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि हामीले पनि सुरुदेखि चीन सरकारसँग आग्रह गरेका छौं । चिनियाँ राष्ट्रपति सी नेपाल आउनुभन्दा अगाडि विदेश मन्त्री आउनुभएको थियो । उहाँले हाम्रो पार्टीका नेताहरुसँग पनि राष्ट्रपतिको भ्रमणबारे सरसल्लाह गर्नुभयो ।

तर, यसको अर्को पाटो पनि छ ।

जस्तो– राष्ट्रपति सीको भ्रमणका बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक वक्तव्य दिनुभयो । होटलमा र निवासमा पनि वक्तव्य दिनुभएको छ । त्यसको प्रत्युत्तरमा चिनियाँ राष्ट्रपतिले पनि वक्तव्य दिनुभएको छ । ती वक्तव्यहरु र सम्झौतामा प्रयोग भएका विषय र बुँदाहरुमा अझै हामीले प्रष्ट हुन बाँकी छ । हामीले त्यसको अहिले अध्ययन गरिराखेका छौं ।

किन ? सरकारले चीनसँग गरेका सम्झौताहरुबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई भ्रमण अगाडि अवगत गराइएको थिएन ?

उदाहरणका लागि, राष्ट्रपतिजस्तो व्यक्तिले पाहुनाको स्वागत गर्नु एउटा कुरा हो, हामी पनि स्वागतै गर्छौं । तर, नेपालको राष्ट्रपतिले आफ्नो वक्तव्यमा चीनको राष्ट्रपतिको विचारधारा ठीक छ भनेर राष्ट्र प्रमुखका तर्फबाट भनाइ आउनुहुन्थ्यो कि हुँदैनथ्यो ? त्यो आएको हामीले देखेका छौं । अहिले हामीले यसको आधिकारिक दस्तावेज खोजिरहेका छौं ।

त्यस्तै, अर्को, चीनसँग रणनीतिक साझेदारीको कुरा आइराखेको छ । यसमा छलफल भइराखेको छ । के हो त्यो रणनीतिक साझेदारी ? रणनीतिक शब्द सामान्य अर्थमा सर्वस्वीकार्य पदावली हो कि अथवा यसमा हामीले थप प्रष्ट हुन बाँकी छ । यी सबै कुराहरुको हामी अध्ययन गर्दैछौं ।

त्यसैगरी सम्झौताको एउटा बुँदामा लिगल असिस्टेन्स (कानूनी सहयोग) भन्ने पदावली आएको छ । के हो यो लिगल असिस्टेन्स भनेको ? यस विषयमा हामीले अझ प्रष्ट हुनुपर्छ जस्तो लाग्छ ।

नेपालका महान्यायधिवक्ता र चीनका महान्यायधिवक्तासँग दुई पक्षीय सम्झौता भएको छ । यसको उद्देश्य के हो ? यसको विस्तृत के हो ? यस्ता विषयहरु छन् ।

राष्ट्रपति सी चिनफिङको टिप्पणीका बारेमा नेकपाका नेताहरुले पनि भनिरहनुभएको छ कि जुन आयोजनामा सम्झौता भएको छ, ती समयमा कार्यान्वयन भएनन् । चीन सरकारसँग भएका सम्झौताहरुको कार्यान्वयनमा कमी छ । तर, नयाँ–नयाँ कुराहरु ल्याइरहनुभएको छ । अब यस विषयमा के हुन्छ ?

जस्तो– रेलका बारेमा त्यत्रो कुरा आएको थियो, तर रेललाई उहाँहरुले महत्व दिनुभएन । कतिपय राम्रा कुराहरु पनि भएका छन् । तर, यी सबै कुरामा अध्ययन गर्न बाँकी छ । अध्ययन गर्नुपर्छ । गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ जस्तो हामीलाई लागेको छ ।

भनेपछि, चीनसँग भएका सहमतिका कतिपय बुँदामा नेपाली कांग्रेसको असहमति हो ?

हामी निश्कर्षमा पुगिसकेका छैनौं । तर, यो त हेर्नुपर्ने र निश्कर्षमा पुग्नुपर्ने विषय पो रहेछ भन्ने विशेषज्ञहरुबाट टिप्पणीहरु आइराखेका छन् । पूर्वराजदूतहरु, विदेश मन्त्रालयमा काम गरेका कूटनीतिज्ञहरु, र विज्ञहरुले हामीलाई फोन गरेर, भेटेर अथवा सञ्चार माध्यममा टिप्पणीमार्फत प्रश्न उठाइरहेका छन् । यसले हाम्रो ध्यान आकृष्ट गरेको छ ।

चिनियाँ राष्ट्रपति आउनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पूर्वप्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि उपस्थिति थियो । तपाईले भ्रमणका एजेण्डाबारे छलफल भएन भन्न खोज्नुभएको हो ?

केही कुरा त प्रधानमन्त्रीले गर्नुभएको थियो । तर, समग्रतामा राख्नुभएको थिएन । राख्दै नराखेको पनि होइन । हामीले पनि सरकारले राम्रै गर्ला भनेर सोच्यौं । तर, प्रमुख रुपमा हामीलाई भन्दै भनिएको थिएन भन्दा हुन्छ । हामीले सरकारलाई सुपुर्दर्गी सन्धी अहिले नगर्नोस् है भनेका थियौं । तर, अरु डिटेलमा गइसकेका छैनौं ।

राष्ट्रपतिले शीतलनिवासमा दुईपक्षीय बैठक गर्नु संविधानको मर्म विपरीत भएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिप्पणी गरेको सुनियो । सीको भ्रमणका बेला राष्ट्रपति भण्डारीले खेलेको भूमिकाबारे संसदवादी पार्टी नेपाली कांग्रेसको चाहिँ विश्लेषण के छ ?

उहाँले (बाबुरामले) ठीक भन्नुभयो । हाम्रो ध्यान यसमा आकर्षित भएको छ । हाम्रो नीति प्रतिष्ठानका सदस्यहरु यसलाई गम्भीरतापूर्वक अध्ययन गर्दै हुनुहुन्छ ।

साथीहरुले मलाई पनि भन्नुभएको छ, राष्ट्रपति कार्यालयमा, राष्ट्रपति हलमा जुन औपचारिक मिटिङ राखियो र त्यो मिटिङमा जुन सहभागिता भयो, त्यो उचित हो त ?

चीनका राष्ट्रपतिलाई नेपालका राष्ट्रपतिले आफ्नो कार्यकक्षमा अथवा निवासमा सम्मान दिनु त्यो ठीक छ । यसमा हाम्रो आपत्ति छैन । तर, जसरी त्यहाँ राज्य र सरकारका विभिन्न प्रतिनिधिहरुलाई राखेर प्रस्तुत हुने काम भएको छ, त्यो तस्वीर हेर्दाखेरि मानौं त्यो कार्यकारी राष्ट्रपतिबाट आयोजना गरिएको हो कि भन्ने सन्देश दिन्छ । त्यसकारणले यो कुरा अध्ययनको विषय हो । यसमा हाम्रो ध्यानाकर्षण भएको छ ।

चीन ठूलो छिमेकी र धनी देश हो । त्यहाँ पनि कम्युनिस्ट पार्टीकै सरकार छ र यहाँ पनि कम्युनिस्टकै सरकार भएको हुनाले अति उत्साहित भएर नेपालका राष्ट्रपतिबाट यस्तो भएको हुन सक्छ । अति उत्साहित भएर यस्तो गरेको हो भने पनि हाम्रो देशको राष्ट्रपति कार्यकारी होइन भन्ने कुरा हामीले गर्ने बैठक र स्वागतबाट झल्किुनपर्छ र सीमाहरु उल्लंघन गरिनुहुँदैन भन्ने कुरा आएको छ, हामी यसमा अध्ययन गर्छौं । हामीले पहिले अध्ययन गर्दैछौं । यस विषयमा कस्तो दृष्टिकोण बनाउने भन्नेबारे अन्तिम निश्कर्षमा पुगिसकेका छैनौं । हामी अध्ययनकै क्रममा छौं ।

चीनका राष्ट्रपति र नेपालका राष्ट्रपतिले दिएका वक्तव्यहरु र तिनमा परेका शब्दावलीहरुका साथै जुन–जुन ठाउँमा जसरी उहाँहरुले भेन्युहरु आयोजना गर्नुभयो, यसबारे हामीकहाँ मिश्रित टिप्पणीहरु आइराखेका छन् । नेपाली कांग्रेसले यी कुराहरुलाई अध्ययन गरेर आफ्नो धारणा बनाउनेछ ।

समग्रमा जहाँसम्म चीनका राष्ट्रपतिको नेपाल भ्रमणको विषय छ, दुई देशको राजनीतिक प्रणाली, शासन प्रणाली विल्कुलै भिन्नाभिन्नै विषय हो । त्यो मिल्दै मिल्दैन ।

तर, शासन प्रणाली भिन्नाभिन्नै भएर पनि, शासन प्रणालीको वैचारिक आधार भिन्नाभिन्नै भएर पनि दुई देशवीचको व्यवहार र सम्बन्ध सुमधुर हुनुपर्छ । यही दृष्टिकोणले हामीले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई सम्मान गरेका छौं, स्वागत गरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment