Comments Add Comment

सिजनमै खस्कियो होटेलको विजनेश, होमस्टेले तान्दैछन् पर्यटक

३ कात्तिक, काठमाडौं । सेप्टेम्बरदेखि डिसेम्बरसम्मलाई नेपालको मुख्य पर्यटकीय सिजन मानिन्छ । पदयात्रा, पर्वतारोहणका लागि तथा छुट्टी मनाउन धेरै पर्यटक यतिबेला नेपाल आउँछन् । तर, यसपाली मुख्य सिजनमा नै विदेशी पर्यटक लक्षित तारे होटेलको व्यापार त्यति उत्साहजनक छैन ।

‘अहिले औसत ६० प्रतिशत हाराहारी कोठा भरिएका होलान्,’ होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन्, ‘एक त कोठा र बेड संख्यामा भएको वृद्धिको तुलनामा पर्यटक बढेका छैनन्, अर्कोतर्फ पर्यटक आगमन पनि उत्साहजनक छैन ।’

सन् २०१८ मा पर्यटक आगमन २५ प्रतिशतले बढेको थियो । तर, सन् २०१९ मा भने यो दर दर थामिएको छ । सन् २०१९ को ८ महिनामा ७ लाख ४२ हजार ६ सय पर्यटक नेपाल आएका छन् । यो दरले वार्षिक १२ लाख पर्यटक आगमन पनि पुग्दैनन् । सरकारले अर्को वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

तर, अहिले होटेल र होमस्टेमा भएको कोठा तथा बेड संख्याले वार्षिक २२–२५ लाख पर्यटक सजिलै धान्न सक्ने व्यवसायीहरु बताउँछन् ।

‘मुख्य सिजनमै अक्कुपेन्सीले उत्साहित बनाएन,’ होटेल क्राउन प्लाजाका प्रवन्ध निर्देशक युवराज श्रेष्ठले भने, ‘अग्रिम बुकिङ अनुसार पर्यटक त आएका छन्, तर, होटेल भरिन सकेनन् ।’

नेपालमा ठूला होटेलको अकुपेन्सी वार्षिक औसत ६५ प्रतिशत मात्र छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार सन् २०१८ मा होटेल अक्कुपेन्सी ६५ प्रतिशत हाराहारी छ । सन् २०१९ मा समेत यही ट्रेण्ड रहने अनुमान छ ।

‘होटेलमा पर्याप्त कोठा छन्, तर त्यसअनुसार पर्यटकको वृद्धिदर छैन, जसले गर्दा सोचेजति कोठा भरिन सकेको छैन,’ हानका प्रथम उपाध्यक्ष शाहले भने ।

आतिथ्य सेवामा ६० प्रतिशत भन्दा माथिको अकुपेन्सी सन्तोषजनक मानिन्छ । अकुपेन्सी ७० प्रतिशत कट्दा उत्कृष्ट मान्ने गरिन्छ । अकुपेन्सी ५० प्रतिशत हाराहारी मात्र रह्यो भने सर्भाइभ (संचालनमा मात्र सीमित) रहेको अवस्थामा मान्ने व्यवसायीहरु बताउँछन् ।

सन् २०१९ भित्रै ५ वटा पाँचतारे

सन् २०१९ भित्रै ४ वटा नयाँ पाँचतारे होटेल संचालनमा आए । बन्द अवस्थामा रहेको एभरेष्ट होटेल पनि आंशिक रुपमा संचालन आइसकेको छ । एक वर्षकै अवधिमा १ हजारभन्दा बढी पाँचतारे रुम र बेड बढेको छ । सोही अनुसार एकतारेदेखि चारतारे होटेल आउने क्रम पनि जारी छ । तर, त्यसको तुलनामा पर्यटक आगमनको वृद्धिदर न्यून छ ।

पर्यटन विभागका अनुसार फागुन २०७५ मा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा पाँचतारे वर्गीकरणमा परेको थियो । सोही महिना नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियरले समेत पाँचतारे होटेलको मान्यता पायो । काठमाडौंको नक्सालमा काठमाडौं मेरियट होटेलले २ असारमा पाँचतारे प्रमाणपत्र प्राप्त गर्‍यो । १६ असारमा होटेल अलफ्ट काठमाडौंले पाँचतारे मान्यता पायो । असोजमा बानेश्वरस्थित एभरेष्ट होटेलले पनि सेवा प्रारम्भ गर्‍यो । यो होटेल भूकम्पपछि बन्द थियो ।

पर्यटन मन्त्रालयको तथ्यांक अनुसार २०७५ को एक वर्षको अवधिमा पर्यटक स्तरीयभन्दा माथि दुई दर्जन नयाँ होटेल निर्माण भई संचालनमा आएका थिए । ती होटेलका कारण १ हजार २३ बेड संख्या वृद्धि भएको थियो । सरकारको पछिल्लो तथ्यांक अनुसार अहिले देशभर १ सय ३६ तारे होटेल छन् । १ हजार १ सय २५ वटा पर्यटकीय स्तरका होटेल छन् । तारे र पर्यटकीय होटेलमा गरी ४१ हजार बेड पर्यटकको सेवाका लागि तयारी अवस्थामा रहेका छन् ।

साना होटेल र होमस्टेले तान्दैछन् पाहुना

पर्यटकीय सिजन र आन्तरिक पर्यटकको संख्या पनि बढ्दा साना होटेल र होमस्टेमा भने पाहुनाको कमी छैन । देशभर ६ सय होस्मटे संचालनमा छन् ।

‘सबैको उस्तै विजनेश होला भन्न त सकिदैन, तर प्रवद्र्धन पुगेका सबै होमस्टेमा पर्याप्त पाहुना छन्,’ होमस्टे एशोसिएशनका अध्यक्ष केशव बडालले भने । तारे होटेलको विजनेशसाना होटेल र होमस्टेले खोसेको प्रति ठूला व्यवसायीसमेत सहमत छन् ।

‘छोटो अवधिमा आउने पर्यटक त तारे होटेलमै बस्छन्,’ हानका प्रथम उपाध्यक्ष शाह भन्छन्, ‘तर लामो समय बस्नु पर्‍यो भने स्वाभाविक रुपमा सस्तो खोज्न थाल्छन् ।’ विश्वव्यापी ट्रेण्ड र खुला बजार नीति भएको मुलुकमा व्यक्तिको चाहना अनुसार चल्नुपर्ने उनी बताउँछन् । त्यसमाथि नेपाल कम खर्च गर्ने पर्यटक बढी आउने मुलुकभित्र पर्छ ।

कति छन् देशभर होटेल ?

पाँचतारे ( १५)

चारतारे ( ८)

तीनतारे (३७)

दुईतारे (४३)

एकतारे (३३)

पर्यटकस्तर (११२५)

होमस्टे (२५२)

कुन वर्ष कति प्रतिशत अकुपेन्सी ?

सन् २०१४ : ६१

२०१५ : ३०/३५

सन् २०१६ : ६०/६५

सन् २०१७ : ६०÷६५

सन् २०१८ : ६५

सन् २०१९ (६ महिना) : ६० प्रतिशत (अनुमानित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment