Comments Add Comment

निश्चलको गुनासो–‘पैसा कमाउने फिल्म मात्र बनायौं, आफ्नो शैली विर्सियौं’

चलचित्र ‘लुट २’ निर्देशन गरिसकेपछि निर्देशक निश्चल बस्नेतले चलचित्र निर्देशन गरेका छैनन् । बरु, उनी चलचित्रमा आइटम नृत्य गर्नमा बढी व्यस्त भए । अहिले त उनले चलचित्रमा मुख्य कलाकारको रुपमा अभिनय पनि गरिरहेका छन् ।

उनै, निश्चल अभिनिति चलचित्र ‘घामड शेरे’ कात्तिक ८ गतेबाट रिलिज हुँदैछ । चलचित्र निर्देशन नगरेपनि निश्चल चलचित्र क्षेत्रको हरेक पाटोको बारेमा जानकार छन् । अहिलेको चलचित्र निर्माणमा उनी सन्तुष्ट देखिएनन् । अनलाइनखबरसँग उनले भने–‘हामीले व्यापारिक रुपमा मात्र चलचित्र बनाएका छौं । हरेक निर्देशकको चलचित्र बनाउने आफ्नै शैली त हुन्छ । तर, हाम्रो चलचित्रको शैली के हो भन्ने हामी कसैलाई पनि थाहा छैन । हामीले आफ्नो मौलिकता पाउन अझै पनि धेरै समय लाग्ने हो कि भन्ने मलाई लागिरहेको छ । हरेक व्यक्तिले सोच मात्र राख्दा पनि फरक पर्छ । अब, हामीले बलियो बिषयमा ठूलो व्यापार खोज्न आवश्यक छ ।’

निश्चलले निर्देशन गरेको चलचित्र ‘लुट’ नेपाली चलचित्रका लागि ‘ब्रेक थु्र’ बनेको थियो । चलचित्र विकास बोर्डले संकटकाल लगाउने तयारीमा लाग्दै गर्दा निश्चलले ‘लुट’ निर्देशन गरेका थिए । यसपछि, चलचित्र क्षेत्रको गती नयाँ बाटोमा लागेको थियो । के अब फेरि, चलचित्र क्षेत्रमा अर्को एउटा ‘ब्रेक थु्र’ गर्न सक्ने चलचित्र आवश्यक छ । निश्चल भन्छन्–‘पक्कै पनि मैले यो कुरा महशुश गरेको छु । भिन्न सोच राखेर व्यापारिक र समिक्षागत रुपमा नै हिट चलचित्र आवश्यक छ । हामी अहिले टाढाको बजारमा जान आवश्यक छैन । बलिउडले अहिले राम्रो कथामा हिट चलचित्र बनाइरहेको छ । यस्ता खालका चलचित्र हाम्रोमा पनि आउन आवश्यक छ ।’

निश्चलले चलचित्र क्षेत्रमा भित्रिएका नयाँ अनुहारलाई यसतर्फ सोच्न आग्रह समेत गरेका छन् । उनले, यस्ता राम्रो कुरालाई सबै मिलेर प्रमोशन गर्न आवश्यक रहेको समेत सुनाए । निश्चलले आफू चलचित्र निर्देशनबाट टाढा नभएको समेत बताए । अहिले नयाँ चलचित्रको कथामा काम भैरहेको समेत उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment